December 7, 2021, Tuesday
२१ मंसिर २०७८, मंगलवार

तीन हजारले पाएनन् पोषण भत्ता

कपिलवस्तु – यहाँका तीन हजार भन्दा बढी बालिबालिका दुइ वर्षदेखि पोषण भत्ताबाट वञ्चित भएका छन् । कपिलवस्तुको यशोधरा गाउँपालिकाका विभिन्न समुदायका २ हजार ३ सय ५२ र दलित समुदायका मात्रै ७ सय १३ बालबालिका पोषण भत्ताबाट बञ्चित छन् ।

Advertisement

पोषणस्थितिमा सुधार ल्याउन सरकारले ५ वर्षमुनिका बालबालिकालाई पोषण भत्ता वितरण गर्दै आएको छ । यशोधराका दलित बालबालिकाले आर्थिक वर्ष ०७७–७८ को दोस्रो चौमासिकबाट भत्ता नपाएका हुन् । गत वर्षको तेस्रो चौमासिकबाट अन्य बालबालिकालाई पनि भत्ता वितरण हुन सकेको छैन ।

सरकारले बैंक मार्फत भुत्तानी दिने भनेपछि समस्या आएको गाउ“पालिकाका अध्यक्ष गिरजेश पाण्डेले बताए । गत असारमै ३ करोड ९९ लाख सामाजिक सुरक्षाको रकम मर्यादपुरमा रहेको सिद्धार्थ बैंकमा निकास गरिसकिएको उनले बताए ।

बैंकले नदिँदा आफूहरुको दोष नभएको बताए । ‘प्रत्येक बालबालिकाको संरक्षकको नाममा खाता खोलेर रकम दिने निति छ,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकालले भने, ‘बैंकले जनशक्ती अभाव रहेको भन्दै आलटाल गनु हाम्रो समस्या हैन्, यसले सेवाग्राही मारमा परेका छन् ।’

गत आवको सामाजिक सुरक्षाको बजेट फस्र्यौट हुन नसक्दा चालु आवमा पहिलो चौमासिकको बजेट माग गर्न नसकेको उनले बताए । ‘चालु आवको पहिलो तीन महिनाको भत्ता दिने समय भइसक्दा पहिलेकै दिन सकेका छनौं’, उनले भने ।

गत आवमा बालबलिकालाई प्रतिमहिना ४ सय पोषण भत्ता रहेको थियो । चालु आवबाट बढेर ५ सय ३२ रुपैयाँ पुगेको छ । जिल्लाका अन्य ९ स्थानीय तहले वितरण गरे पनि यशोधराले मात्र वितरण गर्न सकेको छैन् ।