December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

वर्षाले दाङमा ३० प्रतिशत धानबाली नष्ट

दाङ– काटेर खेतमै सुकाएको धान पानीले भिजाएर नष्ट गरेपछि किसान चिन्तित बनेका छन् । लगातारको वर्षाले धान उत्पादक किसानलाई नराम्रोसँग असर गरेको हो । किसानले ठूलो क्षति व्यहोर्नु परेको छ । एक हिसावले भन्ने हो भने किसानको विचल्ली नै भएको छ ।

Advertisement

मुलुकको अधिकांश ठाउँमा वर्षाले धानमा क्षति पुर्याएको छ । खासगरी काटेर राखेको धान भित्र्याउने बेला बगाएको छ । धान पानीमा तैरिएको छ । वर्षा नरोकिँदा धान उम्रिन थालेको छ । काट्न तयारी अवस्थामा रहेको धान ढलेर पानी र हिलोमा लत्पतिएको छ ।

कृषि ज्ञान केन्द्र दाङले जिल्लाका दश स्थानीय तहबाट संकलन गरेको तथ्यांकको आधारमा आइतबार बेलुकादेखि परेको पानीले जिल्लाको ३ हजार ४ सय हेक्टर जग्गामा खेती गरिएको धान डुबाएको छ । लगातार परेको पानीका कारण दाङ जिल्लामा भित्र्याउन ठिक्क पारिएको करिब ३० प्रतिशत धान बाली पूर्ण रुपमा क्षति भएको सरकारी तथ्यांक छ ।

जिल्लामा ३९ हजार हेक्टर जमिनमा धान खेती गरिएको छ । देउखुरी क्षेत्रमा दश हजार हेक्टर जमिनमा गरिएको धान किसानले पानी पर्नुअघि सुरक्षित रुपमा भित्र्याइसकेको केन्द्रले बताएको छ ।

बाढी दंगिशरण गाउँपालिका र राप्ती गाउँपालिकामा गरी करिब डेढ सय हेक्टरमा गरिएको धान खेतमा पसेको थियो । जसबाट काटेर सुकाएको धान बगाएको केन्द्रका कृषि प्रसार अधिकृत रुद्रमणि पौडेलले बताए ।

राप्ती गाउँपालिकास्थित राप्ती नदीमा आएको बाढीले करिब एक सय ५० विगाह धान खेत कटान गरेको छ । मूल्यको आधारमा कति क्षति भयो, त्यसको विवरण निकाली रहेको बताइएको छ ।

प्रारम्भिक विवरणअनुसार करिब ३० प्रतिशत धान पूर्ण रुपमा क्षति भएको सरकारी आँकलन छ । अहिले पनि पानी परिरहेकाले धानमा अझै धेरै क्षति हुने अनुमान गरिएको छ । धान भित्र्याउन ठिक्क परेका किसानलाई मौसमले साथ दिएन । अझै पानी पर्ने सम्भावना रहेकाले यो क्षतिको आँकडा बढ्न सक्छ ।