गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग सञ्चालन
भैरहवा– रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको विमानस्थलमा बुधबार मध्यरातबाट धावनमार्ग सञ्चालन गरिएको हो ।
यससँगै गौतमबुद्ध विमानस्थलमा दैनिक साढे १८ घण्टासम्म हवाई उडान सञ्चालन गर्न सकिने भएको छ । विमानस्थल अधिकारीका अनुसार यसपछि अन्तर्राष्ट्रिय उडानका लागि बाटो खुलेको छ । आगामी बुद्ध पूर्णिमा अर्थात् जेठ २ गतेदेखि यहँँ अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारी छ ।
विमानस्थलका निमित्त निर्देशक तथा प्रवक्ता श्यामकिशोर साहले बुधबार मध्यरातबाट विमानस्थलको नयाँ धावनमार्गलाई सञ्चालनमा ल्याइएको जानकारी दिए । अब आन्तरिक तथा बाह्य सम्पूर्ण हवाई उडान नयाँ धावनमार्गबाटै हुने उनले जानकारी दिए ।
‘आधिकारिक रूपमा अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन हुन बाँकी भए पनि नयाँ धावनमार्ग सञ्चालनमा आएपछि आपतकालीन, चार्टर्ड र डाइभर्ट गरिएका अन्तर्राष्ट्रिय उडान सञ्चालनलाई तत्काल बाटो खुलेको छ,’ उनले भने, ‘कुनै पनि एयरलाइन्सले यस विमानस्थलबाट अब अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न चाहेमा हामी तयारी अवस्थामा छौं ।’
उनका अनुसार नयाँ धावनमार्ग सञ्चालनमा ल्याइएपछि यो विमानस्थल पनि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सरह सञ्चालनमा आउनेछ । काठमाडौंको विमानस्थल बन्द नहुँदासम्म यहाँ पनि खुलै रहनेछ ।
‘अब यो काठमाडौंको वैकल्पिक विमानस्थलको रूपमा यो रहनेछ,’ साहले भने, ‘बिहान ६ बजेदेखि राति साढे १२ बजेसम्म विमानस्थल खुला रहनेछ ।’ प्रवक्ता साहका अनुसार पहिलाको धावनमार्गलाई अब ट्याक्सी–वे (विमान पार्किङ स्थल) का रूपमा प्रयोगमा ल्याइनेछ । पहिलाको १ हजार ५ सय मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग छेउमा अर्को धावनमार्ग निर्माण गरी अहिले ३ हजार मिटर लम्बाइ र ४५ मिटर चौडाइमा बनाइएको छ ।
जेठ २ अगावै यस विमानस्थलबाट केही अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुने सम्भावना रहेको विमानस्थलका कर्मचारी बताउँछन् । कुन–कुन एयरलाइन्सले कहिले चार्टर्ड उडान गर्ने भन्नेबारेमा विमानस्थलको अग्रिम स्विकृति भने कसैले पनि लिइसकेका छैनन् ।
यहाँबाट अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालनका लागि विदेशी एयरलाइन्स कम्पनी र यात्रुलाई आकर्षित गर्न तयार पारिएको विमानस्थल सेवा शुल्क नियमावली सरकारबाट स्वीकृत भएर आइसकेको छ । जसमा, अन्तर्राष्ट्रिय एयरलाइन्सहरूलाई अवतरण र पार्किङ लगायतका शुल्कमा छुटको व्यवस्था गरिएको छ ।
उक्त नियमावलीमा विमानस्थलको प्रयोग गरेबापत लाग्ने शुल्क अन्तर्राष्ट्रिय एयरलाइन्सलाई ६ महिनासम्म नलाग्ने छुटको व्यवस्था गरिएको छ । विमानस्थलका अनुसार सामान्यतया विमानस्थलको प्रयोग गरेबापत विमानको तौलका आधारमा शुल्क कायम गर्ने गरिन्छ । एकपटक हवाई उडान सञ्चालन गर्दा न्यूनतम पनि १ लाखभन्दा धेरै विमानस्थल शुल्क लाग्ने गर्छ । यस विमानस्थलको प्रवद्र्धनका लागि सुरुमा यस खालको सुविधा प्रदान गरिएको हो ।
विमानस्थल सञ्चालनमा आएपछि त्रिभुवन विमानस्थलमा विद्यमान एयर ट्राफिक चापको समस्या र अवतरण गराउने वैकल्पिक विमानस्थलको अभावले विमानलाई भारत र बंगलादेशतर्फ लैजानु पर्ने बाध्यता अब नरहेको साहले बताए । ‘धावनमार्ग सञ्चालनमा आउनुपूर्व कन्ट्रोल टावर र पूर्ण आपतकालीन अभ्याससहित फायर फाइटिङको नयाँ स्टेसन सञ्चालनमा आइसकेको छ,’ साहले भने, ‘विमानस्थलको क्यालिब्रेसन फ्लाइट भइसकेकाले धावनमार्गको परीक्षण अवतरण गराउन जरुरी रहेन ।’
विमानस्थलका अनुसार आधिकारिक रूपमा अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुरु भएपछि जजिरा एयरलाइन्सले यस विमानस्थलबाट दैनिक एउटा नियमित उडान सञ्चालन गर्ने अनुमति लिने प्रक्रियामा छ । अन्य एयरलाइन्स प्रक्रियाको क्रममा छन् । ओमानको सलाम एयर, थाई स्माइल एयरलाइन्स र श्रीलंकन एयरलाइन्स, कतार एयरलाइन्सलगायतले हवाई उडान सञ्चालनका लागि चासो देखाइरहेका छन् ।
प्रतिकृया दिनुहोस्