March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

प्रदेशसभा भवन निर्माणको काम रातदिन

भैरहवा– लुम्बिनी प्रदेशेको राजधानी दाङ देउखुरी क्षेत्रमा रातदित प्रदेशसभा भवन निर्माण भइरहेको छ । रातिमा पनि अबेरसम्म काम भइरहेको छ । गएराति बैठक सञ्चालन हुने स्थानको भुइँ ढलान भइरहेको थियो ।

Advertisement

प्रदेशसभा भवन निर्माणमा ढिलाइ भएप्रति मुख्यमन्त्री कुलप्रसाद केसीले चासो देखाएपछि रातदिन काम भइरहेको छ । हरेक दिन दिउँसो एक सय ५० जना र राति करिब ७० जना श्रमिक प्रदेशसभा भवन निर्माणमा खटिँदै आएका छन्। निरन्तरको कामले प्रदेशसभा भवनको आधा काम भइसकेको छ।

Advertisement

करिब महिना दिनअघि लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले सुस्त रहेको प्रदेश सभाभवन निर्माणलाई गति दिन निर्देशन दिएका थिए। त्यसपछि प्रदेश सभा भवनको काम अघि बढाउन निर्माण व्यवसायी र प्रदेश पूर्वाधार विकास प्राधिकरणलाई दबाब परेको थियो ।

अहिले रात–दिन दुई सिफ्टमा काम हुन थालेको २२ दिन भइसकेको छ। यो अवधिमा प्रदेशसभा भवन निर्माणले लय पकडेको छ। हिउँदे अधिवेशन आह्वान गर्ने योजनाका साथ प्रदेशसभा भवन निर्माण मंसिरभित्र सम्पन्न गर्ने लक्ष्य छ।

मंसिर अन्तिम साता निर्माण सकेर सरकारलाई हस्तान्तरण गरिने प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेले जानकारी दिए । ‘हामीले अहिले कमलाई द्रूत गराएका छौं’, उनले भने, ‘मंसिरमा सकेर यही बैठक बस्नेछ ।’

लुम्बिनी प्रदेश सरकारले हिउँदे अधिवेशन स्थायी राजधानी देउखुरीमा आयोजना गर्ने तयारी गरेको छ। जसले गर्दा प्रदेश सभा भवन निर्माणमा यसअघि भइरहेको ढिलाइले बैठक आयोजना गर्ने कार्य प्रभावित हुने भएपछि प्रदेश सभा भवन निर्माण सम्पन्न गर्न सरकारलाई दबाब परेको थियो। यसअघि अलपत्रजस्तै रहेको प्रदेश सभा भवन निर्माणले गति लिएपछि राजधानी बासी उत्साहित भएको राप्ती उद्योग वाणिज्य संघ भालुबाङका पूर्वअध्यक्ष जगतप्रसाद पोखरेलले जनाए ।

‘त्यही एक महिनाअघि यहाँ आउँदा न मजदुर देखिन्थे। न सामग्री देखिन्थ्यो। तर, अहिले दिनरात काम भएको देख्दा खुसी छौँ’, अध्यक्ष पोखरेलले भने, ‘राजधानी कार्यान्वयन ढिला हुन्छ कि, पछि धकेलिन्छ कि भन्ने लागेको थियो। अहिलेको स्पिडअनुसार काम भयो भने छिट्टै बैठक सञ्चालन हुने आशा छ।’

पाँच करोड २१ लाखको लागतमा एमएस ड्राइगन बस्नेत जेभीले निर्माण जारी राखेको छ। प्रदेश सभा भवनको केही डिजाइन फेरेर थप आकर्षक बनाउन थालिएको छ। प्रदेशभित्र बसोवास गर्ने सबैको नागरिकको अपनत्व हुनेगरी आकर्षक बनाइने आर्किटेक्ट इन्जिनियर वासु पौडेलले बताए।