December 7, 2021, Tuesday
२१ मंसिर २०७८, मंगलवार

भैरहवा आइपुग्यो बहुमूल्य धातु ‘ह्वाइट जेड’ बाट बनेको बुद्धमूर्ति

भैरहवा– रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्नका लागि तयार गरिएको बुद्धमूर्ति बिहीबार बेलहिया नाकामा ल्याइएको छ । लुम्बिनी गार्डेन फाउण्डेसन, स्पेनका महासचिव एकराज गिरीका अनुसार नाकामा ल्याइएको बहुमूल्य बुद्धमूर्ति शुक्रबार भन्सार प्रक्रिया पूरा गरी सकिने छ ।

Advertisement

‘हामीले आज सम्पूर्ण कागजी प्रक्रिया मिलाएर भोलिसम्म भित्र्याउँछौं’, गिरीले भने, ‘त्यसपछि सिद्धार्थनगर नगरपालिका, मायादेवी गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका परिक्रमा गराई एयरपोर्टमा राखिनेछ ।’

यहाँ संघसंस्था सिद्धार्थनगर उद्योग वाणिज्य संघ लुम्बिनी होटल संघलगायतका संघसंस्थाले बुद्धमूर्ति स्वागतका लागि भव्य तयारी गरेका छन् । लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले बहुमूल्य धातुबाट बनेको मूर्तिले यस क्षेत्रको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने बताए । ‘हामीले यसको अर्थ बुझेर नै भव्य स्वागतको तयारी गरेका छौं’, उनले भने ।

करिब दुई अर्ब ५० करोडको लागतमा बहुमूल्य धातुबाट बनेको बुद्धमूर्ति लुम्बिनी गार्डेन फाउण्डेसनले नेपाल सरकारलाई हस्तान्तरण गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने छ । सो बुद्धमूर्ति म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले स्पेनको लुम्बिनी गार्डेन फाउण्डेसनलाई दिएको हो ।

एक हजार ८०० किलो तौल भएको बुद्धमूर्ति १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको रहेको छ । विश्वका १६ देशमा यस प्रकारका मूर्ति पठाइएको बताइएको छ ।
बुद्धमूर्ति यही कात्तिक १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमबुद्ध विमानस्थलमा अनावरण गर्ने कार्यक्रम तय गरिएको छ ।

त्यसअघि कात्तिक १३ गते लुम्बिनीको मायादेवी मन्दिरमा दीप प्रज्ज्वलनसहित शान्तिको कामना गर्न स्पेनका सभामुखको नेतृत्वमा विशेष प्रतिनिधिमण्डल नेपाल आउने कार्यक्रम तय भइसकेको महासचिव गिरीले जनाए । बहुमूल्य धातु ‘ह्वाइट जेड’ बाट बनेको बुद्धमूर्ति म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट भैरहवा भन्सार कार्यालयमा ल्याइएको हो ।