August 11, 2022, Thursday
२६ श्रावण २०७९, बिहीबार

सैनामैनामा सुकुम्बासीका लागि बनाएको नमूना बस्ती बेकामे

भैरहवा– सुकुम्बासीका नाममा मुलुकभर सरकारी जग्गा अतिक्रमण भइरहेको छ । तर, रुपन्देहीको सैनामैना नगरपालिकाले सुकुम्बासीका लागि बनाएको नमूना बस्ती बेकामे बनेको छ ।

Advertisement

यहाँ १० वटा घर तयारी अवस्थामा छन् । दुई वर्ष अघि पाँचवटा तथा गएको वर्ष अर्का पाँचवटा घरको निर्माण कार्य सम्पन्न भएको हो । तर, यो बीचमा बस्तीमा बस्न कोही आएनन् । समाजदेखि टाडा र नदीको जोखिमले बस्न अरुचि देखाएका हुन् ।

दुईवटा कोठा, भान्सा, शौचालय र स्नान कोठाको व्यवस्था घरमा छ । एउटा घर बनाउन साढे १२ लाख रुपैयाँ खर्च भएको छ । बगैँचा, खेल मैदानसहित व्यवस्थित नमूना बस्ती भएकाले बस्नलाई अनुकुल रहेको सैनामैना नगरपालिकाका इञ्जिनियर अरुण खनालले बताए ।

निर्माण सम्पन्न भएको दुई वर्ष हुन थाल्दा समेत बस्तीमा बस्न कोही आएका छैनन् । संरक्षणको अभावले घरहरु जीर्ण बनिरहेका छन् । भवन निर्माण गर्दा कमसल सामाग्री प्रयोग गरेको र गुणस्तरमा बेवास्था गरेको स्थानीयको आरोप छ । संरक्षणको अभावले भवन जीर्ण तथा भौतिक सामाग्रीमा क्षती पुगेको स्थानीय भूमिलाल सापकोटाले बताए । बस्तीमा मान्छे राख्न अब पुनर्निर्माण नगरि राख्न मिल्दैन ।

वि.सं. २०७५ सालदेखि नगरपालिकाले सकुम्बासीका लागि भनेर नमूना बस्ती निर्माण थालेको थियो । नगरपालिकाले बिस्तार गरिरहेको चक्रपथ निर्माण गर्दा पूर्ण रुपमा बिस्थापित हुनेलाई नमूना बस्तीमा राख्ने भनियो । तर, कोही बिस्थापित भएनन् । नमूना बस्ती व्यवस्थापन तथा परिचालन कार्यविधि, २०७८ बनाएर बस्ती बसाल्ने तयारी नगरपालिकाले गरेको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।

कार्यविधि अनुसार बस्ने मानिस थपिँदै गए आवश्यकताका आधारमा घरहरु थप्दै लाने उनले बताए । बस्ती बनाउन अहिलेसम्म एक करोड ८६ लाख १६ हजार रकम खर्च भएको छ । अझै खेल मैदान, तटबन्ध, बस्तीलाई पर्खालले घेर्ने करिब एक करोड लागतको काम बाँकी छ । समाजदेखि टाडा र नदीमा आउन सक्ने बाढीको जोखिमले बस्तीमा आउन मानेका छैनन् । व्यवस्थित तटबन्धले जोखिम टरेको नगरपालिकाको दाबी छ ।