September 8, 2026, Tuesday
२०८३ भाद्र २३ मंगलवार

पहिरोले पहाडी जिल्लामा सधैं सास्ती

भैरहवा– लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरुमा वर्षात् सुुरु भएपछि कच्ची सडकहरुमा पहिरो जाने, हिलो जम्ने जस्ता समस्याले यातायात सेवा अबरुद्ध हुन थालेका छन् । यसले गाउँ र सदरमुकामको सम्बन्ध विच्छेद नै हुने गरेको छ । यस्तो समस्या वर्षा सुरु भएपछि असार, साउन, भदौ र मध्य असोजसम्म रहीरहन्छ ।

Advertisement

केही दिन परेको वर्षा पहाडी जिल्लाहरुमा यस्तो समस्या दोहोरिन सुरु भइसकेको छ । सदरमुकाम जान, औषधिउपचार गर्न र खाद्यान्न ढुवानीमा स्थानीयले सास्ती पाउन थालेका छन् । पाल्पामा सदरमुकाम तानसेनदेखि स्थानीय तहको केन्द्रसम्म जोड्ने सडक गुणस्तरीय नहुँदा वर्षातको समयमा सडक बन्द हुने गरेका छन् ।

Advertisement

संघीय र प्रदेश सरकार सरकारले सडक स्तरउन्नति गर्न प्राथमिकताका साथ बजेट विनियोजन गरे पनि पाल्पाका सबै स्थानीय तहसम्म पुग्ने सडक गतिलो बन्न सकेको छैन । जिल्लाको रैनादेवी छहरा, तिनाउ र रिब्दीकोट गाउँपालिकाको केन्द्रसम्म पुग्ने सडक पक्की बनेको छ । बाँकी सात वटा पालिकाको केन्द्रसम्म पुग्ने जाने सडक पक्की बन्न सकेको छैन । सदरमुकाम तानसेनदेखि रामपुर नगरपालिकासम्म पुग्नका लागि प्रयोग हुने कालीगण्डकी कोरिडोरको ६५ किलोमिटर सडक पक्की बनाउने काम भइरहेको छ ।

कालीगण्डकी कोरिडोरले अब छिट्टै सडक निर्माणको काम सके रामपुरसम्म पुग्न सहज हुनेछ । पुथाउत्तरगंगा गाउँपालिकाको वडा नम्वर १० र ११ मा पर्ने उत्तरगंगा नदिमा पानीको बहाव बढेर जिल्ला सदरमुकाम रुकुमकोट र पालिकाको केन्द्र तकमा आउने यातायातका साधनहरु ठप्प भएका छन् । नदीमा पुल नहुँदा ११ नम्बर सेरामा रहेका गाडीहरु सेरामै रहेको गाउँपालिकाका सव ओभरसियर नबिन दाहालले बताए । नदिकै बहावको कारण वडा नम्वर १, २, ३, ४, ५, ६ र ९ का सर्वसाधरणहरु गाउँपालिकाको केन्द्रसम्म जानबाट बञ्चित भएका छन् ।

यता पाल्पाको सदरमुकाम तानसेनदेखि सबैभन्दा टाढा ७५ किलोमिटर पूर्वमा रहेको निस्दी गाउँपालिकासम्म पुग्न १० किलोमिटर सडक पक्की बनाउन बाँकी छ । सडक पक्की नहुँदा वर्षातको समयमा सवारी आवागमन समेत बन्द हुने गरेको छ । पूर्वखोला गाउँपालिकासम्म पुग्नका लागि समेत रामपुर आर्यभाङ्ज्याङ् सडक प्रयोग भएपनि १३ किलोमिटर शाखा सडक बन्न सकेको छैन । पालिकाको केन्द्रसम्म पुग्नका लागि प्रदेश सरकारले १८ करोड बढी लगानी गरेर सडक पक्की बनाउन टेण्डर गरेको पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिए ।

जिल्लाको माथागढी गाउँपालिका पुग्न बाँसटारी झडेवा सडक प्रयोग हुन्छ । यो सडकको बाँसटारीदेखि देवगीरसम्म पक्की भएपनि पालिकाको केन्द्र झडेवासम्म पुग्न सात किलोमिटर सडक कच्ची छ । सडक पक्की नहुँदा वर्षातको समयमा पालिकासम्म पुग्न अप्ठेरो हुने गरेको माथागढी–४, झडेवाका स्थानीय बासिन्दा चन्द्रदेव पन्थीले बताउनुभयो । रम्भा गाउँपालिकाको केन्द्र खोकखोला सम्म पुग्ने डेढ किलोमिटर सडक समेत कच्ची छ । यो सडक स्तरउन्नतिका लागि काम भइरहेको छ । यद्यपी हालसम्म बाटो पक्की नहुँदा वर्षात्को समयमा पालिकाको केन्द्रसम्म आवतजावत गर्न समस्या हुने गरेको छ ।

वर्षामा प्रायः लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरुका ग्रामीण क्षेत्र जोड्ने सडकहरु अवरुद्ध हुने गर्दछन् । जसका कारण ग्रामीण इलाकाका बिरामी क्षेत्रहरुबाट सदरमुकाम तथा सहरी क्षेत्र आउन र उपचारका लागी एम्बुुलेन्स संचालन, बाढीपहीरो प्रभावितको उद्धार तथा राहत पुुर्याउनमा कठीनाई हुने गरेको छ । बर्षायाम सुरु भएसँगै रुकुम पूर्वका ग्रामिण सडकहरु अवरुद्ध भएका छन् । ट्रयाक खोलिएका कच्चि सडकहरुमा आएको पहिरो र बढेको नदी तथा खोलाको कारण सडक यातायात अवरुद्ध भएका छन् ।

वर्षाको कारण निर्माधीन अवस्थामा रहेको सहीद मार्गको रुकुम पूर्व खण्ड नियमित सञ्चालन हुन सकिरहेको छैन । भूमे गाउँपालिका र पूथा उत्तरगंगा गाउपालिकाको सिमानामा पर्ने रिका लेकमा नियमित जसो पहिरो झरिरहेकोले यातायातका साधन सञ्चालनमा कठिनाई हुने गरेको छ । जसको कारण काँक्रिबाट तक हुँदै हुकाम जाने यात्रुहरु मर्कामा परेका छन् । सोही सडक हुँदै पुथा उत्तरगंगाबाट जिल्ला सदरमुकाम रुकुमकोट आउने सर्वसाधारणले पनि सास्ती पाउने गरेका छन् ।

जिल्लाको सिस्ने गाउँपालिका–२ का पूर्व वडा अध्यक्ष जीवन केसीले जिल्लाका धेरैजसो ठाउँमा रहेका कच्चि सडकहरु बर्षायाममा बन्द अवस्थामा रहेको बताए । रुकुम पश्चिमको मुसीकोटदेखि रुकुम पूर्वको सदरमुकाम बीचको धाउनेमा लगातार पहिरो जाने गरेकोले बाटो बन्द भैरहने समस्या रहेको उनले जनाए । त्यसैगरी क्युवाङ राङसी जामाबगर र नाखामा खोलिएको ग्रामिण सडक पनि वर्षाको कारण अवरुद्ध रहेको बताइएको छ ।

अर्घाखाँचीका ग्रामिण भेगमा सडकहरु पनि अवरुद्ध भएका छन् । टोल –टोलमा पुगेका सडक वर्षायाम संगै अवरुद्ध भएका हुन् । जिल्ला मुख्य सडक सन्धिखर्क–गोरुसिङ्गे सडक समेत पहिरोका कारण बेलाबेला अवरुद्ध हुने गरेको छ । यस्तै सन्धिखर्क–तम्घास, सन्धिखर्क–प्यूठान सडकको अवस्था झनै जटील हुने गरेको छ । सडकको कमजोर अवस्थाका कारण ग्रामीण क्षेत्रमा हिउँदमा सञ्चालन हुँदै आएका बस तथा जिप सञ्चालनमा आउन सकेका छैनन् ।