December 7, 2021, Tuesday
२१ मंसिर २०७८, मंगलवार

वर्षाले लुम्बिनी प्रदेशमा ३६४८० हेक्टर क्षेत्रफल धानबालीमा क्षति

भैरहवा– चार दिनदेखि लगातारको परिरहेको वर्षा र बाढीले लुम्बिनी प्रदेशमा ३६ हजार हेक्टर क्षेत्रफलमा काटेर राखेको धान डुब्नुका साथै क्षतिसमेत पुगेको सरकारी तथ्यांकले देखाएको छ ।

Advertisement

प्रदेशभर कुल खेती भएको ३ लाख १७ हजार ४ सय १४ हेक्टर क्षेत्रफलमध्ये ५५ हजार ५४ हेक्टर क्षेत्रफको धान भने किसानले भित्र्याएका छन् । ९३ हजार ५ सय ७६ हेक्टर क्षेत्रफलको धान काट्न बाँकी छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार प्रदेशका १२ जिल्लामा काटेर खेतमै राखिएको ३६ हजार ४ सय ८० हेक्टर क्षेत्रफलको धानमा क्षति भएको हो ।

कपिलवस्तुमा काटेर खेतमै राखिएको ८ हजार ८ हेक्टर क्षेत्रफलको धानमा क्षति भएको छ । जिल्लामा २७ हजार ४ सय ५५ हेक्टर खेतमा धान काट्न बाँकी छ । प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै बर्दियामा १० हजार हेक्टर जमिनको धानमा क्षति पुगेको छ । प्रदेश कृषि विकास निर्देशनालयकी बाली विकास अधिकृत सुनैना बराइलीले बर्दियामा २५ हजार २ सय हेक्टर जमिनको काट्न बाँकी रहेको १० हजार हेक्टरमा क्षति पुगेको बताइन् ।

बाँकेमा काटेर खेतमै रहेको ७ हजार ५ सय हेक्टर जमिनको धानमा वर्षाले क्षति पुगेको छ । यहाँ १० हजार हेक्टर जमिनको धान काट्न बाँकी छ भने १ हजार १ सय हेक्टर जमिनको धान किसानले स्याहारी सकेका छन् ।

रुपन्देहीमा काटेर खेतमा रहेको ३ हजार ४ सय ६८ हेक्टर जमिनको धानमा क्षति पुगेको छ । जिल्लामा २० हजार ७ सय ९३ हेक्टर खेतको धान काट्न बाँकी छ । दाङमा काटेर खेतमै राखिएको ३ हजार ४ सय हेक्टर जमिनको धानमा क्षति पुगेको छ । दाङमा ४ हजार ३ सय हेक्टर जमिनको धान काट्न बाँकी छ ।

नवलपरासी पश्चिममा काटेर खेतमै रहेको ४ सय १० हेक्टर जमिनको धानमा वर्षाले क्षति गरेको छ भने ४ हजार १ सय हेक्टर खेतको धान काट्न बाँकी छ । प्यूठानमा काटेर खेतमै रहेको ३ हजार ७ हेक्टर जमिनको धानमा क्षति पुगेको छ भने ७ सय ८८ हेक्टर खेतको धान काट्न बाँकी छ । रुकुम पूर्वमा काटेर राखेको ४ सय १२ हेक्टर खेतको धान डुबानमा परेको छ ।

पाल्पामा काटेर खेतमै रहेको २ सय ७० हेक्टर जमिनको धानमा क्षति पुगेको छ । पाल्पामा २ सय ६५ हेक्टर खेतको धान काट्न बाँकी छ । रोल्पामा २५ हेक्टर खेतको धान बालीमा क्षति पुगेको छ । त्यस्तै ३५ हेक्टर जमिनमा लगाइएको मकै र १३ हेक्टरमा गरिएको सिमी बालीमा पनि वर्षाले क्षति पुगेको छ । गुल्मीमा काटेर खेतमै रहेको ८ हेक्टर खेतको धान बर्षाले भिजाएर क्षति पुगेको छ । अर्घाखाँचीमा वर्षाले धान बालीमा खासै क्षति नपुर्याएको निर्देशनालयले जनाएको छ ।