December 4, 2021, Saturday
१८ मंसिर २०७८, शनिबार

बुटवलका सडकमा खाल्डैखाल्डा

रूपन्देही– घाम लाग्दा धुलो, पानी पर्दा हिलो । सडकमा ठूला–ठूला खाडल छन् । यतिबेला प्रदेश मुकाम बुटवलको मुख्य सडकको बिजोग छ । मध्यभागमा रहेको सडक अस्तव्यस्त भएपछि सहर कुरुप बनेको छ । पूर्वपश्चिम र सिद्धार्थ राजमार्गको मिलन बिन्दुका रुपमा रहेको सडकमा यात्रा कठिन बनेको छ । यात्रुले सास्ती खेप्नु परिरहेको छ । स्थानीय आजीत छन् ।

Advertisement

बुटवल–बेलहिया ६ लेन सडक आयोजना अन्तर्गत निमार्णाधीन राजमार्ग चौराहादेखि चियाखोला तीन किलोमिटर खण्ड अस्तव्यस्त बनेको हो । राजमार्गभरि ठूला–ठूला खाडल मात्र छन् । बिगत ८ महिनादेखि मुख्य सडक भत्किए पनि खाडल पूरिएको छैन । यो खण्डको निर्माणका लागि तत्कालीन अर्थमन्त्री बिष्णु पौडेलले शिलान्यास गरेका थिए । त्यसपछि पनि निर्माणले गति लिएन ।

लामो समयपछि दायाँबायाँ सडक अतिक्रमण गरेर निर्माण गरिएका घर भत्काइएको थियो । जसले गर्दा सडक झन भद्रगोल बनेको हो । ठाउँ–ठाउँमा परेको खाल्टाखुल्टीले चालक तथा यात्रीलाई यो सडकखण्डमा यात्रा गर्न निकै सास्ती हुने गरेको छ भने मोटरसाइकल चलाउन पनि धौधौ हुने गर्दछ । निर्माणको नाममा कतिपय ठाउँमा सडक भत्काएर अलपत्र छाड्दा लामो समयदेखि चालक र यात्रीले दुःख पाएको बुटवलको मिलनचोकका केवश श्रीसले जनाए ।

प्रदेशको मुकाम बुटवलको बजार क्षेत्रकै सडकको यस्तो दुर्गतिले प्रदेशमा विकास निर्माण कस्तो होला भन्ने नमूना नै देखाएको स्थानीयवासी बताउँछन् । बुटवलको ज्योतिनगर र लक्ष्मीनगरमा साउनमा आएको पहिरो बगाएको माटो बुटवलको सडकसम्म आइपुग्दा अझ सास्ती हुने गरेको उनीहरुको भनाइ छ ।

बुटवलको भित्री सडक कालिननगर नगरदेखि पुुरानो बसपार्कसम्मको अवस्था पनि उस्तै छ । त्यहाँ ई–रिक्सा र मोटरसाइकल चलाउन निकै सास्ती हुने गरेको चालकको भनाइ छ । व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया बुटवल सडक आयोजनाले समयमा निर्माण नसक्दा यस्तो समस्या भएको सरोकारवाला बताउँछन् । खाल्टाखुल्टीका कारण दिनहुँजसो सडक दुर्घटना हुने गरेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए ।

बुटवल राजमार्ग चौराहादेखि चिडियाखोलासम्म साढे ३ किलोमिटर सडक विस्तार आयोजनाको सम्झौता अनुसार २०७६ असोज १२ गते निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर बीचमा सडकको जग्गाभित्र घर भएकाहरूले पटक–पटक अदालतमा मुद्दा दायर गरेकाले निर्माण कार्य अघि बढ्न सकेको थिएन । गत माघदेखि अदालतले सडक विस्तारका लागि बाटो खोले पनि निर्माण कम्पनीको लापरवाहीले काममा ढिला हुँदै आएको छ ।

उक्त सडक स्तरोन्नतिको जिम्मा पाएको कम्पनी द कञ्चनजंगा बिरुवा जेभी काठमाडौंले समयमा काम नगर्दा स्थानीयवासी र यात्रीले सास्ती खेप्नु परेको हो । सडक विस्तार आयोजनाका प्रमुख जयलाल मरासिनीले अहिले निर्माण कम्पनीले काम सुरु गरेको बताए । उनले छिटो निर्माण सम्पन्न गर्न पटक–पटक ताकेता गरेको पनि जानकारी दिए ।

उक्त सडक स्तरोन्नतिका लागि तेस्रो पटक २०७९ साल असार ३२ गते निर्माण सम्पन्न गर्ने गरी म्याद थप भएको छ । ४७ करोड २७ लाखमा निर्माणको ठेक्का सम्झौता भएको हो ।