March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

वृक्षारोपणमा अनियमितता भएको स्थानीयको दावी

भैरहवा– पश्चिम नवलपरासीको सुनवल नगरपालिका–११, जर्घास्थित कोटहीदेवी सामुदायिक वनमा गएको आसार १४ गते लुम्बिनी प्रदेशको बृहत्त वृक्षारोपण अभियान गरियो । त्यसदिन २० हजार बिरुवा रोपेर कीर्तिमान बनाएको उद्घोष गरिएको थियो । वृक्षारोपणमा पूर्व मुख्यमन्त्री शंकर पोखरेलसहित आम नागरिकले श्रमदान गरेका थिए ।

Advertisement

त्यसको एक हप्तासम्म थप १८ हजार नौ सय ४० बिरुवा रोपियो । कोही ज्यालादारीमा त केहीले ज्याला नलिई काम गरेका थिए । तार जाली लगाउन, खाल्डा खन्न, वृक्षारोपण गर्न तथा खाजा र भत्तामा डिभिजन वन कार्यालय नवलपरासी पश्चिमले ६० लाख बढी खर्च गरेको छ । तर, खर्च भएको भन्दा कागजी रुपमा बढी बनाएर रकम हिनामिना गरेको स्थानियको आरोप छ ।

Advertisement

वनको करिब ३० हेक्टर क्षेत्रफलमा वृक्षारोपण गरिएको जनाइएको छ । नेपाल विद्युत प्राधिकरणले प्रशारण लाइन विस्तार गर्दा वनमा पुगेको क्षति बापत वृक्षारोपण गर्न ६० लाख ४१ हजार सात सय २९ रुपैयाँ वनलाई उपलब्ध गराएको थियो । कोटहीदेवी सामुदायिक वन उपभोक्ता समूहले वृक्षारोपणको जिम्मा पाएको थियो । डिभिजन वन कार्यालय नवलपरासी पश्चिमले टेण्डर मार्फत ४२ लाख भन्दा बढी रकममा तारजाली र आरसीसी पोल खरिद गर्यो ।

यो सामुदायिक वनमा करिव ३९ हजार बिरुवा रोपेको उल्लेख छ । तर कार्य क्षेत्रमा धेरै कम विरुवा छन् । कतै मरेका छन् भने कतै विरुवा नै नरोपी खाल्डा यत्तिकै छाडिएको छ । ‘तारजाली र पोलको टेन्डर गर्दा, झाँडी फाड्दा, खाल्डा खन्दा समूहका सदस्यलाई जानकारीसमेत दिइएन’, स्थानीय टेकनारायाण यादवले भने, ‘यति सानो ठाउँमा त्यति ठूलो मात्रामा विरुवा लगाइयो भन्दा विश्वास गर्न सकिँदैन । कागजी प्रक्रिया मिलाएर रकम हिनाहिना गरेको हाम्रो ठहर छ ।’

स्थानीयका वृक्षारोपणमा अधिकांश श्रमदान गरिए पनि ज्यालादारी भनेर भुक्तानी गरी विलभौचर मिलाइएको, एउटा खाल्डो खन्न ३५ रुपैयाँसम्म ज्याला दिएको बताइए पनि कामदारले १५ देखि २० रुपैयाँसम्म मात्रै बुझेको बताउँछन् । ‘कागज खाल्डा खनेको पैसा धेरै बुझेको देखाइएको छ तर वास्तविकता फरक छ’, यादवले भने, ‘केही समूहका पदाधिकारी र वनको मिलेमतो छ ।’

स्थानीय मोहनीलाल भट्टराईले झाडी फाँडेको दैनिक पाँच सय र खाल्डा खनेको प्रति खाल्डा २० रुपैयाँ पाएको बताए । ‘मेरो छोराले काम गर्यो, खाल्डा खनेको प्रतिखाल्डोको २० रुपैयाँ बुझेको छ । कसरी ३५ रुपैयाँ बुझेको बनाइयो थाहा भएन’, उनले भने । उनले श्रमदानबाट धेरै वृक्षारोपण गरिएको बताए ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र, स्थानीयको श्रमदानबाट अधिकांश वृक्षारोपण गरिएको थियो । तर, धेरै ज्यालादारीमा देखाइएको स्थानीयको आरोप छ । वन र उपभोक्ता समितिले बिरुवा रोप्न, खाडल खन्न, झार गोड्न, जाली लगाउन तथा कर्मचारी र उपभोक्ता समितिको खाजा र भत्ता गरि १७ लाख ५० हजार बढी रकम खर्च भएको जनाएका छन् । तारजालीमा ४२ लाख बढी खर्च भएको छ ।

उपभोक्ता समूहका अध्यक्ष ईश्वरीप्रसाद जैशीले केही विरुवा मरे पनि अधिकांश बाँचेको बताए । उनले पानीका कारण खाल्डोमा रोपिएका विरुवा मरेको र हुर्किन नसकेको बताए । ‘स्थानीयले भनेजस्तो समूहले भ्रष्टाचार गरेको छैन’, उनले भने, ‘वनले कहाँ के गर्यो मलाई थाहा भएन ।’ उनले उपभोक्ता समितिमा आएको रकमबाट झाँडी फाँड्ने, खाल्डा खन्ने, वृक्षारोपणको भुक्तानी गरिएको बताए । यस्तै, सदस्यहरुको भत्ता, बाटो मर्मत, खाजानास्तामा रकम खर्चिएको उनले जनाए ।

स्थानीयले भने वनले आरसीसी पोल खरिद गर्दा बजार मूल्य भन्दा प्रतिपोल ३ सय रुपैयाँसम्म बढीमा खरिद गरेको आरोप लगाएका छन् । तर, वन यो स्वीकार्न तयार छैन । उपभोक्ता समितिले तारजाली र पोल खरिदबारे जानकारी नभएको तर न्यून रकमबाट आफूहरुले धेरै काम गरेको जनाएको छ ।

डिभिजन वन कार्यालयका अनुसार प्रतिपोल १ हजार २ सय ९५ मा खरिद गरिएको छ । वनमा १ हजार ४४७ पोल तारजाली लगाउँदा लागेको छ । तारजाली १८२ रुपैयाँ किलोका दरले १३ हजार १५२ किलो लागेको वनले बताएको छ । कार्यालय प्रमुख शंकरप्रसाद गुप्ता भन्छन्, ‘सबै काम प्रक्रियामा भएको छ । तारजाली जिल्ला दररेट अनुसार खरिद गरिएको हो’, उनले भने, ‘अनियमितता भएको भन्नु गलत हो ।’

कर्मचारी र उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यले वृक्षारोपणका नाममा अनावश्यक खर्च गरेको स्थानियको आरोप छ । तर त्यस्ता फजुलका खर्च ज्यालामा मिलान गरिएको छ । मोटो रकम तलमाथि गरेको आरोप लगाउँदै स्थानीयले अनुसन्धानको माग गरेका छन् ।