कोहलपुरमा नेपालकै नमूना बसपार्क निर्माण धमाधम


नेपालगंज– बाँकेको कोहलपुरमा मुलुककै नमूना बसपार्क निर्माणको काम अहिले धमाधम भइरहेको छ । २७ करोड ८४ लाख लागतमा वि.सं. २०७७ फागुन २४ गते बसपार्क निर्माणका लागि सम्झौता भएको थियो ।
बसपार्कको खड्का–दया सगुन निर्माण सेवा कन्स्ट्रक्सनले दुई वषभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । अहिलेसम्म बसपार्क निर्माणको काम ४५ प्रतिशत सम्पन्न भएको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले बताए ।
‘हाम्रो अपेक्षाअनुसार बसपार्क निर्माणको काम भइरहेको छ’, उनले भने, ‘कोरोना महामारीबीच पनि कामको प्रगति सन्तोषजनक हुँदा समयमै निर्माण सकिन्छ भन्ने पूर्ण विश्वास छ ।’
बसपार्क निर्माणका लागि कूल बजेटको ६० प्रतिशत नगर विकास कोषबाट र ४० प्रतिशत कोहलपुर नगरपालिबाट विनियोजन गरिएको रावतले जानकारी दिए । बसपार्क पाँच बिघा १६ कठ्ठामा जमिनमा निर्माण भइरहेको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोहलपुर कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारका रूपमा चिनिन्छ । कोहलपुर बसपार्कबाट राष्ट्रियदेखि अन्तर्राष्ट्रि«य बससमेत सञ्चालन हुने नगर प्रमुख रावतको भनाइ छ । ‘अहिले सञ्चालनमा रहेको बसपार्क साँघुरो छ’, उनले भने, ‘यसले गर्दा चारैतिरका सवारी जम्मा हुँदा पार्किङमा निकै समस्या भएको थियो । अनि हामीले योजना बनाएर बसपार्क निर्माण सुरु गरेका हौं ।’
नगर प्रमुख रावतकाअनुसार कोहलपुर चौराह नजिक उक्त नमूना बसपार्क निर्माण थालिएको हो । बसपार्कमा निर्माण हुने सटर, सपिङ कम्प्लेक्स, बसपार्क पार्किङलगायतका संरचनाबाट कोहलपुर नगरपालिकाको आन्तरिक आयस्रोत बढ्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जनाए ।
‘बसपार्क निर्माण सकिए पछि पार्किङ क्षेत्र मात्रै बढ्दैन, यसले नगरको आयस्रोतसमेत बलियो बनाउँछ’, ढकालले भने, ‘सबै कुरा व्यवस्थित हुने भएकाले पनि हामीले यो योजना कार्यान्वयनमा ल्याएका हौं ।’ बसपार्क सञ्चालनमा आएपछि यात्रुलाई सहज हुने र कोहलपुरको विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको उनले जनाए ।
यहाँ पाँच तलाको सपिङ कम्प्लेक्ससहितको निर्माणाधीन बसपार्क नेपालकै नमूना बसपार्क हुने ढकालले जनाए । ‘यस्तो किसिमको बसपार्क अन्य ठाउँमा छ जस्तो मलाई लाग्दैन’, उनले भने, ‘यसलाई नगरपालिकाले गौरवको योजनाका रूपमा अगाडि सारेको छ । सोहीअनुसार काम भइरहेको छ ।’
बसपार्क बालमैत्री, सूचनामैत्री, प्रविधिमैत्री, खानेपानी, ढल निकास, भूमिगत विद्युतीकरण, रिफ्रेसमेन्ट सेन्टर, सपिङ कम्प्लेक्ससहितको हुने ढकालले जानकारी दिए । ‘यी विशेषताका कारण हामीले निर्माणाधीन बसपार्कलाई नेपालकै नमूना भनेका छौं’, उनले भने ।








प्रतिकृया दिनुहोस्