December 3, 2021, Friday
१७ मंसिर २०७८, शुक्रबार

बजेट खर्चमा लुम्बिनी सरकार कमजोर

बुटवल– लुम्बिनी प्रदेश सरकार बजेट खर्च गर्नमा निकै कमजोर देखिएको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिक सकिँदासम्म प्रदेश सरकारले करिब तीन प्रतिशत मात्रै विकास बजेट खर्च गरेको छ । यसले, चालु आवमा ५० प्रतिशत पनि खर्च नहुने सम्भावनालाई बलियो बनाएको छ ।

Advertisement

सरकार फेरिए पछि बजेट खर्च झन कमजोर भएको विश्लेषक बताउँछन् । चालु आर्थिक वर्ष २०७८–७९ को कात्तिक मसान्तसम्म प्रदेश सरकारको विकास बजेटको खर्च प्रगति निराशाजनक हुँदा विकास निर्माण नै न्यून भएको प्रष्ट हुन्छ ।

प्रदेश लेखा नियन्त्रण कार्यालय बुटवलबाट प्राप्त विवरणअनुसार सरकारको कुल विकास बजेट २२ अर्ब ४७ करोड १५ लाख ९४ हजारमध्ये ६३ करोड ५७ लाख तीनहजार ५०३ रुपैयाँ मात्र खर्च भएको छ । पहिलो चौमासिकमा बजे खर्च गर्न नसकेपछि सरकारको आलोचना सुरु भएको छ ।

सरकारले चौमासिकमा गरेको यो कुल विकास बजेटको खर्च दुई दशमलव ८३ प्रतिशत मात्रै हो । समग्र बजेटको खर्च प्रगति भने ७ दशमलव ६१ प्रतिशत छ । कुल बजेट ४० अर्ब ९५ करोड ९७ लाखमध्ये दुई अर्ब ८७ करोड एक लाख ४६ हजार २३० रुपैयाँ खर्च भएको छ । चार महिनामा सरकारको चालु खर्च भने बढी छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले दुई करोड २८ लाख बजेटमध्ये २४ लाख ५४ हजार २४० रुपैयाँ खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले दुई करोड १५ लाख २० हजार पुँजीगत बजेटमध्ये चार लाख सात हजार ६०१ रुपैयाँ मात्र खर्च गरेको छ । चौमासिकमा सबैभन्दा धेरै खर्च मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गरेको छ भने कानुन, बालबालिका, महिला तथा ज्येष्ठ नागरिक मन्त्रालयले विकास बजेट खर्च नै गर्न सकेको छैन ।

अन्य मन्त्रालयको विकास बजेटको खर्च प्रगति पनि निराशाजनक छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले दुई दशमलव १४, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दुई दशमलव ३५ प्रतिशत मात्र विकास बजेट खर्च गरेका छन् । यस्तै, उद्योग, वन तथा वातावरण मन्त्रालयले एक दशमलव ७४, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भने नौ दशमलव ६३ प्रतिशत विकास बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयका प्रमुख दीपक ज्ञवालीले बताए ।

उनका अनुसार शिक्षा तथा सामाजिक विकास मन्त्रालयले करिव छ प्रतिशत विकास बजेट खर्च गरेको छ । लुम्बिनी सरकारले चालु आर्थिक वर्षका लागि चालु खर्चतर्फ १८ अर्ब ४८ करोड ८१ लाख छ हजार बजेट विनियोजन गरेको थियो । जसमा चालुतर्फ दुई अर्ब २३ करोड ४४ लाख ४२ हजार ७२६ रुपैयाँ खर्च भएको छ ।

प्रदेश सरकारका प्रवक्तासमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा खर्च प्रगति सन्तोषजनक नभएको स्वीकारे । ‘सरकार परिवर्तन, बजेट प्रतिस्थापन आदि कारणले सोंचे जति काम गर्न नसकिएको हो’, उनले भने, ‘आगामी दिनमा बजेट खर्च राम्रो गर्छौं, वर्खा जस्ता कारण पनि खर्च केही कम देखिएको हो ।’