December 10, 2024, Tuesday
२०८१ मंसिर २५

डाइभर्सन बगेपछि बुटवल–सुनवल सडकखण्ड अवरुद्ध

भैरहवा- बुटवल–सुनवल सडकखण्ड अवरुद्ध भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनवल नगरपालिकामा पर्ने तुरिया खोलाको डाइभर्सन बाढीले बगाएपछि उक्त सडक खण्डमा सवारी आवागमन बन्द भएको प्रहरीले जनाएको छ ।
खोलामा पानीको मात्रा घटेपछि डाइभर्सन बनाउन शुरु गरिने भएकाले सडक सुचारु हुन केही घण्टा लाग्ने प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मोहनबहादुर खांणले बताए ।

बिहीबार राति परेको भारी वर्षापछि आएको बाढीले डाइभर्सन बगाएपछि रातिदेखि नै सवारी आवागमन रोकिएको प्रहरीले बताएको छ ।

उक्त सडक अवरुद्ध भएकाले पूर्वबाट आउने सवारी साधनहरु भुमही–परासी सडक खण्ड हुँदै र बुटवलबाट पूर्वतर्फ जाने सवारी साधनहरु भैरहवा–परासी हुँदै आउ–जाउ गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । गत वर्ष तुरिया खोलाको फलामे पुल भँंचिएपछि डाइभर्सन बनाइएको थियो । पुल अझै बनिसकेकाे छैन ।