December 4, 2021, Saturday
१८ मंसिर २०७८, शनिबार

प्रदेशसभा भवन निर्माण धमाधम

भैरहवा– लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा प्रदेशसभा भवन निर्माण धमाधम भइरहेको छ । भवन निर्माणमा ढिलाई पछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र सभामुख पूर्णबहादुर घर्ती लगायतको टोलीले पूर्वाधार निर्माणमा चासो देखाएका थिए । उनीहरुले काममा ढिलाई नगर्न आग्रह गर्दै तीव्रता दिन निर्देशन दिएका थिए ।

Advertisement

त्यसपछि भवन निर्माणले तीव्रता लिएको छ । निर्माणाधीन प्रदेशसभा भवनको स्थलगत निरीक्षणमा ठेकेदारको चरम लापरबाही र ढिलासुस्ती देखे पछि मुख्यमन्त्री जंगीएका थिए । निर्माणाधीन भवनको काम ठेकेदारले समयमै नसकेको भन्दै मुख्यमन्त्री केसीको निर्देशनमा निर्माणस्थलबाटै ठेकेदारलाई पक्राउ गर्न भनिएको थियो । पक्राउ गरेर केही घण्टा प्रहरीरको नियन्त्रणमा लिएर काम द्रुत गतिमा गर्ने सर्तमा ठेकेदारलाई छाडिएको थियो ।

निर्माणको काममा ढिलासुस्ती र लापरबाही देखिएपछि मुख्यमन्त्री केसी आक्रोशित हुँदै ठेकदारलाई कारबाही गर्ने र ठेकदार कम्पनीलाई कालो सूचीमा राखेर सञ्चालकलाई थुन्न दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङलाई आदेशसमेत दिएका थिए ।

पूर्वाधार प्राधिकरणका कार्यकारी अधिकृत अनन्तराज घिमिरेले मंसिर मसान्तसम्म भवन निर्माणको काम जसरी पनि सक्ने बताए । ‘मुख्यमन्त्रीको निर्देशन अनुसार काम गरिरहेका छौ’, उनले भने, ‘अहिले १ सय ९२ जना दक्ष कामदारहरु खटाई दिन रात गरि २ सिफ्टमा ४८ घण्टा काम भएको छ ।’ उनले अब, तोकिएको समयमा काम सकिने बताए ।

अबको ५० दिन भित्र भवन निर्माणको काम सम्पन्न गर्ने र मंसिरमा हुने हिउँदै अधिसवेशन नयाँ भवनमा गर्ने लक्ष्यका साथ काम द्रुत गतिमा अगाडि बढाएको उनले दावी गरे । मुख्यमन्त्रीको निर्देशनपछि भवन ५० दिनमा निर्माण हुने अपेक्षा गरिएको छ । ‘मुख्यमन्त्रीको निर्देशनले एक किसिमको काम गर्ने उर्जा भएको छ’, उनले भने, ‘उहाँको निर्देशन अनुसार प्राधिकरणले छुट्टै किसिमको टिम बनाएर काठमाडौं, विरगंज र दाङबाट दक्ष प्राबिधिक र मानव स्रोतको प्रयोग गरि हरेक घण्टालाई हिसाव गरेर क्वालिटिको काम गरेको छ ।’

प्रदेश सरकारले चाहेको खण्डमा राप्ति प्राविधिक शिक्षालयको भवनमा मुख्यमन्त्री कार्यालयलाई पनि ल्याउन सम्भव भएको उनले बताए । ‘अबको हिउँदे अधिबेशन सगँसँगै प्रदेशका अन्य मन्त्रालयहरुको लागि पनि तयारिमा जुटेका छौं’, घिमिरले भने ।

केही दिनअघि प्रदेशसभा भवन निर्माण भइरहेको स्थलमा अनुगमनका लागि पुगेका मुख्यमन्त्री केसीले काम नगर्ने निर्माण व्यवसायीलाई कानुनी कारबाही गर्न समेत निर्देशन दिएका थिए । अबको डेढ महिना भित्र प्रदेशसभा भवन सरकारलाई हस्तान्तरण गर्ने गरी काम भइरहेको निर्माण व्यवसायी एमएस ड्राइगन बस्नेत जेभिका सञ्चालक यज्ञबहादुर केसीले बताए ।

भवन निर्माण सुरु भएको ६ महिना भएको । काम सुस्त गतिमा छ । प्रगति जम्मा २० प्रतिशत छ । जसले गर्दा चार महिनाभित्र स्थायी राजधानीमा प्रदेशसभा बैठक बस्ने सरकारी आकांक्षा अधुरो भएको छ । भवन निर्माणा सकिए पनि अन्य संरचना बनाउन, फिनिसिङ लगायतका काम बाँकी रहन्छ । यसैले समय अझै लम्बिने देखिएको छ ।

ठेकेदारले काममा ढिलाई गरेको छ । काम सकिनु पर्ने समयमा प्रगति निकै कम भएको हो । देउखुरीको राप्ती गाउँपालिका–३ स्थित राप्ती प्राविधिक शिक्षालय क्षेत्रमा ५ करोड २१ लाख ९३ हजार ९ सय ५८.३२ रुपैयाँ लागतमा प्रदेशसभा भवन निर्माण भइरहेको हो ।

निर्माणको ठेक्का ड्रागन बस्नेत जेभी काठमाडौंले लिएको छ । गत २०७८ बैशाख २४ मा ठेक्का सम्झौता गरी काम सुरु गरिएको थियो । २०७८ साउन मसान्त भित्रै निर्माण सम्पन्न गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने समझौतामा उल्लेख छ । समयावधी साढे दुई महिना घर्की सकेको छ । प्रगति निराशाजन छ ।

स्टिल स्ट्रक्चरमा सुविधायुक्त भवन निर्माण भइरहेको छ । भवन निर्माणमा ढिलाई भएपछि प्रदेश सरकार र प्रदेशसभाले विशेष चासो देखाएका हुन् । मुख्यमन्त्रीको निर्देशनपछि अब भवन निर्माण समयमै सकिने अपेक्षा गरिएको छ । अहिले काम धमाधम भएको छ ।