December 3, 2021, Friday
१७ मंसिर २०७८, शुक्रबार

नवलपरासीका चिनी उद्योगलाई उखु अभाव

भैरहवा– चिनी उद्योगलाई उखु अभाव हुन थालेको छ । पश्चिम नवलपरासीमा संचालित उद्योगले उखृ नपाएर सास्तै खेपेका छन् । जिल्लामा रहेका इन्दिरा, बागमती र लुम्बिनी चिनी उद्योग मध्ये लुम्बिनी चिनी उद्योग विगत २ वर्ष देखि बन्द छ । बाँकी दुई वटा उद्योगले पनि अब आफ्नो क्षमता अनुसार उखु क्रसिङ्ग गर्न नपाउने भएका छन् ।

Advertisement

समयमा भुक्तानी नपाउने समस्याले किसान बैकल्पिक खेतीतर्फ आकर्षित भएपछि उद्योगलाई उखु अभाव भएको हो । ‘उद्योगमा भन्दा भेली उद्योगलाई बेच्दा केही रकम कम भए पनि उधारो खेप्नु पर्दैन’, प्रतापपुरका किसान रोहित गुप्ताले भने, ‘चिनी उद्योगले तत्कालै रकम नदिने र मूल्य पनि नबढाउने हो भने हामीले उखु दिदैनौ ।’

किसानले उत्पादन गरेका उखु पनि स्थानीयले भेली उद्योगमा प्रयोग गरेपछि चिनी उद्योगलाई उखु अभाव भएको छ । ‘चिनी उद्योगले समयमा नै पैसा दिदैनन् । हामीले उत्पादन गरेको उखु भेली उद्योगले तत्काल रकम दिन्छन्’, किसान महेश यादवले भने ।

उखु उत्पादन घट्दै गएपछि जिल्लाको बागमती चिनी उद्योगले किसानलाई उन्नत जातको बीउ र प्राविधिक सहयोग निःशुल्करुपमा उपलब्ध गराउन थालेको छ । उद्योगले यसबर्ष किसानहरुलाई उन्नत जातको बीउ, किटनाशक औषधि र खेत जोत्नको लागि कृषि सामाग्री समेत उपलब्ध गराउने बागमती चिनी उद्योगका उखु बिभाग शाखाका प्रमुख होमकान्त लम्सालले बताए ।

‘उखुको उत्पादन वर्षेनी घट्दो छ । त्यसैले हामीले किसानलाई थोरै क्षेत्रमा धेरै उत्पादन हुने उन्नत जातको बीउ र अन्य प्राविधिक सहयोग गर्ने योजना ल्याएका छौं’, उनले भने, ‘उत्पादन नबढाउने हो भने जिल्लाका चिनी उद्योग नै संकटमा पर्ने निश्चित छ । त्यसैले सबैले यस तर्फ ध्यान दिन आवश्यक छ ।’

जिल्लामा ४० लाख क्विन्टल उखु आवश्यक छ । तर अहिले मुस्किलले जिल्लामा १० लाख क्विन्टल मात्र उत्पादन हुने गरेको छ । जसको कारण चिनीको उत्पादन घट्ने र संचालनमा रहेका उद्योग समेत संकटमा आउने सम्भावना छ ।

सामान्य किसानले लगाउने परम्परागत उखुको बीउबाट प्रतिकठ्ठा १५ देखि २० क्विन्टल उत्पादन हुने गर्दछ । तर उन्नत जातको कोजा—८५ जातको बीउंले ४५ देखि ५० क्विन्टल उखु उत्पादन हुने उखु उत्पादक किसान समिति नवलपरासीका अध्यक्ष उमेश यादबले जनाए ।

उधारोमा उखु बिक्री गर्नुपर्ने समस्या बढेपछि किसानहरु अहिले केरा खेती र अन्य उत्पादनतर्फ आकर्षित छन् । जसको कारण उखुको उत्पादन घट्दो छ । १० वर्ष अगाडिसम्म ४० लाख क्विन्टल उखु उत्पादन हुने गरेकोमा अहिले मुस्किलले १० लाख क्विन्टल मात्र उत्पादन हुने गरेको छ ।

जिल्लाका उखु किसानले अझै पनि पाँच वर्ष पहिलेको बक्यौता रकम पाउन बाँकी रहेको छ । इन्दिरा सुगर मिलको १ करोड २५ लाख रुपैयाँ किसानले पाउन बाँकी रहेको छ ।