December 5, 2024, Thursday
२०८१ मंसिर २०

लुम्बिनीमा तयार भयो पाँच हजार क्षमताको बौद्ध सभाहल तथा ध्यान केन्द्र

लुम्बिनी– निर्माण सुरु भएको ४ वर्षमा बल्ल बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको बौद्ध सभाहल तथा ध्यान केन्द्रको निर्माण पूरा भएको छ । ३ वर्षमा सम्पन्न गर्ने योजना रहेको हल कोरोनाका कारण एक वर्ष ढिलो भएपछि ४ वर्षमा सम्पन्न भएको लुम्बिनी विकास कोषले जनाएको छ ।

राष्ट्रिय गौरवको लुम्बिनी विकास गुरुयोजनाअन्तर्गत अत्याधुनिक सुविधासहितको सभाहल निर्माण गरिएको हो । उक्त हल जेठ २ बुद्ध पूर्णिमा दिन प्रधानमन्त्री शेरबहदुर देउवाले उद्घाटन गर्ने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त हलबाट सम्बोधन गर्ने कार्यक्रम तय गरिएको विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।

Advertisement

५ हजार सिट क्षमता भएको छाता शैलीको हलमा गर्मीमा चिसो र जाडोमा तातो हुने प्रविधिसमेत राखिसकिएको छ । ६ देखि ८ डिग्रीसम्म तापक्रम तलमाथि हुन सक्ने ईपीएस प्यानल प्रयोग गरिएको छ । मेन्टेनेन्स फ्री गर्न पिलरमा समेत मोज्याक लगाइएको छ ।

मुख्य पूर्वाधारको काम पहिलो चरणमा सम्पन्न भएको थियो भने दोस्रो चरणमा फिनिसिङ र सौन्दर्यीकरणको काम पूरा भएको हो । उद्घाटनका लागि सबै पूर्वाधार तयारी पूरा भएको निर्माण कम्पनी लुम्बिनी, अर्घाखाँची बाबुल जेभीका साइड इन्जिनियर वसन्त क्षेत्रीले जानकारी दिए ।

ध्यान र शान्तिको कार्यक्रम गर्ने ठाउँ भएकाले भित्रै पूरै सेतो रङ लगाइएको छ । हलको भित्रतिर माथि पहेलो रङको लोटस बनाइएको छ । भित्र उज्यालोका लागि छतमा ४ सय ७६ वटा बत्ती जडान गरिएको विकास कोषका योजना प्रमुख सरोजकुमार भट्टराईले बताए । यहाँ वाइफाई जोन बनाइएको छ ।