February 16, 2025, Sunday
२०८१ फाल्गुन ४

गौतमबुद्ध बिमानस्थललाई अत्याधुनिक बनाइने छ : नेता पौडेल

भैरहवा– पूर्व अर्थमन्त्री तथा एमाले उपमहासचिव बिष्णुप्रसाद पौडेलले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई आउँदो पचास वर्षसम्मको आवश्यकतालाई पूरा गर्न सक्ने खालको अत्याधुनिक बनाइने बताएका छन् ।

उद्योग व्यापार संगठन रुपन्देहीको १४औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनको आज भैरहवामा उद्घाटन गर्दै नेता पौडेलले यसका लागि निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको पहिलो चरणको कार्य सम्पन्न हुनासाथ दोस्रो चरणको थालनी गरिने बताए ।

Advertisement

आयोजनाको दोस्रो चरणको निर्माण कार्यका लागि लगानी गर्न एशियाली विकास बैंक तयार रहेको उनले बताए । थप लगानी गर्न एशियाली विकास बैंक तयार रहे पनि सम्झौता प्रकृया अघि बढाउन भने अहिलेको सरकारले नसकेको भन्दै उनले सरकारको आलोचना गरे ।

‘यसमा कुनै पनि खालको र कुनै पनि ढंगबाट बिलम्ब गरिनु हुँदैन’, पौडेलले भने, ‘दोस्रो चरणको काम सुरु गर्नका लागि हामीले पहलकदमी जारी राख्ने छौं ।’ उनका अनुसार, दोस्रो फेज अन्तर्गत हालको धावनमार्ग वरावर लम्बाइको ट्याक्सी–वेको समेत निर्माण हुने छ ।

आयोजनाको दोस्रो चरणका लागि आवश्यक पर्ने डिजाइन र ड्रोइङ बनाउने काम सकिइसकेको उनले बताए । ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई बिश्वकै सुविधासम्पन्न र अत्याधुनिक विमानस्थलहरुमध्येमा समावेश हुन सक्ने गरि निर्माण गर्न चाहन्छौं’, पौडेलले भने, ‘विश्वको जस्तोसुकै विमान पनि यस विमानस्थलमा उडान र अवतरण गर्नसक्ने खालको निर्माण गर्ने छौं ।’

संगठनका अध्यक्ष नारायणप्रसाद भण्डारीले औद्योगिक तथा वयापारिक क्षेत्रमा विद्यमान समस्याका वारेमा चर्चा गरेका थिए । उनले संगठनको प्रत्येक वर्ष हुने साधारण सभाका अवसरमा औद्योगिक तथा व्यापारिक क्षेत्रमा योगदान पुर्याउने एकजना पत्रकारलाई पुरुष्कृत गरिने जनाए ।

यसकालागि लुम्बिनी प्रेस क्लबसँगको सहकार्यमा संचालन हुने गरि सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरष्कार अक्षय कोष स्थापना गरिएको घोषणा गरे । उक्त अवसरमा सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरष्कारबाट पहिलो पटक गौतम बुद्ध सन्देशका सम्पादक तथा भैरहवाका अग्रज पत्रकार कुलमणि ज्ञवालीलाई सम्मानित गरिएको थियो । उक्त पुरष्कारको राशी १० हजार छ । ज्ञवालीलाई नगद रुपैयाँसहित कदरपत्र प्रदान गरिएको हो ।