नयाँ वर्षको पूर्वसन्ध्यामा भैरहवामा सडक खाना महोत्सव हुँदै


भैरहवा– नयाँ वर्ष–२०७९ को पूर्वसन्ध्यामा भैरहवामा ‘सिद्धार्थ सडक खाना महोत्सव’ हुने भएको छ । ‘सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने नारासहित होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीको आयोजनामा चैत्र ३० गते महोत्सव हुन लागेको हो ।
आयोजकले आइतबार भैरहवामा पत्रकार सम्मेलन गरी कोरोना महामारीले थला परेको पर्यटन क्षेत्रलाई उकास्न टेवा पुर्याउने उद्देश्यले खाना महोत्सव आयोजना गरिएको बताएका छन् । संगठनका अध्यक्ष पिताम्बर न्यौपानेले भने, ‘लामो समय महामारीले पर्यटन क्षेत्र धरासायी भयो, नयाँ वर्षको अवसरमा गरिने महोत्सवले केही राहत मिल्ने अपेक्षा गरेका छौं ।’
भैरहवास्थित विद्रोहीचोक–मिलनचोक क्षेत्रमा आयोजना हुने महोत्सवमा आन्तरिक तथा भारतीय पर्यटकलाई केन्द्रमा राखिएको छ । खासगरी नयाँ वर्ष मनाउन भैरहवाका स्थानीय अन्यत्र जाने गर्छन् । ‘यसपल्ट हामीले बाहिरबाट पर्यटक भैरहवामा ल्याउँ, भैरहवाका बाहिर नजाऔं भन्ने मान्यतालाई स्थापित गर्ने प्रयास गरेका छौं’, न्यौपानेले भने ।
महोत्सवमा स्थानीय कला संस्कृति, स्थानीय सांस्कृतिक नृत्य, विद्यालय नृत्य, स्थानीय तथा राष्ट्रिय कलाकारबाट प्रस्तुति तथा डिजेसहितका कार्यक्रम हुने जनाइएको छ । यस्तै, सनादेखि तारे होटलसम्मका खानाका स्वाद लिन पाइने संगठनका महासचिव राजेश महोत्राले जानकारी दिए । ‘थारु, नेपाली, चाइजिन, इन्डियन, थाईलगायत सबै किसिमका खाना सडकमै पाइनेछ’, उनले भने ।
एक दिन भए पनि आतरिक र बाह्य पर्यटकलाई भैरहवामै रात बिताउने वातावरणको सिर्जना गर्ने आयोजकले जनाएका छन् । अधिक मात्रामा भारतीय पर्यटक भित्र्याउन प्रचारप्रसारका कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको आयोजकले बताए । ‘यस्ता किसिमका महोत्सवले स्थानीय उत्पादन, बजार प्रबद्र्धन मात्रै होइन्, समग्र भैरहवा क्षेत्रलाई चलायमान बनाउन सहयोग पुग्छ’, अध्यक्ष न्यौपानेले भने ।
महोत्सवले यस क्षेत्रको पहिचान तथा सांस्कृतिक परम्पराको विकास गर्ने र समग्रमा आर्थिक तथा पर्यटन विकासमा सहयोग पुर्याउने न्यौपानेले बताए । ‘विगत ३ वर्षदेखि थला परेको पर्यटन व्यवसायमा महोत्सवले एक किसिमको रौनकता ल्याउने छ’, उनले भने । यसपल्ट महोत्सव साँझ ६ बजेदेखि राति ३ बजेसम्म आयोजना गर्न लागिएको हो ।
उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले महोत्सवले पर्यटन विकासमा सहयोग पुग्ने विश्वास गरे । ‘हामीले भैरहवामै आन्तरिक र भारतीय पर्यटकलाई अधिक रमाउने वातावरण सिर्जना गर्ने प्रयास गरेका छौं’, उनले भने । ज्ञवालीले गुणस्तरीय सामग्री विक्रीवितरणका लागि अनुगमन गरिने र पर्यटकलाई स्वच्छ, सफा र स्वादिष्ट परिकार पस्कने जनाए । उनले सडक खाना महोत्सव पर्यटन र व्यवसाय माथि उकास्ने कोसेढुंगा रहेको बताए ।
लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानाले महोत्सवमा विक्रीवितरण हुने साममग्रीको गुणस्तर र मूल्यमा ध्यान दिनुपर्ने बताए । उनले पर्यटन विकासमा यस्ता कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे । मदिरा व्यवसायी संघ, भैरहवाका अध्यक्ष केशवराज ज्ञवालीले महोत्सवले रुपन्देहीको आर्थिक विकासमा टेवा पुर्याउने भएकाले यसलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको जनाए ।
महोत्सवमा विभिन्न खानाका परिकारसहितका १ सय वटा स्टल रहने छन् । यस्तै, स्वदेशी तथा भारतयि र तेस्रो मुलुकका गरी ५० हजार दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको संगठनका महासचिव महोत्राले जानकारी दिए । महोत्सवमा १ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको उनले जानकारी दिए ।
कार्यक्रमको सह–आयोजकमा सिद्धार्थनगर नगर कार्यपालिकाको कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय, प्रवद्र्धकमा पर्यटन ग्रामीण तथा शहरी विकास मन्त्रालय, पर्यटन डिभिजन कार्यालय लुम्बिनी प्रदेश, संरक्षक संस्थामा उद्योग व्यापार संगठन, रुपन्देही र संस्थागत सल्लाहकार सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही तथा सहयोगी संस्थामा नाटा लुम्बिनी प्रदेश, सिद्धार्थ होटल एशोसियसन (सान), मदिरा व्यवसायी संघ, भैरहवा र लुम्बिनी होटल संघ, नेपाल (लान) छन् ।
प्रतिकृया दिनुहोस्