December 4, 2021, Saturday
१८ मंसिर २०७८, शनिबार

लुम्बिनी गुरुयोजना सक्न अझै चार अर्ब चाहिने

लुम्बिनी– लुम्बिनी विकासको गुरुयोजना सुरु भएको ४३ वर्ष पूरा भयो । सन् १९७८ मा जापानी वास्तुकलाविद् प्राध्यापक केन्जो टाँगेले लुम्बिनी गुरुयोजना तयार पारेका थिए । अहिले गुरुयोजनालाई मूर्तरुप दिने सरकारी र विकास कोषको तयारी छ ।

Advertisement

पछिल्लोपल्ट लुम्बिनी गुरुयोजनाका बाँकी काम एकैपटक सक्न ग्लोबल टेण्डर आह्वान गरेर ठेक्का सम्झौता भएको छ । जसले गर्दा गुरुयोजना पूरा हुने आशा गरिएको छ । कोषका अनुसार बाँकी रहेको गुरुयोजनाको काम पूरा गर्न अब झण्डै साढे सात अर्ब रूपैयाँ बजेट लाग्ने अनुमान छ ।

‘हामीले गुरुयोजनालाई मूर्तरुप दिने गरी काम गरिरहेका छौं’, कोषका सदस्य सचिव सानुराजा शाक्यले भने, ‘पछिल्लोपल्ट ठेक्का सम्झौता भइसकेको छ । समयमै काम सकिए दुई–तीन वर्षमै गुरुयोजना पूरा हुनेछ ।’

विकास कोषले अबका दुई वर्षभित्र गुरुयोजनाका बाँकी निर्माणका काम सम्पन्न गर्ने गरी पहिलो चरणको ठेक्का सम्झौता गरेको छ । अन्तिम चरणका निर्माण कार्य चलिरहेका छन् । लुम्बिनी अनक खड्का कृष्ण जेभी, लामा एपेक्स कमलजीत जेभी, रमन गजुरमुखी रामजानकी जेभी र खानी अर्घाखाँची बाबुल जेभीसँग विकास कोषले गुरुयोजनाअन्तर्गतका विभिन्न कामका लागि अलगअलग ठेक्का सम्झौता गरेको कोषका सदस्य सचिव शाक्यले बताए ।

पछिल्लो चरणमा कोषले यी निर्माण कम्पनीसँग तीन अर्ब ५० करोड बराबरको ठेक्का सम्झौता गरेको छ । बाँकी काम सक्न अझै चार अर्ब चाहिन्छ । गुरुयोजनाको अन्तिम कामको सुरुवात भएसँगै लुम्बिनीमा अबको दुई वर्षभित्र अस्पताल, सडक १४ किलोमिटर, ड्रेनेज ५५ किलोमिटर, ब्लकरोड २३ किलोमिटर, सडकको दुवैतर्फ आठआठ मिटरको ग्रिनरी गरिने छ ।

यस्तै, १३ ठाउँमा आकर्षक गेट, पर्सा र लखरियामा मूर्तिसहित भव्य आकर्षक प्रवेशद्वार, चारवटा पञ्चधातु पार्क, एक सारस सिद्धार्थ पार्क, एक हजार ७ सय सडकबत्ती, आठवटा पार्किङस्थल र आन्तरिक लिंकेज सडक बनाइने विकास कोषका योजना प्रमुख इन्जिनियर सरोजकुमार भट्टराईले जानकारी दिए ।

लुम्बिनी गुरुयोजनामा चालु आर्थिक वर्षमा सकिने गरी अन्तर्राष्ट्रिय ध्यान केन्द्र, एउटा पोखरी, ५ नम्बर गेटदेखि मायादेवी मन्दिरसम्म ६ सय मिटर सौन्दर्यीकरण गर्ने काम भइरहेका छन् । यीबाहेक गत वर्ष नै बहुवर्षीय योजना भनेर ठेक्का लाएका वाटर टावर, विद्युत्, टेलिकम्युनिकेसनको काम सम्पन्न भइसकेको भट्टराईले बताए ।

दोस्रो चरणको कामका लागि ग्लोबल टेन्डर आह्वान गर्नुपर्ने र यसका लागि अर्थमन्त्रालयसँग छलफल अगाडि बढेको भट्टराईले बताए । पहिलो चरणमा साढे तीन अर्बको ठेक्का भएकाले दोस्रो चरणको कामका लागि करिब चार अर्ब लागत लाग्ने अनुमान छ । गुरुयोजना सम्पन्न गर्न अझै दुई वर्ष लाग्ने कोषले बताएको छ ।