October 15, 2021, Friday
२९ आश्विन २०७८, शुक्रबार

मर्चवारका बाढीपीडितलाई ४२ लाख बढीको राहत

भैरहवा– नेपाल–भारत महिला मैत्री समाजले भारतीय दुतावासको सहयोगमा रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारका बाढीपीडितहरुलाई राहत उपलब्ध गराएको छ । शनिबार एक कार्यक्रमबीच समाजले मर्चवारको बिभिन्न स्थानमा बाढीबाट पीडित परिवारलाई अस्थायी बसोबासका लागि राहत टेन्टलगायतका सामग्री प्रदान गरेको हो ।

नेपाल–भारत महिला मैत्री समाजका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले यहाँ ४२ लाख ७ हजार ४ सय ८ रुपैयाँ बराबरको सामग्री प्रदान गरिएको बताइन् । उनकाअनुसार ३० सेट सानो टेन्ट, ३० सेट ठूलो टेन्ट प्रदान गरिएको बताइन् ।

यस्तै पारिवारिक रुपमा बसोबास गर्ने परिवारलाई ३० सेट र अझ ठूलो सामूहिक परिवारका लागि पार्टेशन गर्न मिल्ने ५५ सेट टेन्ट प्रदान गरिएको चौधरीले जानकारी दिइन् । यसका साथै १ सय ४५ परिवारलाई पुग्ने बिछ्याउने चटाई पनि उपलब्ध गराइएको समाजले जनाएको छ ।

रुपन्देहीमा करिब १ सय ४५ घरधुरीलाई पुग्ने टेन्ट र चटई उपलब्ध गराइएको छ । यस्तै, नवलपरासीमा पनि ९० परिवारलाई पुग्ने टेन्ट प्रदान गरिने उनले बताइन् । पूर्वमन्त्री समेत रहेकी चौधरीले पूर्वतर्फ ८ जिल्लामा र रुपन्देही र नवलपरासी गरि १० जिल्लामा राहतको समान प्रदान गरिने जनाइन् ।

यी १० जिल्लामा कुल ४ करोड ७५ लाख ३९ हजार ८० सय बराबरको राहत सामग्री समाजले प्रदान गर्दैछ । यसैगरि विद्यार्थी परिषदले पनि बिभिन्न ६ जिल्लामा २ करोड ५० लाख ८ हजार भन्दा बढी गरेर भारतको सहयोगमा करिब ८ करोडको राहत सामग्री बितरण गरिने उनले बताइन् ।

भारतले उच्च गुणस्तरको टेन्टहरु सहयोग गरेको छ । पानी, हावा, हुरी, आगलागी जस्ता विपतबाट जोगाउन यो टेन्ट सक्षम रहेको समाजले जनाएको छ । नेपालमा भूकम्प, बाढी, पहिरो लगायतका बिपद पर्दा भारतले नेपाल–भारत महिला मैत्री समाजमार्फत बिभिन्न राहत सहयोग गर्दै आएको समाजले जनाएको छ ।

राहत बितरण कार्यक्रममा बोल्दै लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शर्वेन्द्रनाथ शुक्लले मर्चवारमा आएको बाढीका बारे बाहिर नआए पनि यहाँ धेरै क्षति भएको बताए । मर्चवारमा आएको बाढीकाबारे यहाँका जनप्रतिनिधिका साथै केन्द्रका प्रतिनिधिहरुले बेवास्ता गरेको उनले बताए ।

यस्तो समयमा भारतले मर्चवारलाई गरेको सहयोगप्रति मर्चवारवासी भारत र समाजप्रति कृतज्ञ रहेको उनले बताए । प्राप्त भएको सामग्रीलाइ राजनैतिक पूर्वाग्राह नराखी आवश्यक परेकालाई मात्र बितरण गरिने उनले बताए । यसका लागि मर्चवारमा रहेको नेपाल रेडक्रस सोसाईटी र स्थानीय लायन्स क्लबलाई जिम्मेवारी प्रदान गरिएको शुक्लले जनाए ।