November 3, 2024, Sunday
२०८१ कार्तिक १८

वर्षाले धानबालीमा क्षति

भैरहवा– दुई दिनदेखि परेको अविरल वर्षाले धानबालीमा ठूलो क्षति पुर्याएको छ । धान भित्र्याउनेबेला भारी वर्षा हुँदा धान नष्ट भएको हो । पश्चिम नेपालका अधिकांश जिल्लामा आइतबारदेखि नै पानी परिरहेको छ । धान उत्पादनमा राम्रो मानिने रुपन्देही, दाङ, बर्दियालगायतका जिल्लामा वर्षाले धानमा क्षति पुगेको हो ।

दसैं अघि नै काटेको धान दसैंलगत्तै किसानले भित्र्याउने तयारी गरेका थिए । तर, निरन्तर पानी परिरहँदा खेतमै धान डुवेको छ । अधिकांश स्थानमा धान पाकीसकेको छ । कतिपय ठाउँमा अझै पाकेको छैन ।

Advertisement

रुपन्देहीको मर्चवारी, सम्मरीमाई, कोटहीमाई, देवदह, ओमसतिया, सियारी, शुद्धोदनलगायतका ठाउँमा किसानले धान काटेका थिए । स्याहार्न नपाउँदै पानीमा डुबेपछि किसान चिन्तित बनेका छन् । ‘काटेर भित्र्याउनैबेला पानीले क्षति पुर्यायो’, कोटहीमाईका किसान गुरुवचन यादवले भने, ‘एकदुई दिन पानी नपरेको काटेको धान स्याहर्न सकिन्थ्यो होला तर पानीले सबै डुवायो ।’

वर्षभरी दुःख गरेको बाली भित्र्याउने बेला पानीले क्षति पुर्याएपछि किसानमा निराशा छाएको उलने बताए । उनले भने, ‘यस वर्ष धान राम्रो थियो, समयमै पानी पर्यो, मल पाएका थियौं तर भित्र्याउनेबेला नष्ट भयो ।’ उनले खेतमै धान डुबेको बताए । कतिपय किसानले धान उठाउन भ्याए पनि अधिकांशको खेतमै डुवेको हो ।

लुम्बिनी प्रदेशका अधिकांश जिल्लाका भित्र्याउन तयारी गरिएको धान वर्षातले क्षति पुर्याएको छ । जसले गर्दा किसान चिन्तित बनेका छन् । यस वर्ष समयमै पानी परेकाले पनि धान उत्पादन राम्रो हुने अनुमान गरिएको थियो । तर, भित्र्याउनेबेला पानी पर्दा धान नष्ट भएको छ । यसले उत्पादनमा ह्रास ल्याउने किसानको चिन्ता छ ।

रुपन्देहीमा गोरखनाथ, राधा–४, सर्जु–५२ लगायतका धान पाकिसकेको छ । पाकेको धान अधिकांश किसानले काटिसकेको ओमसतिया ५ का किसानसमेत रहेका कृृषि ज्ञान केन्द्रका कर्मचारी गजेन्द्र चौधरीले बताए । जिल्लाभित्र अगौते अन्तर्गत राधा ४, सुख्खा ३, हर्दिनाथ १ र केही भारतीय उन्नत जातका धान किसानको रोजाइँमा परेका छन् । त्यस बाहेक मध्यम जातमा गोरखनाथ, लोकनाथ, मकवानपुर १, रामधाम, सावित्री, लोकतन्त्र, मिथिला, मनीषा, पृथ्वी, सुरज, चाँदनी जस्ता धानको खेती गरिएको छ ।

राधा ४, सावित्री, रामधाम र सावा मनसुली हाइब्रिडमा गोरखनाथ, लोकनाथ, मयुर र मनीषा किसानहरूको रोजाइमा परेकाले यसको खेती बढी गरिएको कृषि ज्ञान केन्द्रका कर्मचारी चौधरीले जनाए । त्यस्तै रुपन्देहीमा पछौटे जातमा सावा मनसुली, सोणसव १, सावा सव १, गोल्डेन मन्सुली, कालानमकको खेती पनि गरिएको छ ।

लगातार वर्षा भइरहेकाले काटेको धान मात्र नभई काट्न बाँकी रहेको धानमा समेत नोक्सानी पुराउने आंकलन गरिएको छ । रुपन्देहीमा यो वर्ष ६५ हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा धान खेती गरिएको छ । जिरुल्लामा ८२ हजार हेक्टर खेतियोग्य जमिन छ ।