November 8, 2024, Friday
२०८१ कार्तिक २४

मोतीपुर झडपका मृतक परिवारलाई लुम्बिनी सरकारले एक-एक लाख दिने

बुटवल– लुम्बिनी प्रदेश सरकारले रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार प्रहरी र जग्गा कब्जा गर्ने समूहबीच भएको झडपमा मृतक परिवारलाई एक लाख रुपैयाँ राहतस्वरुप उपलब्ध गराउने भएको छ । झडपमा प्रहरीको गोली लागेर चार जनाको ज्यान गएको थियो । सोमबार बसेको सुरक्षा समितिको बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले मृतक परिवारलाई एक लाख रुपैयाँ दिने जनाएका हुन् ।

यस्तै, मुख्यमन्त्री केसीले मोतीपुरका वास्ताविक सुकम्बासीको समस्या हल गर्नका लागि सकुम्बासी समस्या सामाधान सुझाव कार्यदल बनाउन रुेन्देहीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशनसमेत दिएका छन् । सुरक्षा समिति बैठकले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा निकायका प्रमुख, मालपोत, नापी, औद्योगिक क्षेत्रका प्रतिनिधी, भूमिहीनका प्रतिधिनी लगायत सम्मिलित एक कार्यदल गठनका लागि प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई जिम्मेवारी प्रदान गरेको छ ।

Advertisement

यसैगरी प्रदेश सरकारकाबाट मोतिपुर घटनाका मृत्यकहरुमा समवेदना व्यक्त गर्ने, घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्ने, सो घटनाका मृत्यकका परिवारलाई प्रति व्यक्ति १ लाख राहत प्रदान गर्नका लागि मुख्यमन्त्री कुुलप्रसाद केसीले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मालाई जिम्मेवारी प्रदान गरेका छन् ।

यसैगरी दुवै पक्षबाट भएका घाइतेहरुको उपचारको जिम्मेवारी राज्यले लिने मुख्यमन्त्रीले बताए । आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले घटना सम्वेदनशील भएको बताउँदै आगामी दिनका लागि सतर्क हुन र सबैलाई सम्वेदनशील बन्नका लागि अनुरोध गरे । उनले आगामी दिनमा सबैले ध्यान दिनका लागि आग्रह गरे ।