December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

बुद्धका अनुयायी बढ्नु सुखद् : राष्ट्रपति

भैरहवा– राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी विश्व समुदायका लागि आकर्षक क्षेत्र भएको बताएकी छन् । उनले शान्ति, अहिंसा, सहअस्तित्व र समानताको सन्देश विश्वभरी फैलाउन बुद्धले महत्वपूर्ण भूमिका खेलेको र यसले नेपालीहरुमा सधै गर्वको अनुभूति गरिरहेको जनाइन् ।

Advertisement

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्नका लागि नेपाल सरकारलाई स्पेनको लुम्बिनी गार्डेन फाउण्डेसनले उपलब्ध गराएको बहुमूल्य धातु ‘ह्वाइट जेड’बाट निर्मित बुद्धमूर्ति आइतबार विमानस्थलमा अनावरण गर्दै राष्ट्रपति भण्डारीले बुद्धले २५ सय वर्ष अघि फैलाएका जीवन उपयोगी सन्देशहरु अहिले पनि निकै सान्दर्भिक हुनु र यसका अनुयायीहरु दिनानुदिन विस्तारित हुनु हाम्रा निम्ति खुशीको विषय भएको बताइन् ।

‘लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकीय क्षेत्रकारुपमा विकास गर्न लुम्बिनी गुरुयोजना प्रभावकारी कार्यान्वयन अपरिहार्य छ’, उनले भनिन्, ‘लुम्बिनी क्षेत्रमा रहेका ऐतहासिक, पुरातात्कि महत्वतका स्थानहरुहरु र सामाग्राीको अध्ययन, अनुसन्धान, संरक्षण साथै मूर्त र अमूर्त सम्पदाहरु खोजी गरी बुद्ध सर्किट विकास गरी यस क्षेत्रलाई विश्वसामु प्रस्तुत गर्नुपर्छ ।’

नेपालीहरु बुद्ध भावनाअनुरुप एकअर्काप्रति सधै सद्भाव र मिलिजुली बसेको इतिहास रहेको जनाउँदै राष्ट्रपति भण्डारीले बुद्धले हाम्रो पहिचान मात्रै स्थापित नगरेर विश्व समुदायलाई अहिंसा र शान्तिको शिक्षा समेत दिएको बताइन् । ‘बुद्ध दर्शन मानव जीवनले आत्साथ गर्दै अगाडि बढ्दा नै विश्वमा आत्मशान्ति कायम हुन्छ’, उनले भनिन् ।

राष्ट्रपति भण्डारीले गौतमबुद्ध विमानस्थल निर्माण सम्पन्न पछि संसारभरका बौद्धमार्गी, अनुसन्धानदाता र जिज्ञासुहरुलाई आवतजावत गर्न सजिलो हुने भएकाले समयमै विमानस्थल निर्माण सक्न सबै निकायले गम्भीरतापूर्वक ध्यान दिनुपर्नेमा जोड दिइन् । ‘विमानस्थल निर्माणपछि विश्वभरीबाट लुम्बिनीको दर्शनार्थ आउने प्रत्येक यात्रीलाई करुणा र अहिंसाको सत्मार्गमा रहने सन्देश पुर्याउनसमेत टेवा पुग्ने छ’, उनले भनिन् ।

भण्डारीले लुम्बिनीमा योग र ध्यानजस्ता साधना खोज र अध्ययन गरेर बुद्ध संस्कृतिसँग जोडेर दिगो तथा आकर्षक विकासका लागि स्वदेशी तथा विदेशी पर्यटक ल्याउनुपर्नेमा जोड दिइन् । ‘यसले स्थानीय समुदायको समृद्धिमासमेत सहयोग पुग्ने छ’, उनले भनिन् । बुद्ध दर्शन, परम्परा अध्ययन अनुसन्धान गराउने विषयमा लुम्बिनी बौद्ध विश्वविद्यालय लाग्नुपर्ने जनाउँदै राष्ट्रपतिले विश्वकै एक उत्कृष्ट प्राज्ञिक केन्द्रको रुपमा विश्वविद्यालयलाई विकास गर्नुपर्नेमा जोड दिइन् ।

कार्यबाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणले बुद्धका सन्देशलाई कसरी संसारभर पुर्याउने र आफ्नो जीवनमा अनुसरण गर्ने भन्नेबारे सबै संवेदनशील बन्नुपर्ने बताए । खाँणले छिटोभन्दा छिटो क्यालिब्रेसन फ्लाइट गरी गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने बताए । ‘विमानस्थल संचालन गर्न सरकारको ध्यान केन्द्रित गरेको छ’, उनले भने, ‘अबिलम्ब काम सक्न सम्बद्ध निकायलाई निर्देश्न गर्छु ।’

विमानस्थल निर्माणमा सरकारले सबै सहयोग गर्ने तर निर्माण सक्न ढिलाई गर्न नहुने उनले बताए । खाँणले विमानस्थल संचालनमा आउँदावित्तिकै दोस्रो फेजको काम पनि सुरु गरिने र विमानस्थललाई अझै फराकिलो र धेरै यात्रु सहजतापूर्वक आउनजान सक्ने बनाइने आश्वासन दिए ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बुद्ध उपदेशलाई पालना गर्दै अघि बढेमा यही समयमा, यही संसारमा सुख, शान्ति प्राप्त गर्न सकिने बताए । ‘यसका लागि घृणा र स्वार्थ त्यागेर दया, भातृत्व र परोपकारको भावना विकास गर्नुपर्छ’, उनले भने । उनले बुद्ध दर्शनलाई मानव संस्कृतिको दर्शन भन्न सकिने बताउँदै बुद्ध दर्शन मानवताको पुनर्खोज पनि भएको जनाए । ‘बुद्ध दर्शनको अन्तिम लक्ष्य सामाजिक सद्भाव, शान्ति, अहिंसा, सहअस्तित्व र विश्व बन्धुत्व हो’, उनले भने ।

फाउण्डेसनले गरेको सहकार्यले लुम्बिनी क्षेत्रको स्पेन मात्रै नभई विश्वसमुदायमा प्रचारप्रसारमा सहयोग पुग्ने अध्यक्ष तिमिल्सिनाले विश्वास व्यक्त गरे । स्पनेको एक्स्त्रेमादुरा प्रदेशका सभामुख बलान्का मार्टिन डेल्गाडो नेपाल र स्पेनको दैत्य सम्बन्ध प्रगाढ बनाउन बुद्धमूर्ति माध्यम बन्न सक्ने बताइन् ।

‘२१ औं शताब्दीमा बुद्धको महत्व संसारभर फैलिएको छ । अझ फैलँदै जाने मेरो विश्वास छ’, उनले भनिन् । उनले नेपालसँग सहकार्य गरेर लुम्बिनी क्षेत्रको प्रबद्र्धनमा स्पेन सरकार र त्यहाँका नागरिक लाग्ने प्रतिबद्धता जनाइन् । लुम्बिनी गार्डेन फाउण्डेस स्पेनका अध्यक्ष जोसे म्यानुअल विलानोभा अलेमानले बुद्ध मूर्ति नेपाल, लुम्बिनी र स्पेपनलाई जोड्ने सेतु भएको बताए । नेपालका पर्यटकीय क्षेत्रको विकास र लुम्बिनीको प्रबद्र्धनमा आफूहरु लाग्ने उनले जनाए ।

म्यानमारमा निर्मित उक्त बुद्ध मूर्ति फाउण्डेसनमार्फत् नेपाल सरकारलाई निःशुल्क हस्तान्तरण गरिएको हो । यसको लागत करिब साढे दुई अर्ब रहेको फाउण्डेसनले जनाएको छ । म्यान्मारका भिक्षु, मूर्तिकार र कलाकर्मीले करिब ६ महिना लगाएर उक्त मूर्ति बनाएका थिए ।