लाभका लागि सत्तामा पुग्ने प्रवृत्ति बढ्यो : प्रदेश प्रमुख शेरचन


लुम्बिनी– लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले राजनीतिक दलका नेताहरुमा मुलुक समृद्धि बनाउनेभन्दा आफू कसरी समृद्ध बन्ने भन्ने प्रवृत्ति मौलाएको टिप्पणी गरेका छन् । शुक्रबार नेपाल–चीन मैत्री समाज लुम्बिनीद्वारा चीनको राष्ट्रिय दिवसका अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले भने, ‘लाभका लागि सत्तामा पुग्ने र त्यहाँ पुगेपछि आफू कसरी समृद्ध हुन्छु भन्ने मानसिकताकै कारण मुलुक बन्न नसकेको हो ।’
यस्तै प्रवृत्तिकै कारण सँगसँगै विकासको गतिमा अघि बढीरहेका नेपाल–चीनमध्ये चीन धेरै अघि बढीसकेको उनले बताए । ‘हाम्रो प्रवृत्ति ठीक नभएकै कारण विकासमा प्रतिस्पर्धा गर्न सकेका छैनौं’, उनले भने । मित्र राष्ट्रले दिएको सहयोग, अनुदान र लगानीका उद्योग–कारखानासमेत व्यवस्थित र जोगाउन नसकेको भन्दै उनले चिन्ता व्यक्त गरे ।
चीन स्वतन्त्र भएको ७२ वर्षमै विश्वमा सबैभन्दा चमत्कारिक रुपले आर्थिक, सामाजिक, राजनैतिक र वैज्ञानिक विकास गरिसकेको उनले बताए । ‘७० वर्षमा हामी कहाँ छौं, चीन कहाँ पुग्यो, एकपल्ट सोचौं’, उनले भने । उनले नेपालीहरु आजसम्म गरिबीको रेखामुनी बाँच्नुको कारण राज्यव्यवस्था नै भएको बताए ।
उनले चीनको आर्थिक विकास पछ्याउँदै अघि बढ्नुपर्ने धारणा राखे । नेपालको विकासमा चीन सधै सकारात्मक ढंगले अघि बढेको उनको भनाई छ । ‘नेपाल सधैं एक चीन नीति चाहन्छ’, उनले भने, ‘चीन विरोधी गतिविधि नेपाल र नेपाली जनताका लागि स्वीकार्य छैन ।’ उनले अब मित्र राष्ट्रहरुलाई नेपालमा लगानी गर्दा पछाडि परेको समाजलाई माथि उठाउने गरी योजना र लगानी गर्न सुझाव दिनुपर्ने बताए । ‘तपाईंहरु पनि त्यसैअनुरुपको पहल गर्नुस्’, उनले भने ।
प्रदेश प्रमुख शेरचनले बुद्ध जन्मिएको देशमा बुद्धका दर्शनसमेत व्याप्त हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे । ‘बुद्ध दर्शन नेपालीहरुका लागि गौरवको कुरा हो’, उनले भने, ‘२६ सय वर्ष पहिला बुद्धले उत्पादन गरेको दर्शनबारे आज विश्वले अनुसन्धान गरिरहेको छ । तर हामीहरु बुद्ध जन्मिएको देशका नागरिक भएर पनि बुद्ध दर्शनबारे जानकारी लिँदैनौं ।’
लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्यले चिनियाँ र नेपाली जनताको क्षमतामा फरक नभएको तर पूर्वाधार र प्रविधिको हिसावले नेपाल पछाडी रहेको बताए । उनले राम्रो कुराहरु ग्रहण गरेकै कारण आज चीन विश्वमै विकसित मुलुक भएको बताए । ‘शिक्षा, स्वास्थ्य, पूर्वाधार, विज्ञान सबै क्षेत्रमा चीन अगाडि छ’, उनले भने, ‘त्यहाँको अवसरलाई नेपाल भित्र्याइ सही प्रयोग गरी हामी माथि उठ्नुपर्छ ।’
लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले आजभन्दा ७२ वर्ष अघि भोकमरीमा गुज्रिरहेको चीन आज विश्वकै अग्रहणी बनेको बताए । उनले भने, ‘यो चीनको विकासको राणनीतिक योजना हो । विकासलाई पछ्याउन सक्ने नेतृत्व र क्षमता हो ।’ उनले चीनको विकासबाट प्रेरणा लिएर अघि बढ्नुपर्ने बताए । उनले नेपाल–चीन सम्बन्ध नीति, नियमले मात्रै नभई नागरिक–नागरिक बीचको सदियौं देखिएको भएको बताए ।
समाजका अध्यक्ष नारायणप्रसाद सापकोटाले इतिहासमा जुताको तलुवाको सुप बनाएर खाने चिनियाँहरु आज विश्वलाई चकित पार्ने गरी विकासमा फड्को मारेको बताए । ‘यो सबै त्यहाँका नागरिक र नेतृत्वमा भएको विकासको अर्जुनदृष्टि हो’, उनले भने । नेपालले पनि विकासका लागि भिजन बनाएर अघि बढे समृद्धि सम्भवन भएको उनले जनाए । ‘तर, हामीकहाँ कुनै योजना भएन । सबै कुरा छ, विकास गर्ने क्षमतावान नेतृत्व भएन’, उनले भने, ‘माल पाएर चाल नपाएका भएपछि कहाँबाट विकास हुन्छ ।’
अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थवीर, लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार डा.तिलक आचार्य, मैत्री समाजका संस्थापक सदस्य प्रा.डा.गितु गिरी, समाजका उपाध्यक्ष गोविन्दप्रसाद रेग्मी, महासचिव मनिषकुमार जोशीलगायतले नेपाल–चीन सम्बन्धबारे चर्चा गर्दै चीनको विकासबाट सिक्दै नेपाललाई समृद्ध बनाउनु पर्नेमा जोड दिएका थिए ।
तीन सय परिवारलाई खाद्यान्न सहयोग
यसैबीच चीनको राष्ट्रिय दिवसको अवसरमा नेपाल–चीन मैत्री समाज लुम्बिनीले तीन सय गरिब तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । लुम्बिनी क्षेत्रमा रहेका विपन्न प्रत्येक परिवारलाई २५ किलो चामल, ५ किलो आटा, २ लिटर तेल, २ किलो दाल, साल्टा दुई किलो र सुप ३ पिस वितरण गरिएको मैत्री समाजका अध्यक्ष सापकोटाले बताए ।

प्रतिकृया दिनुहोस्