गौतम बुद्ध विमानस्थल: जजिराको सफलतापछि थप दुई विदेशी वायुसेवाले उडान गर्दै
भैरहवा– एक महिनादेखि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतको जजिरा एयरलाइन्सले व्यवसायिक उडान गरिरहेको छ । छोटो समयमा यात्रुको रोजाईमा विमानस्थल पर्दा जजिरा खसशी छ । जजिराले सफलता पाउँदै गएपछि उडान थप्ने तयारी गरिरहेको छ ।
अहिले जजिराले हप्तामा सोमबार बुधबार र शनिबार गरी तीन दिन अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । जजिराको सफलतासँगै यहाँबाट अन्य दुई विदेशी वायुसेवा कम्पनीहरुले पनि नियमित उडान थाल्ने तयारी सुरु गरेका छन् । ‘एयर अरेबिया’ र युएईको ‘फ्लाई दुबई’ ले गौतम बुद्ध विमानस्थलबाट सेवा थाल्ने प्रक्रिया सुरु गरेको विमानस्थल महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए ।
यहाँबाट उडान सुरु गर्ने तयारी गरेका यी दुवै एयरलाइन्स संयुक्त अरब इमिरेट्स (युएई) का अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनी हुन् । जेठ २ बाट औपचारिक संचालनमा आएको विमानस्थलमा सोही दिनबाट कुबेतको जजिरा एयरवेजले नियमित उडान सुरु गरेको थियो । त्यसयता जजिराले यात्रु अकुपेन्सीका हिसाबले राम्रो बिजनेश पाइरहेको जनाएको छ ।
‘गौतम बुद्धबाट नियमित व्यवसायिक उडानका लागि थप दुई विदेशी वायुसेवा कम्पनी एयर अरेबिया र फ्लाइ दुबईले प्रक्रिया सुरु गरेका छन्,’ विमानस्थलका महाप्रबन्धक दाहालले भने, ‘मलाई आएको जानकारी अनुसार एयर अरेबियाले आउँदो दुई हप्ताभित्रै उडान थाल्ने इच्छाका साथ प्रक्रिया थालेको छ ।’ एयर अरेबिया इमरेट्सको लो कस्ट एयरलाइन्स हो ।
एक महिनाअघि विमानस्थल उद्घाटनसँगै साताको तीन दिन नियमित उडान सुरु गरेको जजिरा एयरलाइन्सले छिट्टै साताको सातैवटा उडान सुरु गर्ने तयारी गरेको पनि दाहालले बताए । यसअघि राती उडान–अवतरण गर्दै आएको जजिराले उडान तालिका परिवर्नन गरी बिहानमा बनाएको एयरलाइन्स नेपालका लागि आधिकारिक जीएसए सोसाइटी इन्टरनेशनल ट्राभलका अध्यक्ष रवी चन्द्र सिंहले जनाए ।
खासगरी श्रम गन्तव्य मुलुकबाट भैरहवा विमानस्थल जान चाहने यात्रुको माग तथा चाप पनि उच्च छ । सोही कारण अन्य विदेशी वायुसेवा कम्पनीहरुले पनि यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि रुचि बढाएका छन् । त्यही क्रममा एयर अरेबिया र फ्लाई दुबईले नियमित उडानका लागि प्रक्रिया अघि बढाएका छन् ।
‘गौतम बुद्ध विमानस्थल भएर आउजाउ गर्ने यात्रु उत्साहित छन् । जजिराको उडान अवतरण समयमै भइरहेको छ । यसले भोलि अरु वायुसेवालाई पनि यहाँबाट सेवा सुरु गर्न प्रोत्साहित गर्छ भने यात्रु सेवा विस्तार हुँदा समग्र देशकै पर्यटन प्रवद्र्धनमा लाभ पुग्नेछ,’ सोसाइटीका अध्यक्ष सिंहले भने ।
हाल काठमाडौं–कुवेत रुटका लागि जजिराको न्युनतम भाडा ३३ हजार रुपैयाँ छ । भैरहवा–कुवेत रुट भएर आउजाउ गर्दा भने यसमा २० प्रतिशत अर्थात् ६ हजार ६०० रुपैयाँ कम (२६४०० रुपैयाँ) मा सेवा दिँदै आएको जनाएको छ । भैरहवामार्फत यात्रुले कुवेत भएर खाडीका विभिन्न मुलुकका साथै जर्जिया, इजिप्ट, अजरबैजान लगायत कुवेत हब बनाएर जजिराले उडान संचालन गरिरहेका सबै गन्तव्य जाने उडान सेवा लिँदै आएका छन् ।
विमानस्थललाई लक्षित गरेर भैरहवामा श्रम कार्यालय स्थापना भएसँगै यतिखेर वैदेशिक रोजगार गन्तव्य मुलुकहरु आउजाउ गर्ने यात्रुलाई यो विमानस्थल थप सहज हुँदै आएको दाहालले बताए । ‘श्रम तथा रोजगार शाखा संचालनमा आइसकेको छ । ताहाचलमा हुने काम अब सबै यतैबाट भइसकेको छ । जसले गर्दा भैरहवाबाट पायक पर्ने थुप्रै जिल्लाबाट वैदेशिक रोजगारमा जाने–आउनेलाई अब काठमाडौं पुग्नु नपर्ने भएको छ,’ दाहालले भने ।
यसबाहेक अब म्यानपावर कम्पनीहरुका शाखा कार्यालयहरुको रसिद काट्ने काउन्टर वा सुविधा पनि विमानस्थल आसपास हुन सके वैदेशिक रोजगारीमा जाने–आउने यात्रुका लागि यो विमानस्थल झन् सहज हुने जनाइएको छ ।
प्रतिकृया दिनुहोस्