March 18, 2025, Tuesday
२०८१ चैत्र ५

प्रावधान सहज हुँदा सेजमा मागभन्दा बढी आवेदन

भैरहवा– रुपन्देहीको भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज)मा कानूनी प्रावधान सहज बनाएपछि उद्योग स्थापनाका लागि मागभन्दा बढी उद्योगीले आवेदन दिएका छन् । यसअघि सम्झौता गरेर पनि उद्योग स्थापना नगरेपछि सेज प्राधिकरणले केही उद्योगीसँगको सम्झौता रद्ध गरेको थियो । त्यसपछि उद्योग स्थापनाका लागि प्लट लिन पुनः आह्वान गरिएको थियो ।

४५ प्लटमा उद्योग सञ्चालनका लागि १५ फागुनदेखि प्रस्ताव आह्वान गरिएकोमा ५५ वटा प्लटका लागि आवेदन आएको सेज प्राधिकरणका कार्यकारी निर्देशक चण्डिका भट्टले जानकारी दिए । पब्लिक कुरासँग टेलिफोन कुराकानीमा भट्टले भने, ‘हामीले प्रस्ताव आह्वान गरेपछि धेरै उद्योगीले प्लकका लागि खुशीसाथ निवेदन दिनुभएको छ । प्रावधान सहज बनाएकाले पनि उद्योगीहरुको सेजप्रति आकर्षण बढेको हो ।’

Advertisement

उनले केही वर्षदेखि खाली रहेका सेजका प्लटका लागि प्राधिकरणले प्रस्ताव आह्वान गरेको र आँकलन भन्दा धेरैको निवेदन आएको जानकारी दिए । ५५ उद्योगले ७ अर्ब बराबरको लगानी र करिब २२ हजार जनालाई रोजगारी दिने प्रस्तावसहित आवेदन दिएका प्राधिकरणले बताएको छ । ‘हाल आवेदनमा परेका उद्योगले सेजमा उत्पादन गर्दा वार्षिक १० अर्बको हुने अनुमान छ । निवेदनमध्ये ४५ वटा उद्योगले मात्रै लगानी र निकासीको अवस्थालाई हेरेर अनुमति पाउनेछन्’, भट्टले भने ।

सेज प्राधिकरणले भाडादर, निर्यात सिलिङ लगायत विषयमा ऐन संशोधन गर्ने तयारी गरेको छ । यस्तै, भाडामा लिने व्यवसायीले पहिलो वर्ष भाडामा ५० प्रतिशत छुट पाउने भएपछि आकर्षण बढेको प्राधिकरणको दावी छ । यी प्रावधानका कारण ६८ वटा प्लटमध्ये खाली प्लटका लागि आवेदन माग गरेकोमा आह्वान भन्दा बढीले प्रस्ताव आवेदन दिएको भट्टले जनाए । ‘मलाई लाग्छ, यो अहिलेसम्मकै उत्साहजनक आवेदन हो,’ उनले भने । हाल सेजमा सात उद्योग सञ्चालनमा रहेको उनले जानकारी दिए ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले पहिलाका प्रावधान संशोधन हुने तयारी भएपछि सेजमा उद्योगीको आर्कषण बढ्नु स्वभाविक भएको बताए । ‘सेज राम्रोसँग चलाउनका लागि प्रावधान संशोधन जरुरी थियो’, उनले भने, ‘उद्योगीमैत्री प्रावधान भएको भए पहिला पनि आकर्षण बढ्ने थियो । ढिलो भए पनि राम्रो व्यवस्था लागू गर्न लागिएकोमा हामी खुशी छौं ।’

सेजमा सूर्य रंग हाउस प्रालिले १२ करोड लगानी प्रस्ताव गरेको छ । यस्तै, बिएण्डपी म्यानुफ्याक्चरिङले आवेदनमा १ अर्ब २५ करोड लगानी गर्ने प्रस्ताव गरेको छ । यसका अलावा स्टिल, ढुंगाका मूर्ति बनाउने स्टोन उद्योग, प्लाष्टिक उद्योगहरुले पनि प्रस्ताव दिएका छन् । निर्यातलाई बढाई व्यापार घाटा कम गर्ने उद्देश्यका साथ संचालनमा ल्याइएको सेज मुलुककै पहिलो हो ।

प्राधिकरणका अनुसार सेज परिसरमा हाल ब्रिलिएन्ट एलइडी, शक्ति मिनरल, विस्तार कम्पनी, पंचकन्या उद्योग, जय बुद्ध र एस पोलिमरले उत्पादन गरिरहेका छन् । सुरुवाती चरणमा उत्पादनको ७५ प्रतिशत निर्यात गर्नुपर्ने प्रावधान रहेको थियो भने अहिले घटाएर ६० प्रतिशत राखिएको छ । रुपन्देहीको रोहिणी गाउपलिका–१ वगहामा अवस्थित सेजमा ७ वटा उद्योग सञ्चालनमा छन्, केही उद्योगले विगत चार वर्षदेखि निर्यात पनि गर्दै आएका छन् ।

विशेष आर्थिक क्षेत्र भैरहवाको कम्पयुटर अपरेटर निरा भट्टराईका अनुसार सबस्टेशन बनाउन टेण्डर आह्वान, एकद्वार अन्तर्गत भन्सारको काम प्रक्रियामा छ, भने परिसरमा हाल बैंक, बिमा, हुलाक लगायतका सेवा कार्यालय छन् । सेजमा विशेषगरी वातावरणलाई असर नगर्ने खाद्य उद्योग तथा कृषि जन्य उद्योग, हर्वल प्रोडक्ट, छालाका बस्तु, तयारी पोशाक, गलैचा तथा उनी समान, पश्मिना तथा रेशम, हाते कागजका बस्तु गरि १७ किसिमका उद्योगहरु रहने व्यवस्था छ । ५२ बिगाहामा फैलिएको सेजमा ६८ वटा प्लट छन् ।