October 21, 2021, Thursday
४ कार्तिक २०७८, बिहीबार

सडक नै ‘सहीद’ बनेपछि

भैरहवा– सहीद आफैमा सम्मानित शब्द हो । मुलुकको हित र राष्ट्रियताका लागि ज्यान गुमाउनेलाई सहीद भनिन्छ । मुलुकमा सहीदको नाम जोडेर बिकास निर्माणका धेरै काम भइरहेका छन् । मुख्यतः सडकलाई जोडेर ‘सहीद मार्ग’ घोषणा गरिन्छ । यसरी सहीदको नाम जोडेर थालिएको योजनाको हालत खराब पाइन्छ । त्यसले सहीदको सम्मान भन्दा अपमान बढी भइरहेको टिप्पणी सुनिन थालेको छ ।

लुम्बिनी प्रदेशको पहाडी जिल्ला रोल्पामा सशस्त्र द्वन्द्वका क्रममा धेरैले ज्यान गुमाएका छन् । धेरै ‘सहीद’ भएको जिल्लामा गिन्ती हुन्छ । त्यही जिल्लामा सहीदका नाम जोडेर सुरु गरिएका बिकास निर्माणका कामको अवस्था दयनीय छ । दाङको घोराहीदेखि रोल्पाको होलेरीसम्मको ३१ किलोकिटर सडक कालोपत्र पूरा भएको छ । त्यो नाम मात्रको छ । निर्माण कम्पनीले हस्तान्तरण नगर्दै भत्किएको छ ।

सम्झौंता अनुसार कालोपत्रको काम ९० प्रतिशत सकिएको छ । सडक भत्किएपछि उल्टै ठेकेदार कम्पनीले सरकारसित क्षतिपूर्ति माग गरिरहेको छ । ठेकेदारले अहिले सडकको काम रोकेको छ । कालोपत्रेको ठेक्का सिल पेसिभिक जेभीले लिएको छ । उक्त कम्पनीले गत वर्ष होलेरीसम्म कालोपत्रेको काम गरेको थियो । सहिद मार्ग योजना कार्यालयका प्रमुख इन्जिनीयर विष्णुबाबु पाण्डेका अनुसार सरकारलाई हस्तान्तरण पूर्व भत्किएकाले ठेकेदारलाई पुनः निर्माणका लागि निर्देशन गरिएको छ ।

‘अहिले सडक निर्माण रोकिएर आउजाउमा कठिनाई देखिएको छ,’ उनले भने, ‘छिटो काम सक्न भनेका छौं ।’ ०७० सालमा ठेकेदारेले कसडक फराकिलो तुल्याउन, टेवा पर्खाल, नाली निर्माण र कालोपत्रका लागि सम्झौता गरेको थियो । त्यसबेला ठेकेदारले तीन वर्ष भित्र काम पूरा गर्ने सम्झौता गरेको थियो । तर, अहिलेसम्म सम्झौत अनुसारका काम पूरा भएको छैन ।

उक्त मार्गको घोराहीदेखि रोल्पा र दाङको सीमासम्मको करिब २८ किलोमिटरसम्म दैनिक ३ सय जति टिपर चल्ने गरेका छन् । ती टिपरका कारण सडक भत्किएको ठेकेदारको भनाई छ । दाङमा रहेका दुई वटा सिमेन्ट उद्योगहरु सोना र सम्राट उद्योगका लागि रोल्पा र दाङबाट क्लिंकर ओसार्न टिपर चल्ने गरेका छन् । उक्त सडकमा १० वटा मोड पर्ने भएकाले ठूलो भार बोकेका टिपरका कारण सबै भागको सडक ध्वस्त भएको हो ।

सहिद मार्ग योजनाका प्रमुख पाण्डेका अनुसार ठेकेदार कम्पनीले सडक कालोपत्र गरेपनि हस्तान्तरण भइनसकेकाले जवाफदेही आफ्नो कार्यालय हुन नसक्ने बताए । दाङ, रोल्पा, रुकुम र डोल्पालाई सडक मार्गले जोड्ने उद्देश्यले सहिद मार्गको निर्माण आर्थिक वर्ष २०६४–६५ देखि थालिएको थियो । सडक योजना कार्यालयका अनुसार २ सय २० किलोमिटर लामो सडकको ९ किलोमिटर मात्रै ट्रयाक खन्न बाँकी छ ।

हाल उक्त सडक रुकुम पूर्वको मैकोटसम्म पुर्याइएको छ । अधिकांश भागमा सडक चौडा, नाली र ग्राभेल कार्य सम्पन्न भइसकेको छ । हालसम्म करिब २ अरब ६३ करोड खर्च भइसकेको उक्त महत्वकांक्षी सडक निर्माण सम्पन्न गर्दा ११ अरब १७ करोड बजेट खर्च हुने अनुमान गरिएको योजना प्रमुख इन्जिनीयर पाण्डेले बताए ।