December 7, 2021, Tuesday
२१ मंसिर २०७८, मंगलवार

भाडामा मनपरी

पाल्पा– यहाँ गाडी भाडामा मनपरी गरिएको छ । सर्वसाधारण यात्रु ठगिएको गुनासो गरेका छन् । यातायात समितिले निर्धारण गरेको भाडादर भन्दा बढी रकम असुल्ने गरेको यात्रु तथा स्थानीयवासीको आरोप छ । रामपुर नगरपालिकाभित्र सञ्चालन हुने सवारीमा यात्रु तथा स्थानीयवासीबाट गाडीधनीले धेरै रकम असुल्ने गरेका छन् ।

Advertisement

युवा संका सदस्य विपुल पोखरेलले रामपुर नगरपालिकाको गेझा बर्दलेबाट बेझाड बजारसम्म करिब १२ किलोमिटरको दूरीमा रु ३०० तिर्नु परेको गुनासो गरे । ‘गाडीधनीले मनपरी भाडा लिने गरेका छन्’, उनले भने, ‘कालीगण्डकी करिडोरको पक्की सडकमा छोटो दूरीमा धेरै भाडा तिरेर यात्रु गर्नुपर्दा सर्वसाधारण यात्रु मर्कामा परेका छन् ।’

गुनासो यत्रतत्र बढेपछि युवा संघ नेपाल रामपुर नगरपालिका–१० पाल्पाले गाडी भाडादर समायोजन ध्यानाकर्षण गराउँदै नगरपालिकामा निवेदन दिएको छ । नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, प्रशासन कार्यालयका प्रमुख, यातायात समिति, पत्रकार, प्रहरीलगायत रोहबरमा गाडीको भाडादर सम्बन्धमा सम्बन्धित यातायात व्यवसायी समितिले तोकेभन्दा बढी रकम असुल्न नमिल्नेमा जोड दिइएको छ ।

बस, कार, भ्यानले मनपरी भाडा असुल्ने गर्दा सर्वसाधारण यात्रु मर्कामा परेकाले भाडा समायोजन गरिदिन अनुरोध गर्दै नगरपालिकामा निवेदन बुझाइएको हो । यातायात व्यवसायीसँग बसेर निश्चित भाडाको दररेट, गाडी गुड्ने क्षेत्र निर्धारण, ट्राफिक व्यवस्थापनलगायत विषयमा छिट्टै निर्णय गरेर यात्रु महानुभावलाई सुलभ रुपमा सेवा दिने नगर प्रमुख रमणबहादुर थापाले बताए ।

‘समितिले तोकेको भन्दा बढी भाडा असुल्न नपाइने र अब सम्बन्धित निकायले निश्चित भाडादर तोक्नेछ, कसैले अटेर गरेर मनपरी भाडा असुलेको प्रमाणसहित जानकारी आएमा सम्बन्धित निकायले कारबाही गर्नेछ’, नगर प्रमुख थापाले भने । रामपुरको बेझाड बजारदेखि रामटारसम्मको करिब १५ किलोमिटरको दूरीमा नमस्ते रामपुर यातायात प्रालिले रु २०० भाडादर तोकेको छ । तर सम्बन्धित यातायात धनीले दोब्बर भाडा लिने गरेको यात्रुको गुनासो छ ।

इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख भगवान् भक्त अर्यालले नगरभित्र चल्ने गाडीले तोकेको भन्दा पनि बढी भाडादर लिएको बताउँदै निश्चित स्थान छुट्टाएर भाडादर कायम गर्नुपर्ने र गाडी चल्ने स्थानको सिमा निर्धारण हुनुपर्ने धारणा राखे । नमस्ते रामपुर यातायात प्रालिका सञ्चालक भोजराज भट्टराईले रामपुर बेझाड बजारदेखि रामटारसम्म समितिले रु २०० एकतर्फी भाडादर कायम गरेको र केही व्यवसायीले बढी भाडा लिएको भन्ने कुरा उठे पनि समितिमा भने आधिकारिक जानकारी नआएको जनाए ।

केही समय समितिले नगर बस सेवा पनि सुचारु गरेको जानकारी दिँदै उनले यात्रु बसमा भन्दा साना गाडी भ्यान, तीन पाग्रे गाडीमा आकर्षित हुने गरेकाले नगर बस सेवा अहिले सञ्चालनमा नरहेको बताए । पश्चिम नेपाल बस व्यवसायी समितिका व्यवस्थापक शिव ढकालले यात्रुलाई आफू पुग्ने गन्तव्यसम्मको निश्चित भाडादर जानकारी भएमा यात्रा गर्न सहज हुने र आफू भाडामा ठगिएको जानकारी पाएमा तत्काल सम्बन्धित निकायमा गुनासा राख्न आग्रह गरे ।