समृद्ध लुम्बिनी बनाउन उद्योगको योगदान महत्वपूर्ण : मुख्यमन्त्री
बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशबासीको जीवनलाई समृद्ध बनाउन उद्योग तथा खानी उद्योग क्षेत्रले महत्पूर्ण योगदान गरेको बताएका छन् । उनले प्रदेश सरकारले उद्योगमैत्री नीति निर्माण गरी प्रदेश समृद्धिको यात्रालाई अगाडि बढाउने बताए ।
उद्योग, वाणिज्य तथा आपूर्र्ति मन्त्रालयले खानी र सिमेन्ट उद्योग सञ्चालकबीच आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले प्रदेश सरकारसँग हातेमालो गरी समृद्ध प्रदेश निर्माणमा दत्तचित्त भएर लाग्न अनुरोध गरे । ‘उद्योग क्षेत्रलाई उद्योगमैत्री वातावरण, सहयोग कार्यक्रम गर्न प्रदेश सरकार तयार छ’, उनले भने, ‘त्यसका लागि सबैको सहकार्य आवश्यक छ ।’
खानी एक स्थान र उद्योग अर्काे स्थानमा भएकाले लागत रकम धेरै लाग्ने भएकाले त्यसलाई सकेसम्म न्यूनिकण गर्नुपर्ने उनले बताए । साथै उनले खानी उत्खनन् गर्दा भविष्यमा हुने वातावरणीय क्षतिलाई पनि ध्यान दिनुपर्ने जनाए । ‘हाल उद्योग मात्रै सञ्चालन भन्दा पनि त्यसबाट हुने खतरालाई पनि ध्यान दिर्द अगाडि बढाउनु पर्छ’, मुख्यमन्त्री केसीले भने ।
उनले उत्खननको जिम्मेवारी प्रदेशलाई दिनु पर्ने र अन्वेषणको जिम्मेवारी संघ सरकारलाई दिनुपर्ने बताए । ‘संघ सरकारको अन्वेषणको जिम्मेवारी हो, प्रदेशलाई उत्खनन्को जिम्मेवारी प्रदान गर्नुपर्नेमा संघ सरकाले उत्खनन् र प्रदेश सरकालाई अन्वेषणको जिम्मेवारी प्रदान गर्दा उल्टो भएकोझै भएको छ’, उनले भने ।
मुख्यमन्त्री केसीले आर्थिक वर्षमा उद्योग तथा आपूर्ति मन्त्रालयबाट ५ अर्व राजश्व जसरी भए पनि संकलन गर्नुपर्ने बताउँदै त्यसका लागि उद्योगमैत्री ऐन निर्माण गर्न सकिने बताए । उनले उद्योगहरु मर्ज गरी एकीकृत योजना बनाएर अगाडि बढ्नु पर्ने बताउँदै साना उद्योग भन्दा पनि ठूला उद्योग सञ्चालन गर्नुपर्ने बताए ।
मुख्यमन्त्री केसीले वातावरणीय क्षेत्रलाई बचाई राख्नका लागि आवश्यक रहेको बताउँदै खानी सञ्चालन गर्ने ग्रामीण क्षेत्रका जनताको विकासमा पनि अगाडि बढेर विद्यालय, पार्क लगायतको क्षेत्र बनाई जनतालाई खुशी बनाउनु पर्ने बताए । ‘औद्यौगिक क्षेत्रमा स्थानीयबासीलाई क्षमता अभिवृद्ध गरी रोजगार प्रदान गर्नुपर्छ’, उनले भने ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अजय शाहीले प्रदेशको विकास र समृद्धिका लागि अगाडि बढ्न सबैलाई अनुरोध गरे । उनले औद्योगिक क्षेत्रलाई संविधानको परिपालन गरी अगाडि बढाउन प्रदेश सरकार तयार रेहेको बताए । प्रदेश प्रमुख सचिव डिल्लीराम शर्माले उद्योगहरुलाई लगानीको वातावरण प्रदेश सरकारबाट गरिने र त्यसका लागि प्रदेशका सरकारको तर्फबाट सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरे ।
लुम्बिनी प्रदेशका कानून महिला बालबालिका कार्यालय सचिव राजेन्द्र थापाले सिमेन्ट उत्पादनको लागि प्रदेश उर्वर भूमि भएकाले समृद्ध प्रदेश निर्माणमा सबै उद्योग, व्यावसायीहरु लाग्नु पर्ने बताए । उनले सिमेण्ट उद्योग सञ्चालनका लागि लुम्बिनी प्रदेशमा एउटा ऐन निर्माण गरेर अगाडि बढ्नु पर्ने बताए । यस्तै अर्थ सचिव बाबुराम अधिकारीले उद्योग व्यावसायीबाटै राज्य सञ्चालन गर्नुपर्ने भएकाले लुम्बिनी प्रदेशको विकासमा लाग्नका लागि सबैलाई अनुरोध गरे ।
प्रतिकृया दिनुहोस्