मुलुकको अर्थतन्त्र गम्भीर संकटमा : अध्यक्ष लिङ्देन
भैरहवा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला भ्रष्टाचार गर्दा काँग्रेस, एमाले र माओवादी पार्टी र तिनका शीर्ष नेताहरु एकै ठाउँ हुने गरेको आरोप लगाएका छन् । राप्रपा रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको जिल्लास्तरीय आमसभामा बोल्दै अध्यक्ष लिङ्देनले भने, ‘लामो समय काँग्रेस, एमालेले मुलुकलाई बन्धक बनाए, भएका उद्योग धन्दा पनि बेचेर खाए । तपाईं हामीलाई थाहा नै छ, बाहिर फरक पार्टी देखिए पनि ठूला भ्रष्टाचारमा एकै ठाउँ हुने गरेका छन् ।’
उनले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा पर्नु यी ठुला दलहरुकै कारण भएको बताए । ठूला दलले देशलाई कमजोर बनाउन, बैदेशिक हस्तक्षेप गराउन, विदेशीहरुसँग मागेर मात्र नेपालको राजनीति र सत्तामा टिक्न सकिन्छ भन्ने संकार विकास गराउन लागेको समेत उनले आरोप लगाए । ‘जसका कारण मुलुकको अर्थतन्त्र कमजोर भएको हो’, उनले भने, ‘यस्तै अवस्था रहे मुलुक श्रीलंका जस्तो नबन्ला भन्न सकिँदैन ।’
उनले बैंकमा पैसा नहुँदा लगानी खुम्चिएको बताए । ‘बैंकले पैसा छैन भन्छ, राष्ट्रिय ऋण बढेको बढ्यै छ । प्रत्येक नागरिकको टाउकोमा ७० हजार ऋण छ । सबै विकास निर्माणका काम रोकिएका छन् । भएका कामको पनि सरकारले भुक्तानी दिन सकेको छैन’, उनले भने, ‘आज मुलुक यो अवस्थामा आउनुमा को दोषी छ ? अब विचार गरौं ।’
उनले ३१–३२ वर्ष मुलुकमा शासन चलाएका दलहरुले नेपाली जनतालाई सपना र उद्देश्यबिहीन बाटोमा डोर्याउने काम गरेको जनाए । ‘हेर्नुस्, अदालत, अदालत जस्तो छैन । संसद, संसद जस्तो छैन । सरकार, सरकार जस्तो छैन’, उनले भने, ‘एउटा सिटामोल चाहियो भने अदालतले देउ भनेर आदेश दिनुपर्छ ।’ अध्यक्ष लिङ्देनले जयसिंह धामी भारतीय सुरक्षाकर्मीका कारण महाकाली नदीमा वेपत्ता हुँदा समेत क्षतिपूर्ति माग गर्न नसक्नु सरकारको निरीहता भएको बताए ।
अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि ठीक नभएको बताउँदै उनले आज शक्ति राष्ट्रहरुको रणनीतिक मुलुक नेपाल बनेको आरोप लगाए । ‘हामीले ३१–३२ वर्षदेखि केही राजनीतिक दलका सीमित नेताहरुलाई भोट दिँदै आयौं, उनीहरुको चक्रव्युँमा फस्यौ । त्यसको कारण आज देश असफल राष्ट्र हुँदै छ । अब हामीले स्वाभिमानी नेपाली भएर गम्भीर रुपमा निर्णय गर्नुपर्ने बेला आएको छ’, उनले भने ।
उनले एक वर्षभित्र तीन तहको निर्वाचन हुने र त्यसमा ठुला दललाई ठीक पार्नुपर्ने धारणा राखे । ‘बैशाखमा स्थानीय तह र आउने हिउँदमा प्रदेश र संघको निर्वाचन हुँदैछ, यही बेला हो हामीले ती दललाई ठीक पार्ने’, उनले भने । अब जनता सार्वभौम छ र आफ्नो विवेकले काम गर्छ, कुनै पार्टीको दाम्लोमा बाँधिएर बस्दैन भन्ने सन्देश आगामी निर्वाचनमा दिनुपर्ने उनले बताए ।
‘मुलुकलाई यस्तो बनाउने दलहरुलाई आउने दिनमा बाटो छेक्नुहोस्, ढुंगा हान्नुहोस्, ठीक समय आएको छ’, उनले भने, ‘आउने निर्वाचनमा यिनीहरुको बाटो खाली गरेर जनता जागे, बाटो खाली गरे, बाठो भए भन्ने गरेर काम गर्नुस् । अब हामीलाई पर्खने सुविधा छैन । हेर्ने सुविधा छैन ।’
उनले अब पनि तिनै पार्टीलाई हेर्ने, भोट दिने भुल गरेमा आफ्नो भविष्यमाथि नै भुल गरेको हुने बताए । ‘देशको भविष्य हाम्रो हातमा छ । त्यसैले म भन्छु्, नेता र पार्टीलाई मात्रै दोष दिएर हुँदैन जति नेता र पार्टी दोषी छन्, तिनलाई भोट दिने हातहरु प्नि दोषी छन्’, उनले भने, ‘त्यसैले मेरो आग्रह छ, एकपटक हामीलाई हेरौं, सबै नेपाली जनतालाई मेरो अपिल छ ।’
आमसभामा पार्टीका उपाध्यक्ष धु्रुवबहादुर प्रधान, प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रिय सदस्य रेखा थापा, ताहिर अली, पूर्वमन्त्री निरंजन थापा, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदय, जिल्ला अध्यक्ष सागरप्रताप राणालगायतले बोल्दै राप्रपालाई एकपटक मुलुकको नेतृत्व गर्ने अवसर दिन आग्रह गरेका थिए । आमसभामा विभिन्न पार्टी परित्याग गरी राप्रपा प्रवेश गर्नेलाई अध्यक्ष लिङ्देनले टिका लगाएर स्वागत गरेका थिए ।
प्रतिकृया दिनुहोस्