April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

वर्षौंदेखि सिंचाई योजना अलपत्र

भैरहवा– रोल्पाको लुंग्री खोलाबाट पानी ल्याएर सुक्खा जमिन सिंचाई गर्ने सारीका बासिन्दाको सपना अधुरो छ । १२ किलोमिटर लामो यो आयोजना अहिले जिर्ण बनिरहेको छ । तीन दशक अघि सुरु भएको लुंग्रिमाडी सिँचाइ आयोजना अलपत्र भएको हो । यसको काम कहिले पूरा हुन्छ भन्ने ठेगान नै छैन । प्यूठानमा ०४४ सालमा आयोजना सुरु भएको हो । निर्माण सुरु भएको ३४ बर्ष पुरा भएको छ । आयोजना उस्तै हविगतमा छ ।

Advertisement

२०६२ सालबाट आयोजना निर्माणले केही गति लिए पनि अहिलेसम्म निर्माण सम्पन्न भएको छैन् । १२ किलोमिटर लामो यो आयोजनाले स्वर्गद्वारी नगरपालिकाको सारी, बेलबास, र बर्जिवाङ्ग लगायत क्षेत्रका किसानलाइ बाह्रै महिना सिंचाइ सुबिधा पुर्याउने लक्ष्य छ ।

Advertisement

आयोजना निर्माण सुरु भएको यतिलामो समयसम्म पूरा नहुँदा किसान चिन्तितभएका छन् । नहरमा पानी आउँछ भनेपछि स्थानीयले बारम्बार श्रमदान समेत गरेका छन् । ‘२०७४ मा नहरमा पानी छाड्ने भनेपछि नहर सफा गर्न गाउँका सबै गयौ तर चुनाव प्रचारका लागिमात्रै कुरा चलाइएको रहेछ’, स्थानीय स्यामलाल रेग्मीले भने ।

चुनावप्रचार र भोटका लागि निर्वाचनका समयमा यो आयोजनाको कुरा उठ्ने गरेको छ । ‘जव चुनाव आउँछ तब भोट माग्नेहरुले हामीलाइ भोट दिनुस पानी ल्याइदिन्छौ भन्दै आस्वासन बाड्छन्,’ उनले भने, ‘तर अहिलेसम्म कसैले पानी खसालेका छैनन ।’

जिल्लाका लागि महत्वपूर्ण भएकाले आयोजना पूरा भएर लाभ मिल्ने आशामा यहाँका बासिन्दा छन् । आयोजना निर्माण गर्न अहिलेसम्म करोडौं रकम खर्च भइसकेको छ । ‘अहिलेसम्म नहरमा पानी देख्न पाएका छैनौ,’ स्वर्गद्वारी नगरपालिका–५ सारीका बुद्धिराम भण्डारीले भने, ‘सिंचाइ नहुँदा खेत बाँझै राख्नु परेको छ ।’

लगातार चार बर्षदेखि बाँझिएको खेत यो बर्ष आकासबाट पानी परेकाले रोपाइँ गरेको उनले बताए । उनकाअनुसार सिंचाइ अभाव हुँदा यहाँको हजारौ हेक्टर जमिन बाँझिएको छ । निर्माण भएको लामो समय बितिसक्दा समेत नहरमा पानी चलेको छैन् । नियमित मर्मत पनि बन्द भएको छ । जसले गर्दा नहर जिर्ण बन्दै गएको छ ।

पहिले पहिले अलिअलि बजेट छुट्टिन्थ्यो तर गएका केही बर्षदेखि आयोजनाका लागि बजेट नै बिनियोजन हुन छाडेको स्थानीय बताउँछन् । आयोजना निर्माणमा हालसम्म १३ करोड रकम खर्च भैसकेको छ । गत बर्ष आयोजना निर्माण गर्ने वा रोक्ने बिषयमा लुम्वीनी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले सर्भे गरेको थियो । तर अहिलेसम्म जिल्लामा त्यसको रिपोर्ट प्राप्त नभएको जलश्रोत तथा सिंचाइ डिभिजन कार्यालय प्यूठानका इञ्जिनियर नबराज पोख्रेलले बताए ।

निर्माणाधिन नहरको आसपासमा सडक निर्माण गर्दा र पहिरोले नहरका बिभिन्न स्थानमा लाखौको क्ष्यती पुर्याएको छ । चार बर्ष पहिले पानी ल्याउने लक्ष्य राखिएको भए पनि बिचमै रोल्पा जोड्ने सडकले नहर पुर्दा थप अन्यौल भएको छ । महालेखा परीक्षकको कार्यालयले लुंग्रिमाडीको कामका बिषयमा हरेक बर्ष टिप्पणी उठाउने गरे पनि थप काम सुरु भैनसकेको जलश्रोत तथा सिंचाइ डिभिजन कार्यालय प्यूठानका लेखापाल खिमबहादुर अधिकारीले जानकारी दिए । आयोजना सम्पन्न भए स्वर्गद्वारी नगरपालिकाको करिव एक हजार किसानको दुइ सय तिस हेक्टर जमिन सिंचाइ हुन्छ ।