June 12, 2025, Thursday
२०८२ जेष्ठ ३० शुक्रबार

ओमसतिया गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित तीनविरुद्ध भ्रष्टाचार मुद्दा

भैरहवा- रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ३ जनाविरुद्ध अख्तियार अनुसन्धान दुरुपयोग आयोगले  भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नेपालसँगै इन्जिनियर लवकुश चाई र सब इन्जिनियर सन्तोष भुसालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

Advertisement


ओमसतिया गाउँपालिका-४, मटेरिया गाउँको मुख्य सडकमा पीसीसी काममा लागत अनुमान भन्दा कम कम मोटाइमा ढलान गरेको तर नापी किताब तथा बिल पेश गर्दा फिल्डमा भएको भन्दा समग्र पीसीसी परिमाणमा बढी उल्लेख गरी दुई लाख ६१ हजार ८५५ रुपैयाँ ९० पैसा नोक्सान पुर्‍याएको भन्दै अख्तियारले उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले उनीहरुबाट गैरकानुनी रुपमा हानी नोक्सानी भएको २ लाख ६१ हजार ८५५ रुपैयाँ ९० पैसा जफत गर्न पनि माग गरेको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताए ।