December 10, 2024, Tuesday
२०८१ मंसिर २५

पाँच सय रुपैयाँको कमाल !

भैरहवा– बिजुलीको ट्रान्सफर्मर, पोल वा तारमा आगलागी हुँदा सर्वसाधारणले जानकारी दिँदा पनि धेरै समयसम्म विद्युत् प्राधिकरणले लाइन नकाटिदिने गरेको गुनासो धेरैले गर्ने गर्छन् ।

तर, विद्युत् सप्लाई बन्द गराएर कसैले व्यक्तिगत केही काम गर्नु परेमा प्राधिकरणका केही कर्मचारीलाई अतिरिक्त पैसा दिएमा तत्कालै लाइन काटिदिन्छन् भन्ने सुन्दा अचम्म लाग्छ । यो भने सत्यसावित भएको छ ।

Advertisement

घटना सोमबार राति साढे ९ बजेतिर सिद्धार्थनगर नगरपालिका–९, प्रभातपथको हो । केरा लोड गरेर आएको एउटा भारतीय ट्रक प्रभातपथको सडक हुँदै अगाडि जाने क्रममा थियो । करिब चार सय मिटर अगाडि सिद्धार्थनगरको उदयपुरमा रहेको एक व्यापारीको गोदाममा केरा अनलोड गराउनका लागि ।

एक ठाउँमा पोलबाट एउटा बिजुलीको नाङ्गो तार केही लत्रेको थियो । त्यस ट्रक अगाडि बढेमा त्यस तारसंग ठोक्किएर आगलागी हुने सम्भावना धेरै थियो । यो अवस्था देखेपछि स्थानीय केहीले त्यस ट्रकलाई रोक्ने प्रयास गरे । स्थानीय भन्छन्, ‘त्यो लत्रेको तार कसिदिन धेरैपटक अनुरोध गर्दा प्राधिकरणले बेवास्ता गर्दै आएको थियो ।’

स्थानीयले अगाडि नबढ्न भन्दा पनि ट्रक चालकले अटेर गर्न लागेपछि घर नजिकै रहेका ठाकुर श्रेष्ठले ट्रकवालाई अगाडि नबढ्न र यदि तारमा ठोक्किएर आगलागी भएको त्यसको जिम्मा लिनु पर्ने चेतावनी दिए ।

यो चेतावनी पछि ट्रकवालाले गाडी रोकेर आफूले प्राधिकरणका कर्मचारीलाई ५ सय रुपैयाँ दिएर लाइन काट्न लगाउने र सप्लाई बन्द भएपछि गाडी अगाडि बढाउने र यसो गर्दा आगलागीको जोखिम नहुने भन्दै आश्वस्त पार्यो ।

‘मेरै अगाडिको घटना हो, उसले मोवाइलबाट प्राधिकरणको कुनै कर्मचारीलाई सम्पर्क गरेर लाइन काट्न लगायो’, सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष समेत रहेका श्रेष्ठले भने, ‘नभन्दै १५ मिनेट जति तत्कालै लाइन काटियो । ट्रक अघि गयो । यो घटनाले म जिल्ल परें ।’

जवकी, केही दिन अगाडिमात्रै मल्लामण्डीको पिपरहियास्थित प्रहरी बिट अगाडि पोलमा बिद्युत सट भएर धेरै बेरसम्म आगलागी भयो । भीड जम्मा भयो । कतिपयले मोवाइलबाटै लाइभ हाले ।

‘धेरै पटक प्राधिकरणलाई लाइन काट्न र दमकललाई आउन फोन गर्दा पनि १५–२० मिनेटसम्म न लाइन काटियो नत दमकल नै आयो’, स्थानीय प्रत्यक्षदर्शी तथा सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष नेत्र आचार्यले भने ।

नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख अवधेश दुवेले त्यसरी कसैले भनेकै भरमा लाइन काट्न नमिल्ने बताए । ‘यदि लाइन काट्न परेमा कामको प्रकृति खुलाएर सम्बन्धित व्यक्ति तथा संस्थाले निवेदन दिनुपर्छ’, उनले भने, ‘निवेदन परेपछि कुन प्रकृतिको काम हो र त्यसको आवश्यकता के हो भनेर बुझेर बल्ल लाइन काट्ने–नकाट्ने निक्र्यौल गरिन्छ ।’

दुवेले घटनाबारे आफूले विस्तृत बुझ्ने बताए । ‘घटना भएको समयमा कुन कर्मचारी संलग्न थिए भन्नेबारे मैले अनुसन्धान गर्छुु, त्यसपछि विस्तृत विवरण आउनेछ’, उनले भने, ‘अनुसन्धान सकिएपछि वास्तविक कुरा बाहिर ल्याउँछौं ।’