December 7, 2021, Tuesday
२१ मंसिर २०७८, मंगलवार

बंगलादेशले लुम्बिनीमा बौद्ध विहार बनाउँदै

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा बंगलादेशले बौद्ध विहार बनाउने भएको छ । मुस्लिम धर्मावलम्बीको बाहुल्यता रहेको बंगलादेशले सांस्कृतिक पर्यटन पबद्र्धन र नेपालसँगको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले यहाँ बौद्ध बिहार बनाउन लागेको हो । यसका लागि बंगलादेशले लुम्बिनी बिकास कोषसँग सम्झौता गरेको छ ।

Advertisement

नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरी र लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीलेबौद्ध बिहार बनाउने सम्झौतामा हस्ताक्षर गरेका छन् । बिहार बनाउन लुम्बिनीको पश्चिमी क्षेत्रमा रहेको ८० बाई ८० मिटर क्षेत्रफल जग्गामा कोषले बंगलादेशलाई उपलब्ध गराएको छ ।

सम्झौतापछि राजदुत चौधरीले नेपालमा बंगलादेशको बौद्ध बिहार बनाउने पहिलो प्रोजेक्ट भएको बताए । ‘बंगलादेश सरकारले उच्च प्राथमिकता दिएर काम अगाडि बढाउने छ’, उनले भने, ‘लुम्बिनी विकास कोषको ऐन नियमभित्र रहेर बिहार निर्माण गर्ने छौं ।’

१८ करोड जनसंख्या रहेको बंगलादेशमा करिब १ करोड नागरिकले बौद्ध धर्ममा आस्था राख्ने गरेका छन् । ९२ प्रतिशत मुस्लिम धर्मावलम्बी रहेको उक्त देशले बौद्ध बिहार निर्माण गर्नेगरी सम्झौता गरेको हो । उक्त बिहार ३ वर्षमा पूरा गर्नेगरी बंगलादेशले सम्झौता गरेको विकास कोषले जनाएको छ ।

सन् १९७२ देखि लुम्बिनीका लागि बंगलादेशले सहयोग गर्दै आएको छ । १९७२ मा गठित लुम्बिनी विकासका लागि अन्तर्राष्ट्रिय समितिमा समेत सदस्य राष्ट्रको हैसियतले बंगलादेशले खेलेको भूमिका प्रशंसनीय भएको विकास कोषका उपाध्य त्रिपाठीले बताए । ‘लुम्बिनीमा निर्माण हुने बुद्ध बिहारले राम्रो सन्देश प्रवाह गर्नेछ’, उनले भने ।

बंगलादेश सरकारले लुम्बिनीमा बौद्ध बिहार बनाउने भएसँगै अब यहाँ १८ देशको बिहार हुनेछन् । कोषले लुम्बिनीमा बौद्ध बिहार बनाउने देशलाई ९९ वर्षको लिज सम्झौता गरी प्लट दिने गरेको छ । सम्झौता कार्यक्रममा कोषका योजना प्रमुख सरोज भट्टराई, कोषका कार्यसमिती सदस्यद्वय श्रीराम यादव र राजेश ज्ञवाली, लेखा प्रमुख नवल यादव, सूचना प्रमुख डा.हरिध्वज राई, नेपालका लागि बंगलादेशी राजदूताबासका प्रथम सचिव मोहमद अलामगिर इश्लाम खानलगायत सहभागी थिए ।