December 12, 2024, Thursday
२०८१ मंसिर २७

तीन दिनदेखि चुन ढुंगा ढुवानी ठप्प

भैरहवा– मूल्यवृद्धि अनुसार भाडा समायोजन नभएको जनाउँदै पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको सिद्देश्वरबाट चुनढुंगा ढुवानी रोकिएको छ । भाडा समायोजना माग गर्दै तीन दिनदेखि ढुुवानी रोकिएको हो । तिनाउ टिप्पर व्यवसायी समितिसितको सम्झौता अनुसार सिमेन्ट उद्योगले भुक्तानी नदिएपछि बिरोध सुरु गरेका हुन् ।

उक्त समितिमार्फत ६ सय टिपर संचालन भइरहेका छन् । तिनाउ र रैनादेवीछहरामा सञ्चालन भइरहेका पाँचवटा चुनढुंगा खानीबाट ढुवानी बन्द भएको समितिका अध्यक्ष अरबिन्द पाण्डेयले बताए । दुुई पालिकामा सञ्चालनमा रहेका सर्वोत्तम सिमेन्ट कचल, कञ्चन कोइरिज मरेक, सिद्धार्थ मिनिरल्स श्रीडाँडा, सत्यवती सिमेन्ट कोलडाँडा, विएस सिमेन्ट सुकेताल र रैनादेवी छहरा गाउँपालिकामा संचालित सर्वोत्तम सिमेन्ट सिद्देश्वरबाट ढुवानी बन्द भएको हो ।

Advertisement

माथागढी गाउँपालिकाको हात्तीलुङको धामिगा र पाल्पा सिमेन्टको चुनढुंगा खानीबाटसमेत केही टिपरले ढुवानी गरेका छैनन् । पेट्रोलियम पदार्थमा पटक–पटक भएको मूल्यवृद्धि अनुसार वैज्ञानिक भाडादर लागू नभएको र सिमेन्ट उद्योगले साप्ताहिक भुक्तानी नदिएकाले चुनढुंगा ढुवानी गर्न नगरेको व्यवसायीका अध्यक्ष पाण्डेयले बताए ।

तिनाउ टिपर व्यवसायी समितिले चुनढुंगा खानीबाट सिमेन्ट उद्योगसम्म ढुवानी गर्ने सम्झौता अनुसार डिजल मूल्य घटबढ हुँदा ढुवानी भाडामा समायोजन नभएकाले परिवर्तित मूल्य अनुसार भाडा दररेट कायम गर्न माग गर्दै आएको छ । भाडा समायोजनका लागि उद्योगसँग विगतदेखि माग राख्दै आएको व्यवसायीले बताए ।

माग सम्बोधन नभएकाले चुनढुंगा ढुवानी ठप्प पारेको समितिले जनाएको छ । तिनाउ र सिद्देश्वरमा संचालित चुनढुंगा खानीबाट दैनिक ६ सय टिपरले रुपन्देही, नवलपरासी र कपिलवस्तुमा संचालित सर्वोत्तम, अर्घाखाँची, बुटवल सिमेन्ट उद्योगमा चुनढुंगा निकासी हुने गरेको छ ।