December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

सांसद पाण्डेयकाे घाेषणा- ‘बाँकी अवधिको तलबभत्ता विकास निर्माणमा खर्च गर्छु’

पाल्पा– प्रतिनिधि सभा सदस्य सोमप्रसाद पाण्डेयले आफ्नो तलबभत्ता विकास–निर्माणमा खर्चिने भएका छन् । पाल्पा क्षेत्र नम्बर–२ बाट निर्वाचित उनी नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य समेत हुन् ।

Advertisement

तानसेनमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद पाण्डेयले भने, ‘जनताका बलमा पुनःस्थापना भएको प्रतिनिधिसभाको बाँकी अवधिको तलबभत्ता जनताको समस्या समाधानमा खर्च गर्छु । थोरै होला तर विकास निर्माणमा लगाउँछु ।’

उनले यही कात्तिक १ देखिको सांसदको बाँकी अवधिभरको तलबभत्ता जिल्लाको विकास निर्माणमा खर्च गर्ने घोषणा गरेका हुन् । यसअघि भने उनले तलबभत्ता विकास–निर्माणका खर्च गरेका थिएनन् ।

पूर्वउद्योगमन्त्री समेत रहेका पाण्डेयले सांसदको पारिश्रमिकबाट जिल्लाको स्वास्थ्य, शिक्षा, पूर्वाधार तथा अशक्त, असहाय, वृद्धा र बालबालिकाको क्षेत्रमा खर्च गर्ने जनाए । यसअघि उनी एमाले केन्द्रिय कमिटी सदस्य थिए ।

एमाले विभाजन पछि उनी एकीकृत समाजवादीमा लागेका हुन् । तलबभत्ता विकास निर्माणमा खर्चेर आउँदै गरेको चुनावलाई प्रभाव पार्न खोजेको कतिपयले विश्लेषण गरेका छन् । पार्टी विभाजनपछि उनी आफ्नो निर्वाचन क्षेत्रमा कमजोर भएको बताइन्छ ।

निर्वाचनमा आफ्नो प्रभावलाई जमाई राख्न पाण्डेय अहिले निर्वाचन क्षेत्रमा केन्द्रित छन् । प्रभावशाली नेता भएकाले उनी एमाले उम्मेदवार भन्दा बलियो भए पनि मत विभाजन हुने हुँदा संकटमा छन् । यद्यपि मतदातालाई प्रभावमा पार्न पाण्डेयले अहिलेदेखि नै कसरत गरिरहेका छन् ।