व्यवस्थित भवनबाट कृषि उपज विक्री
भैरहवा– कृषि उपज संकलनका लागि संकलन र विक्री वितरणका लागि खाबाङमा संकलन केन्द्र बनाइएको थियो । भूमे गाउँपालिका–२, को खाबाङबगरमा टिनको छाप्रोमा बनाइएको संकलन केन्द्र अहिले बजारमा परिणत भएको छ । कृषि उपज खरिद र विक्रीका लागि बनाइएको संकलन केन्द्रलाई सहकारी बजारमा रुपान्तरण गरिएको हो ।
व्यवस्थित र सुविधा सम्पन्न भवनबाट कारोबार थालिएको छ । मध्यपहाडी लोकमार्ग छेउमै संकलन केन्द्र छ । केन्द्र सञ्चालन भएको दुई वर्षपछि यसलाई बजारको रुपमा निर्माण तथा विकास गरिएको छ । खाबाङमा सहकारी बजार मात्रै बनाइएन खरिद र विक्रीलाई पनि व्यवस्थित बनाइएको छ । किसानको कृषि उपज खरिद गर्दा र विक्री गर्दा बिलिङ प्रणालीबाट गर्ने गरिन्छ ।
खाबाङमा १ करोडको लगानीमा भवन र सहकारी बजार सञ्चालनका लागि सम्पूर्ण व्यवस्थापनको काम गरिएको छ । लुम्बिनी प्रदेश सरकारको ५० लाख र मारिङ बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको ५० लाख लागतमा भवन, भित्रको डेकोरेशन, लेवलिङ, प्याकेजिङ मेशिन, सिसि क्यामेरा, होर्डिङ बोर्ड, बिलिङ कम्युटर लगायतको व्यवस्थापन गरिएको छ । सोही भवनबाट काम खरिद विक्री लगायतका सम्पूर्ण काम भइरहेको छ ।
यस अघि छाप्राबाट सञ्चालित संकलन केन्द्र अब व्यवस्थित भवन र बजारमा परिणत भएको छ । सहकारीका व्यवस्थापक सन्दिप अधिकारीले घुम्तीमा सञ्चालन भइरहेको संकलन र विक्री वितरणको काम अब व्यवस्थित ठाउँ र व्यवस्थित तवरबाट भइरहेको जानकारी दिए । सुविधा सम्पन्न भवन निर्माण र त्यसको व्यवस्थापन भएपछि कृषि उपज खरिद तथा विक्रीमा सहजता आएको अधिकारीले बताए ।
बजार सिसी क्यामेराको निगरानीमा छ । विक्रीवितरणलाई पारदर्शी बनाउनका लागि कम्युटरमा सम्पूर्ण कारोवारको रेकर्ड राख्ने व्यवस्था गरिएको सहकारीले जनाएको छ । जिल्लामा उत्पादन हुने सम्पूर्ण अग्र्यानिक वस्तुको विक्रीवितरणका लागि गाउँपालिकाको पहल र समन्वयमा सहकारी मार्फत सहकारी बजार सञ्चालनमा छ । हाल किसानले सामान्य प्लाष्टिकमा प्याकेजिङ गरेर विभिन्न कृषि उपज विक्री वितरण गरिरहेका छन् ।
अव भने हरेक सामानको लेवलिङ गरेर मात्र विक्री गरिने छ । कुन वस्तुको गुण के हो ? भनेर मेशिन मार्फत लेवल मापन गर्ने र आधुनिक तरिकाले प्याकेजिङ गरेर मात्र विक्री गर्ने गरी प्रणालीको विकास गरिएको गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बताए । सहकारी बजारमा आउने र बजारबाट पनि अरु बजारमा जाने सबै वस्तुको सम्पूर्ण विवरण प्याकेटमा टाँसिने छ ।
सहकारी बजारबाट जिल्लाका सबै स्थानीय तहका कृषकहरुले उत्पादन गरेका कृषि उपज संकलन र विक्रीवितरण गर्ने गरी व्यवस्था मिलाइएको छ । त्यस्तै जिल्लाका लागि आवश्यक तर जिल्लामा नपाइने वस्तु सहकारी बजार मार्फत किसान र उपभोक्ताका घरमा पुर्याइने प्रणाली पनि बनाइएको अध्यक्ष बुढाले बताए ।
प्रतिकृया दिनुहोस्