May 16, 2022, Monday
२ जेष्ठ २०७९, सोमबार

फोहोरबाट ग्याँस

भैरहवा– दाङको घोराही उपमहानगरपालिकाले फोहोरबाट ग्याँस उत्पादन सुरु गरेको छ । यसरी उत्पादन भएको ग्याँस पाइप मार्फत सर्वसाधरणको भान्सामा पुर्याउने योजना उपमहानगरको छ । उपमहानगरपालिका र बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको सहयोग र उर्जा विकास कम्पनी प्रालिको प्राबिधिक सहयोगमा ग्याँस उद्योग सुरुवात गरिएको हो ।

Advertisement

अहिले घोराही–१६, करौतीडाँडामा रहेको ल्याण्डफिल साइटबाट सड्ने फोहोर प्रशोधन गरी ग्यांस उत्पादन भइरहेको छ । उपमहानगरका अनुसार २४ करोड ७६ हजार ७ सय ३८ रुपैयाँ खर्च गरेर ग्याँस प्लान्ट जडान गरिएको हो । उर्जा विकास कम्पनीका सल्लाहकार कृष्णप्रसाद पोखरेलका अनुसार २०७४ सालबाट यसको पक्रिया सुरु भएको थियो ।

ग्याँस उत्पादनको सम्भावना देखिएपछि २०७७ सालबाट उद्योग निर्माण सुरु गरिएको थियो । फोहोरलाई मोहरमा बदल्ने योजना अनुसार ग्याँस उद्योग सञ्चालन गरिएएको नगर प्रमुख नरुलाल चौधरीले बताए । गल्ने फोहोरबाट ग्याँस र मल उत्पादन गरिएको उनले बताए । ‘गल्ने र नगल्ने फोहोर छुट्टाछुट्टै व्यवस्थापन गरेर राखिदिन नगरबासीहरुलाई अनुरोध गरेका छौं,’ उनले भने, ‘गल्ने र नगल्ने फोहोरलाई पुनः प्रयोगमा ल्याएर फोहोर फालिदै आएको ल्याण्डफिल साइटमा फोहोरको मात्रा शून्यमा झार्ने योजना छ ।’

नगरमा उत्सर्जन भएका सडके खालका फोहोरबाट ग्यास उत्पादन गरिन्छ । ‘फोहोरलाई अवसर मानेर यसबाट ग्यांस उत्पादन सुरु गरेका हौं,’ उपमहानगर प्रमुख चौधरीले भने भने, ‘किसानले गोबर बिक्री गर्न सक्छन ।’ उनका अनुसार घोराहीका वडा नम्बर १० र १६ मा पाईपलाईन मार्फत पहिलो चरणमा ५ सय घरमा ग्याँस पुर्याइने छ । त्यसका लागि आवश्यक तयारी पूरा भएको उनले बताए ।

ग्याँस प्लान्ट २० बर्षपछि घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने सम्झौता भएको छ । उपमहानगरले फोहोरलाई मोहरमा बदल्ने अभियान चलाएर घरघरबाट नगल्ने फोहोरलाई खरिद गरी पुनः प्रयोगमा ल्याइरहेको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले बताए । प्लाष्टिक, गत्ता, कपडा लगाएतका फोहोर खरिद गरिरहेको र फोहोर किन्न ६ लाख रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिए ।

पानीको बोतल प्रतिकिलो १० रुपैयाँ, सुर्तीजन्य बस्तुका खोल २ रुपैयाँ, कपडाका टुक्रा ५ रुपैयाँ र गत्ता तथा कार्टुनलाई १० देखी २० रुपैयाँमा खरिद गर्ने गरेको उनले बताए । उनका अनुसार नगरमा दैनिक १० वटा गाडीले २५ टन फोहोर उठाउने गरेका छन् ।

फोहोरबाट मल र ग्याँस बनाउने काम भैरहेको र नगल्ने फोहोर किनेर प्रशोधनपछि पुनः प्रयोग गर्ने तयारी भैरहेको घोराही उपमहानगरपालिका सरसफाई व्यवस्थापन समिति संयोजक शक्तिराम डाँगीले बताए ।

फोहोर खरिद् गर्ने अभियानलाई प्रभावकारी बनाउन उपमहानगरपालिकाले सरसफाई स्वयसेवक नियुक्त गरेको छ । उनीहरुले फोहोर तौलने र किन्ने काम गर्छन् । दैनिक २ हजार घनमिटर ग्याँस उत्पादन गर्न थालिएको उनले जानकारी दिइन् । ग्याँस उत्पादन भैसकेपछि दैनिक ७ हजार ४ सय किलो प्रांगारीक मल समेत उत्पादन गर्ने लक्ष्य लिइएको उनले बताइन् ।