February 16, 2025, Sunday
२०८१ फाल्गुन ४

प्रदेश सरकारले खर्चमा मितव्ययिता अपनाएको छ : मुख्यमन्त्री केसी

बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रालयहरु थप गरे पनि खर्चमा मितव्ययिता अपनाइएको दाबी गरेका छन् । यसअघिका ७ वटा मन्त्रालयभन्दा हाल रहेका १३ मन्त्रालयबाट चालु खर्चमा कमी आएको दाबी गर्दै उनले मन्त्रालयको संख्या थप गरे पनि खर्च कम गरेको र सेबासुविधामा जनतालाई सहज बनाएको जिकिर गरे ।

हाटबजार व्यवसायी संघ रुपन्देहीको १६ औं वार्षिक साधारणसभा तथा ९ औं अधिवेशन आइतबार बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री केसीले विगतको सरकारलेभन्दा आफूहरुले राम्रो र जनपेक्षित काम गर्नसकेको जनाए ।

Advertisement

उनले हाटबजार व्यवस्थापनमा प्रदेश सरकारकोभन्दा बढी भूमिका स्थानीय सकारको हुने भन्दै उनीहरुलाई जिम्मेवार हुन आग्रह गरे । बजार व्यवस्थापन तथा सञ्चालनका लागि स्थानीय सकारले नै व्यवस्थित योजना निर्माण गरी अघि बढ्नुपर्ने उनको भनाई छ । आवश्यक पूर्वाधार तथा संरचना निर्माणका लागि प्रदेश सरकारले बजेटको व्यवस्था गर्ने भए पनि साना व्यवसायी तथा हाटबजार व्यवस्थापनको सम्पूर्ण जिम्मा स्थानीय सकारले लिनु पर्ने उनले जनाए ।

हाटबजारमा समाजका सबै नागरिकको पहुँच हुने भएकाले यसलाई व्यवस्थित रुपमा सञ्चालन गनुपर्ने उनले उल्लेख गरे । हरेक क्षेत्रमा श्रम गर्ने श्रमिकले श्रमको उचित मूल्य पाउनु पर्ने बताउँदै उनले हाटबजारमा सानो व्यवसाय गरि दैनिकी चलाइरहेका साना व्यवसायीहरुको हितको लागि प्रदेश सरकारले योजना बनाएर काम गरिरहेको बताए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज विश्वकर्माले जिल्लाका १६ वटै पालिकामा सञ्चालित हाटबजारलाई व्यवस्थित गर्ने काम भइरहेको बताऐ । नेकपा एमाले जिल्ला सचिवालय सदस्य बाबुराम पन्थी, नेपाली कांग्रेस बुटवलका नगर सभापति खेलराज पाण्डे, उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसी, हाटबजार व्यवसायी संघका पूर्व अध्यक्ष खिमलाल ज्ञवाली, प्रकाश खनाल लगायतले बोल्दै बजारलाई व्यवस्थित गराउन जोड दिए ।