December 3, 2021, Friday
१७ मंसिर २०७८, शुक्रबार

रुपन्देही प्रहरीद्वारा साढे ५१ लाखको अवैध सामान बरामद

भैरहवा– रुपन्देही प्रहरीले ठूलो परिणाममा सामान बरामद गरेको छ । प्रहरीले दुईवटा पिकअप भ्यान, दुई जना चालक र करिब ५२ लाख बराबरको सामान बरामद गरेको हो । बुधबार बिहान चारबजे जिल्लाको बुटवल उपमहानगरपालिका–१, तिनाउ पुलबाट सामान बरामद गरिएको हो ।

Advertisement

भारतबाट अबैध रुपमा नेपाल भित्र्याइएका ती सामान कपिलवस्तुका विभिन्न नाका हुँदै बुटवल ल्याउँदै गरेको हुनसक्ने प्रहरी अनुमान छ । प्रहरी गाडी चालक सैनामैना नगरपालिका–२ बस्ने ४० वर्षका तुलसी थारु र सोही ठाउँ बस्ने बर्ष ४० का मिनप्रसाद भण्डारीलाई नियन्त्रणमा लिएको छ । यस्तै, लु १ ज ४६३६ र लु १ ज ३७८७ नम्बरको पिकअप गाडी पनि नियन्त्रणमा ल्याएको छ ।

रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापालका अनुसार दुईवटा पिकअप भ्यानमा गरी लिपगार्ड १५ बन्डल अर्थात् ६० हजार पिस, २३६ पिस उनी कुर्था सुरवाल सेट, ६ सय पिस चुन्नी र ६७ पिस बनारसी साडी बरामद भएको छ । यसको कुल मूल्य ५१ लख ४८ हजार ५ रहेको प्रहरीले जनाएको छ ।

यस्तै प्रहरीले मंगलबार पनि जिल्लाका विभिन्न ठाउँबाट लत्ताकपडा, चिनी, जुत्ता, कुर्ताुरुवाल बरामद गरेको थियो । खुल्ला सीमाको फाइदा उठाउँदै जिल्लाका विभिन्न ठाउँ हुँदै भारतबाट नेपालतर्फ तस्करी हुँदै आएको छ । बैशाख यता मात्रै रुपन्देही प्रहरीले करिब ७ करोड बराबरका अवैध सामान बरामद गरिसकेको छ । तर प्रहरी सक्रियता बढे पनि तस्करी भने रोकिएको छैन ।