September 8, 2026, Tuesday
२०८३ भाद्र २३ मंगलवार

भैरहवा क्षेत्रका उद्योगमा विद्युत अभावको समस्या हट्दै

भैरहवा– उद्योग संचालनका लागि आवश्यक पर्ने विद्युत उपलब्ध नहुनु भैरहवा र आसपास क्षेत्रका व्यवसायीको साझा समस्या हो । यस क्षेत्रका व्यवसायीले वर्षौंदेखि विद्युत् अभावको समस्या झेल्दै आएका छन् । माग अनुरुपको विद्युत् उपलब्ध नहुनु र उपलब्ध भएको बिद्युत् पनि गुणस्तरीय नहुने समस्या अहिले पनि बिद्यमान छ । बिद्युत् अभावको यो समस्याले उत्पादन नै कटौती गर्नु पर्ने बाध्यता यहाँका व्यवसायीलाई नौलो होइन् ।

Advertisement

‘उद्योगका लागि आवश्यक पर्ने बिद्युत् उपलब्ध नहुने र बिद्युत् उपलब्ध भएको समयमा पनि भोल्टेजमा एकरुपता नहुँदा उद्योग संचालनमा गर्न अति कठिनाइ हुने गरेको छ’, भैरहवा–लुम्बिनी औद्योगिक करिडोरस्थित बृज सिमेन्ट उद्योगका महाप्रबन्धक रबि रञ्जन कुमारले भने, ‘बिद्युत् आपूर्तिमा हुने गरेको अनियमितताले उत्पादन कटौती गर्नु पर्ने बाध्यतामात्रै होइन्, लाखौं रुपैयाँ मूल्यका उपकरण बिग्रेका छन् ।’

Advertisement

क्षण–क्षणमैं आउने जाने र फरक–फरक भोल्टेजको बिद्युतले गर्दा उद्योगमा राखिएको १८ लाख रुपैयाँ मूल्यको स्टेपलाइजर वारम्बार बिग्रिने गरेको र मर्मतका लागि भारतको पुनादेखि प्राविधिक झिकाउनु पर्ने बाध्यता रहेको उनले बताए । यो पीडा एक्लो उद्योगकोमात्र नभएर समग्र उद्योगको साझा हो । केही दिनदेखि उद्योग संचालनका लागि आवश्यक पर्ने बिद्युत् पाइए पनि वारम्बार ट्रिपिङ हुने समस्या अहिले पनि बिद्यमान रहेको उनले सुनाए ।

डेढ महिना पछि भने भैरहवा क्षेत्रका व्यवसायी र सर्वसाधारण बिद्युत् अभाव र गुणस्तरहीन बिद्युत आपूर्तिबाट उत्पन्न यस खालको समस्याबाट मुक्ति पाउँदैछन् । ‘बुटवल–लुम्बिनी १ सय ३२ केभी प्रशारण आयोजना’ सम्पन्न हुने भएपछि यो समस्या समाधान हुने भएको हो । आयोजनाको प्रगती ८० प्रतिशतको हाराहारीमा छ । यो आयोजनासँगै नेपाल–भारत बीच बिद्युत् व्यापार गर्न सकिने संरचना पनि तयार हुँदैछ । जसबाट नेपालले आफूसँग उत्पादन बढी भएको बिद्युत् भारतलाई बिक्री गर्ने छ ।

‘भैरहवा क्षेत्रका उद्योगले माग गरे अनुरुपको बिद्युत् उपलब्ध गराउनका लागि आवश्यक पर्ने संरचनाहरु धमाधम तयार भैरहेका छन्’, आयोजनाका प्रमुख हरि पाण्डेले भने, ‘भैरहवा, लुम्बिनी क्षेत्रमा पहिलाको जस्तो विद्युत् अभाव र गुणस्तरहीन बिद्युत् समस्या अव रहने छैन ।’ आयोजना सम्पन्न भएपछि बिद्यमान उद्योगले माग गरे अनुरुपकोमात्र नभएर अहिलेको उद्योगको अनुपतातमा दोब्बर भन्दा धेरै संख्यामा थप उद्योग संचालन गर्न सकिने बिद्युत् उपलब्ध हुने दावी उनले गरे ।

उनका अनुसार, भैरहवा क्षेत्रका उद्योगले उद्योगले बोहोर्नु परेको बिद्युत् अभाव, ओभरलोड, वारम्बार हुने ट्रिपिङ, कम र उच्च भोल्टेज लगायतका समस्या समाधानका लागि १ अर्व १९ करोड रुपैयाँ लागतमा २०७२ सालदेखि आयोजना सुरु भएको हो । आयोजना अन्तर्गत भैरहवा नजिकै मैनहिया भन्ने स्थानमा शव स्टेशन निर्माण गरिएको छ । बुटवलमा रहेको राष्ट्रिय प्रशारण लाइन ग्रिडसँग जोडेर २ सय मेगावाट क्षमताको लाइन सव स्टेशनमा ल्याइएको छ ।

बिद्युत्को यस खालको समस्याबाट भैरहवा क्षेत्रका उद्योगीमात्रै होइन, सर्वसाधारण वासिन्दा पनि पीडित छन् । विजुली आए पनि पानी तान्ने मोटर, लुगा धुने मेशिन, पंखा, एयरकण्डीशन, फ्रिज, कम्प्युटर जस्ता उपकरण नचल्ने र उच्च र कम भोल्टेजका कारण ति सामाग्री बिग्रिने गरेकाले क्षतिपूर्ति उपलब्ध गराउन समेत सर्वसाधारणले लिखित माग प्राधिकरण समक्ष गरेका छन् ।

बिद्युत अभाव र गुणस्तरहीन बिद्युतका कारण तिब्र गतीमा अघि बढेको भैरहवा क्षेत्रको औद्योगिकरणको गती अवरुद्ध हुन पुगेको भैरहवाका व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य राजेशकुमार अग्रवाल बताउँछन् । ‘यदि बिद्युतको यो समस्या नभएको भए भैरहवा–परासी औद्योगिक करिडोरमा थप दुई दर्जन उद्योग स्थापना भइ संचालनमा आइसक्ने थिए’, अग्रवालले भने, ‘बिद्युतको सहजता भए श्री स्टिल्ससंगै त्यस क्षेत्रमा अर्को उद्योगमा लगानी गर्ने मनसायमा छौं ।’

अहिले पनि आफ्नो अर्घाखाँची सिमेन्ट उद्योगमा कहिलेकाही दैनिक दश पटकजति बिद्युत अवरुद्ध हुने गरेको र यसबाट कारखानाको उपकरण बिग्रिने, उत्पादन लागत बढ्ने हुँदा प्रतिस्पर्धा गर्न नसकिने अवस्था आएको उनले बताए । आयोजनाका अनुसार, हाल भैरहवा क्षेत्रका उद्योग र सर्वसाधारणलाई करिव ६० मेगावाट बिद्युत् आपूर्ति भएको छ । जवकी, उद्योग क्षेत्रबाटमात्रै बिद्युतको माग ९० मेगावाट छ ।

आयोजना सम्पन्न हुनासाथ ९० मेगावाट बिद्युत् तत्कालै आपूर्ति गर्ने योजनामा आयोजना छ । पछि माग थप भएमा २ सय मेगावाट बिद्युत् मैनहिया सव–स्टेशनबाट उपलब्ध गराउन सकिने छ । ‘आउँदो चैत महिनासम्ममा यो सव स्टेशन संचालन गर्ने तयारीमा छौं’, आयोजना प्रमुख पाण्डेले भने, ‘यदि चैतसम्ममा यो सव–स्टेशन संचालनमा नआएमा भैरहवा क्षेत्रको लोडसेडिङ थेग्न सकिने अवस्था छैन ।’ बिगत दुई वर्ष कोरोनाका कारण लकडाउनले उद्योग बन्द हुँदा लोडसेडिङ हुनबाट भैरहवा क्षेत्र जोगिएको उनले बताए ।

मैनहिया सव–स्टेशनसँग जोडेर ‘मैनहिया सम्पत्तिया १ सय ३२ केभी प्रशारण लाइन आयोजना’ पनि सँगसँगै अघि बढेको छ । मैनहिया सव–स्टेशनदेखि २७ किमी दक्षिण भारतको सम्पत्तियामा भारत सरकारले सव–स्टेशन तयार गरिसकेको छ । मैनहिया र सम्पत्तिया सव–स्टेशन बिद्युत् लाइन जोडिएपछि नेपाल–भारत बीच २ सय मेगावाट क्षमताको बिद्युत् आयात निर्यात गर्ने बाटो तयार हुने छ । आउँदो असार महिनासम्ममा यो योजना पनि सम्पन्न हुने तयारीमा छ । अहिले धमाधम निर्माण कार्य जारी छ ।