December 7, 2021, Tuesday
२१ मंसिर २०७८, मंगलवार

आईसीपी निर्माण कछुवा गतिमा

बाँके– आयात–निर्यात व्यवस्थित तुल्याउन बाँकेको नेपालगन्जस्थित सीमामा निर्माण भइरहेको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) तोकिएको समयमा पूरा हुनेमा शंका पैदा भएको छ । अहिले यसको निर्माण कछुवा गतिमा छ ।

Advertisement

भारतीय सहयोगमा यसको निर्माण भइरहेको छ । २ अर्ब ३५ करोड रुपैयाँ लगानीमा यहाँ करिब १० महिनादेखि यसको निर्माण भइरहेको छ । तर, कार्य प्रगति उल्लेख्य छैन । अहिलेसम्म १५ प्रतिशतमात्र काम भएको छ । आयोजनाका अनुसार नेपालतर्फ जग्गा अधिग्रहणको काम सकिएको छ ।

वर्षौदेखि चर्चा चलेपनि ०७७ फागुनमा निर्माण सुरु भएको थियो । आगामी ६ महिनाभित्र यसको निर्माण पूरा गर्ने सम्झौता छ । यसको निर्माणका लागि सन २००५ मा नेपाल—भारतबीच सम्झौैता भएको थियो ।

भारत सरकारले आईसीपी निर्माण गरेर नेपाल सरकारलाई हस्तान्त्रण गर्ने कार्यान्वयन स्वरुप भैरहवा, बीरगञ्ज, बीराटनगर र नेपालगन्ज गरि चार ठाउँमा सम्झौता भएको थियो । जसमध्ये बिराटनगर र बीरगन्जमा निर्माण भएर चालु अवस्थामा रहेको छ ।

नेपालगन्जमा गत वर्ष असोज महिनामा सम्झौता भएर अहिले निर्माणधिन अवस्थामा रहेको छ । नेपाल सरकार शहरी बिकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई नेपालगन्ज कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर होमनाथ भुसालले कोभिड–१९ संक्रमणका कारण प्रभावित भएको आयोजना बर्खामा पानी जमेर झन बढी प्रभावित बनेको बताए ।

‘सुरुवात अवस्थामा उनीहरुलाई लामबन्दी गर्न २—३ महिना लाग्यो । त्यस पछि निर्माण कार्य रफ्तारमै सुरु भए पनि कोभिड–१९ संक्रमणको दोस्रो भेरियन्ट कारण कार्य ठप्प भयो । कोभिड १९ संक्रमण कम भए पनि फेरी बर्खाले निर्माण कार्य प्रभावित पार्यो’, उनले भने, ‘निर्माण गर्ने ठाउँमा पानी जमेको र थप काम गर्न कठिन भयो ।’