January 20, 2022, Thursday
६ माघ २०७८, बिहीबार

कवाडी कारोबारीलाई ४५ करोडको अभियोग !

भैरहवा– मूल्य अभिबृद्धिकर तथा आयकर छली गरी राजस्व चुहावट गरेको आरोपमा राजस्व अनुसन्धान कार्यालय, बुटवलले रुपन्देहीमा संचालित कशौधन कवाड सप्लायर्स (स्थायी लेखा नं. (३०५१४३०२४) का संचालक प्रमोदकुमार गुप्ता र गोविन्दकुमार कसौधनविरुद्ध करिब ४५ करोड रुपैयाँ बराबरको विगो र सजाय माग दावी गरी उच्च अदालत तुल्सीपुर बुटवलमा मुद्दा दायर गरेको छ ।

Advertisement

आइतबार विज्ञप्ती जारी गर्दै राजस्वले रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६ का ३२ वर्षीया गुप्ता र सहयोगी कसौधनविरुद्ध मुद्दा दायर गरेको हो । राजस्वले उनीहरुविरुद्ध २२ करोड ३६लाख ९३ हजार ४७९ रुपैयाँ विगो र २२ करोड ३६ लाख ९३ हजार ४७९ रुपैयाँ नै सजाय माग गरेको छ । गुप्ता र कसौधनविरुद्ध कुल ४४ करोड ७३ लाख ८५ हजार ९५८ रुपैयाँ सजाय माग दावी गरिएको छ । उनीहरुलाई तीन वर्ष कैद सजाय पनि माग दावी छ ।

राजस्वकाअनुसार उक्त फर्मले राजस्व चुहावट गर्ने मनसायले अन्य फर्मको नामबाट सामान खरिद गरी सामान विभिन्न ब्यक्तिहरुलाई विक्री गरी लेखांकन नगरी मूल्य अभिबृद्धिकर तथा आयकर छली गरी राजस्व चुहावट गरेको राजस्व अनुसन्धान कार्यालयको ठहर छ ।

राजस्व अनुसन्धान (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन २०५२ को दफा ३ ले निषेधित सोही ऐनको दफा ४ (क), (ख) (ज) र (झ) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकाले सोही ऐनको दफा २(छ१) बमोजिक हुन आउने मूल्य अभिबृद्धिकर ६ करोड ३१ लख ४८ हजार २६६ रुपैयाँ र आयकरतर्फ १६ करोड ५ लाख ४५ हजार २१३ गरी २२ करोड ३६ लाख ९३ हजार ४७९ रुपैयाँ माग दवी गरिएको छ ।

यस्तै, राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन, २०५२ को दफा २३(१) बमोजिम उनीहरुबाट विगोवापत उक्त रकम र सोही ऐनको दफा २३(१) बमोजिम कायम भएको विगोको शतप्रतिशत जरिवाना तथा दफा २३(१) (ग) बमोजिक ३ वर्षसम्मको कैद सजाय माग दावी गरी अभियोग पत्र दायर गरिएको हो ।