लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बुधवार


भैरहवा– नयाँ नीति कार्यक्रम सार्वजनिक गर्ने बेला लुम्बिनी प्रदेश सरकार परिवर्तनको हल्लासँगैं विभिन्न आशंका उत्पन्न भएका छन् । जसले गर्दा आज सोमबार सार्वजनिक गर्ने तयारी भइरहेको नीति तथा कार्यक्रम बुधबारका लागि सारिएको छ । यसअघि सोमबारका लागि आह्वान गरिएको प्रदेशसभा बैठक सारिएको छ । आइतबार प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरेर बैठक बुधबारका लागि सरेको जानकारी गराएको थियो ।
प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले आइतबार जारी गरेको सुचनामा आगामी २५ गते बुधबार बस्ने बैठकमा प्रदेशसभा सदस्यलाई उपस्थिति हुनको लागि आग्रह गरिएको छ । प्रदेश सरकारका एक मन्त्रीका अनुसार सरकारले चालु प्रदेशसभा बैठकमै नीति कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ । ‘तयारी नपुगेर सारिएको हो,’ उनले पब्लिकुकरासित भने, ‘कुनै समस्या भएर होइन । प्रदेश प्रमुख ज्युको स्वास्थ्यमा केही समस्या देखिएकाले सार्नु परेको हो ।’
माओवादी केन्द्रबाट निर्वाचित प्रदेश सांसद दीपेश थारुले पदबाट राजिनामा गरेर बर्दियाको राजापुर नगरपालिकाको प्रमुख निर्वाचित भएपछि फेरि प्रदेश सरकारमा अंक गणितीय खेल सुरु भएको चर्चा छ । स्रोतका अनुसार एमालेले जनता समाजबादीका नेता सहसराम यादवलाई मुख्यमन्त्रीको प्रस्ताव गर्दैं सरकार परिवर्तनको प्रयासमा लागेको छ । सत्ताधारी गठबन्धनले मन्त्री हेरफेर गरेर भए पनि सरकार जोगाउने तयारी गरिरहेको छ ।
यसअघि गठबन्धनको सरकार निर्मााणका बेला माओवादी र कांग्रेसबीच आलोपालो मुख्यमन्त्री बन्ने सहमती थियो । उक्त सहमती पालना नभएपछि अहिले कांग्रेसका सांसदमा असन्तुष्टी देखिन्छ । यस्तो असन्तुष्टी मन्त्री हेरफेर गरेर भए पनि मिलाउने प्रयासमा सरकार देखिएको छ । लुम्बिनी प्रदेश सभामा अहिले ७९ सदस्य छन् । ति मध्ये एमालेका ३६, कांग्रेस १९, माओवादी १८, जनता समाजवादी ४, राष्ट्रिय जनमोर्चा १ र स्वतन्त्र १ छन् ।








प्रतिकृया दिनुहोस्