ज्योतिनगरमा फेरि पहिरो खस्यो, दुई दर्जन घरमा क्षति
बुटवल– बुटवलको ज्योतिनगरमा चुरेबाट फेरि पहिरो खसेको छ । पहिरोले ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घरमा क्षति पुगेको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।
आइतबार रातिदेखि यहाँ वर्षा भइरहेको छ । लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएका छन् । यसअघि पनि यहाँ पहिरो खस्ता दर्जनौं घरमा क्षति पुगेको थियो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मदन कुँवरले आजको पहिरोले ७ घर पुरिएको र १ दर्जन भन्दा बढी घरमा लेदोसहितको पहिरो खसेको जानकारी दिए । यसअघि गएको भदौ १३ गते पहिरोले सोही ठाउँका ७ वटा घर पुरिएका थिए। २० वटा घरमा लेदोसहितको पहिरो पसेको थियो।
२०५५ सालदेखि नै ज्योतिनगर र लक्ष्मीनगरमाथि चुरेको शिरमा ध्वजा फाटेर पहिरो झर्न थालेको हो। त्यतिवेला पहिरोले ५७ घरमा क्षति पुगेको थियो। २३ वर्षपछि अहिले फेरि पहिरो झरेपछि स्थानीय त्रसित बनेका छन्।
पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडक समेत बगाएको प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए। बस्तीमा झरेको पहिरो बुटवल उपमहानगरपालिकाको सहयोगमा पन्छाएर अन्यत्र लैजाने गरिएको उनले जानकारी दिए।पहिरोले सडकमा क्षति पुर्याएर आवागमन अवरुद्ध भएको छ भने सडक किनारमा राखिएका बिजुलीका पोल पनि बगाएको छ।
राहत र पुनःस्थापनाका काम भने हुन सकेका छैनन् । स्थानीयलाई अन्यत्र आश्रय दिइएको छ । स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेको भन्दै आक्रोश पोख्दै आज उपमहानगर प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहारसमेत गरेका छन् ।
आज पनि पानी परिरहेकाले थप क्षति हुनसक्ने भन्दै प्रभावित क्षेत्रका स्थानीयलाई सुरक्षित ठाउँमा जान आग्रह गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । चुेरबाट अहिले पहिरो खसिरहेको छ । हेदोसहितको पानी बग्दा त्यस क्षेत्र हिलाम्मे भएको छ ।
प्रतिकृया दिनुहोस्