May 19, 2022, Thursday
५ जेष्ठ २०७९, बिहीबार

दशगजाबाट ‘खुलेयाम तस्करी’

भैरहवा– मुलुकमा रहेका तीनै तहका सरकारको ध्यान स्थानीय निर्वाचनमा केन्द्रित देखिन्छ । निर्वाचन लक्षित गरेर सुरक्षा रणनीति तय भइरहेका छन् । गाउँगाउँमा मतदान केन्द्र र आवश्यक तयारी भइरहेका छन् । यस्तो बेला लुम्बिनी प्रदेशका भारतसँगका सिमावर्ती ग्रामीण नाकामा राज्यका कुनै निकायको ध्यान पुगेको छैन ।

Advertisement

त्यसको फाइदा उठाउँदैं अहिले ‘चोर नाका’बाट तस्करी धमाधम चलिरहेको छ । रुपन्देहीको मूल नाका बेलहियामा सुरक्षाकर्मी परिचालित छन् । त्यही अनुसार जाँच हुने गरेको छ । मूल नाकाबाट पाँच सय मिटर दायाँबायाँ कसैको नजर पुगेको छैन । यहाँका व्यवसायी जानेरै सुरक्षा निकायले नजर नपुर्याएको आरोप लगाउँछन् ।

सिमावर्ती भारतीय बजारबाट खुलेयाम दैनिक आवश्यकताका खाद्यान्न र अन्य उपयोगी सामान तस्करी हुँदा नेपाली व्यवसायी पीडित छन् । अहिले दिउँसै विभिन्न नाका हुँदै तस्करी चलेपछि व्यापारी आक्रोशित छन् । तीन साता अघि रुपन्देहीको बेथरी पुल नजिकैको एउटा घटना उल्लेख गर्न लायक छ ।

एक प्रत्यक्षदर्शीका अनुसार मर्चवार हुँदै मोटरसाइकलमा ३–४ बोरा सामान ओसारिरहेका एक व्यक्तिले हिलो–धुलोमा समेत ब्रेक लगाएनन् । ‘मोटरसाइकल उछिट्टिएर धन्न खोलामा पुगेन’, बेथरी पुलमा भेटिएका ती सर्वसाधरणले भने, ‘सडकको उकालोमा समेत उनी रोकिएन, पुलमा गाडीको लाइन थियो । ती व्यक्तिले भीडमै मोटरसाइकल बेपत्ता कुदाए ।’

ती सर्वसाधरणका अनुसार त्यसरी समान ओसारिएका व्यक्तिलाई रोक्न आग्रह गर्दा समेत मानेनन् । उनलाई कसैले देख्छ कि भन्ने डरले सताएको हुनसक्ने उनको भनाई थियो । बेथरी पुल पारी प्रहरी चौकी छ । ती व्यक्तिले प्रहरीकै सामुन्ने सामान ओसारेको देखियो । स्थानीयका अनुसार अहिले दैनिक मोटरसाइकलमा यसरी समान ओसार्नेको लर्को लाग्ने गरेको छ ।

रुपन्देहीका मर्चवार लगायत क्षेत्र हुँदै भारतीय बजारबाट उपभोग्य सामान खरिद गरेर ओसार्ने बढेका छन् । यो एउटा उदाहरण मात्रै हो । अहिले सिमावर्ती क्षेत्रमा पुग्दा यसरी सामान ओसार्ने जहाँतहीँ भेटिन्छन् । प्रशासनले दैनिक उपभोग्य बस्तु खरिद गरेर मूल नाकाबाटै ल्याउन दिने गरेको छ । तर, लुकिछुपी सामानको ओसारपसारलाई प्रोत्साहन नगर्ने दाबी गर्दै आएको छ । दाबी अहिले लागू भएको पाइँदैन ।

पश्चिम लुम्बिनीको दक्षिण नाकाबाट समेत अहिले ओसारपसार चलिरहेको छ । छिमेकी पश्चिम नवलपरासी र कपिलस्तुका नाकामा झन कसैको निगरानी छैन । सामान कसरी र किन ल्याएको हो ? भनेर सोध्न छाडिएको छ । पश्चिम नवलपरासीमा महेशपुर मूल भन्सार रहेको छ । मूल भन्सार घोषणा गरिए पनि उक्त नाका व्यवस्थित हुन सकेको छैन । जसले गर्दा तस्करी मौलाएको स्थानीय व्यापारीको आरोेप छ ।

‘चुनावका बेला झन आँखा चिम्लिने गरिन्छ,’ महेशपुर बजारका एक व्यापारीले भने, ‘यहीं सुरक्षाकर्मी र भन्सार कर्मचारीको समेत मिलोमतोमा तस्करी गरिन्छ ।’ कपिलवस्तुमा कृष्णनगर मूल नाका रहेको छ । जिल्लाको पश्चिम क्षेत्रमा रहेकाले त्यहाँ व्यवसायिक करोबार गर्ने मात्र पुग्छन् । अरु बेला जिल्लाका अन्य नाकाबाट सामान ल्याउने गरिएको छ । दशगजामा कुनै अवरोध नभएकाले जहाँबाट मन लाग्यो, त्यहींबाट सामान ओसार्ने गरिएको छ ।

बाँकेको नेपालगन्जस्थित जमुनाह गाउँ हुँदै भन्सार छलेर ल्याइएका ६ थान सोफासेट र एउटा कुर्सी प्रहरीले नियन्त्रणमा लियो । साइकलमा ओसार्ने क्रममा ती सोफासेट बरामद भएका हुन् । ‘अघिल्लो बुधबार बिहान रेल स्टेसनको बाटो हुँदै ल्याउँदै थिए,’ जमुनाहस्थित चौकीका सहायक प्रहरी निरीक्षक मीनबहादुर विष्टले भने, ‘प्रहरी देखेपछि सोफा छाडेर चार जना भागे ।’

उक्त मार्ग भन्सार कार्यालयबाट ५ सय मिटर पूर्वमा रहेको छ । त्यसअघि भारतको लखिमपुर खिरीबाट भन्सार छलेर भित्र्याउने क्रममा २ हजार १ सय ५० किलो चिनी नेपालगन्ज वडा प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । यहाँका भन्सार अधिकृत ग्रामीण नाकाबाट तस्करी भइरहेको स्वीकार गरिरहेका छन् ।

‘तीन–चार महिना भयो भारतबाट जुत्ता आउन छाडेको छ,’ भन्सार अधिकृत नकुल शर्माले भने, ‘तर, बजारमा सबैतिर पाइन्छ ।’ विलासिताका वस्तु आयातमा रोक लगाउन अर्थ मन्त्रालयमार्फत दबाब बढिरहेको छ । यस्तो बेला मुख्य नाकामा भन्सार कार्यालयले कडाइ गरे पनि चोर नाका खुला छन् । बढ्दो शोधनान्तर घाटा र घट्दो विदेशी मुद्रा सञ्चितिका कारण राष्ट्र बैंकले विलासिताका वस्तु आयातमा प्रतीतपत्र (एलसी) नखोल्न बैंकलाई निर्देशन दिएलगत्तै सीमावर्ती क्षेत्रबाट तस्करी बढ्ने क्रम सुरु भएको भन्सार कर्मचारीको भनाइ छ ।

अर्थतन्त्र जोखिमयुक्त देखिएपछि विलासिताका सामग्री आयातमा रोक लगाउने प्रयासअन्तर्गत नेपालगन्ज भन्सारले प्रतीतपत्र भएको वस्तु मात्र भित्र्याउन दिएको छ । एलसी बनाउने क्रममा व्यापारीले सीमापारि रुपैडिहा बजारमा ल्याएर भण्डारण गरेका वस्तु मुख्य नाका हुँदै आयात गर्न नपाउने भएपछि चोरबाटोमार्फत भित्र्याउने क्रम बढेको हो ।

रोक लगाइएका वस्तु अहिले सीमापारि भारतीय बजारका गोदाममा राखेका छन् । नाकामै ल्याइसकेपछि मात्रै एलसी खोलेर आयात गर्दै आएका कतिपयले बैंकले एलसी खोल्न अस्वीकार गरेपछि चोरी बाटोबाट ढुवानी गर्न भन्सारका कर्मचारीसँग मिलेमतो गर्न थालेका छन् ।