April 25, 2024, Thursday
१३ बैशाख २०८१, बिहीबार

कहाँ पुग्यो नक्कली स्टिकर छानविन ?

भैरहवा– एक महिना अघि भैरहवास्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डण्डाले २ लाख ४० हजार वटा आन्तरिक राजश्व विभागको नक्कली स्टिकरसहित २ जना व्यक्तिलाई पक्राउ गर्यो ।

Advertisement

सशस्त्र प्रहरी निरीक्षक कृष्णप्रसाद अर्याल नेतृत्वमा खटिएको ९ जनाको मोवाइल गस्ती टोलीले विशेष सूचनाको आधारमा सिद्धार्थनगर नगरपालिका–३, दरखसवा बस्ने सहिद अन्सारी नामको व्यक्तिको घरबाट ती स्टिकर बरामद गरेको थियो । यो गत भदौ ४ गतेको घटना हो । सशस्त्रले स्टिकरसहित पक्राउ गरिएका सबै राजश्व अनुशनधान कार्यालय बुटवलमा बुझाएको थियो ।

Advertisement

उक्त स्टिकरसहित सशस्त्र टोलीले घर धनी २३ वर्षीय सहिद अन्सारी र उक्त ठाउँकै २४ वर्षीय अमानत अलीलाई पनि पक्राउ गरेको थियो । राजस्व कार्यालयको प्रारम्भिक अध्ययन अनुसार बरामद गरिएको ती स्टिकरबाट अन्तशुल्क १ करोड ९४ लाख, भ्याट ३१ लाख, १० लाख आय कर गरि २ करोड ३५ लाख रुपैयाँ भन्दा धेरै राजश्व छलि हुन सक्ने अनुमान गरिएको थियो ।

पक्राउ परेका व्यक्तिको बयानको आधारमा ति स्टिकर ढुवानीका लागि प्रयोग गरिएको लु २ च २५० नम्बरको गाडी पनि नियन्त्रणमा लिइएको थियो । अहिले बरामद भएको नक्कली स्टिकरको विषयलाई लिएर राजश्व अनुशन्धान कार्यालय बुटवलले रुपन्देहीका दुईवटा डिष्टिलरी उद्योगलाई सिल गरेको छ ।

राजस्वले रुपन्देहीको तिलोत्तमा–१७, मधवलियास्थित क्रिष्टल बोटलर्स प्रालि र तिलोत्तमा–१४ मा रहेको माउण्ट एभरेष्ट डिष्टिलरीमा छापा हानेर उद्योग सिल गरेको हो । नक्कली स्टिकरको प्रयोग गरि राजश्व छलेको आशंकामा ती उद्योगलाई एक साता अघि नै सिल गरि राजस्वले अनुसन्धान गरिरहेको छ ।

तर, राजस्वले अहिलेसम्म अनुसन्धान प्रक्रिया कहाँ पुग्यो भन्नेबारे केही बताएको छैन । अनुसन्धान सफलताउन्मुख छ त ? भन्ने प्रश्नमा राजस्वका एक अधिकृत भन्छन्, ‘यसबारे हामी अहिल्यै केही बोल्दैनौं ।’ अनुसन्धानबारे कार्यालयका कुनै पनि कर्मचारी बोल्न चाहँदैनन् ।

उक्त कार्यालयका कतिपय कर्मचारी त उद्योगमा सिल गरेको जानकारी समेत आफूहरुलाई नभएको भन्दै पन्छिने गरेका छन् । कर्मचारीले केही संचारमाध्यममा आफूहरुले बोल्दै नबोलेको कुरा सार्वजनिक भएको भन्दै दावी गरेका छन् । ‘स्टिकरण प्रकरणकाबारे अनुसन्धान जारी छ’, राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख राजन बीसीले भने, ‘अहिलेलाई यत्तिमात्रै बोल्न सक्छु तर कुन–कुन डिष्टिलरी उद्योग सिल भएका छन् भन्ने बारे मलाई केही थाहा छैन ।’

२०६९ सालदेखि संचालनमा रहेको क्रिष्टल बोटलर्स प्रालिका संचालक फुल सिंह क्षेत्रीले आफ्नो उद्योगमा भदौ २५ गते छापा हानी सिल गरिएको बताए । त्यसको भोलिपल्ट माउण्ट एभरेष्टमा छापा हानी सिल गरिएको हो ।

‘हामीमाथि बिना प्रमाण शंकाको आधारमामात्रै हत्तोत्साहित बनाउने काम भयो, मेरो उद्योगमा छापा हानेर सिल गरिएको छ’, फुल सिंहले दावीका साथ भने, ‘मेरो उद्योगबाट कुनै गल्ती छैन, यदि गल्ती भेटियो र प्रमाणित हुन्छ भने कानुन बमोजिमको कारवाही भोग्न तयार छु । होइन् भने दुःख दिने काम छाड्नुपर्छ ।’ नक्कली स्टिकरको यस प्रकरणमा आफूलाई फसाउन खोजिएको आरोप क्षेत्रीले लगाए ।

माउण्ट एभरेष्ट डिष्टिलरीका संचालक प्रबिन्द्र गोबिन्द श्रेष्ठले राजश्व अनुसन्धान कार्यालयले जारी राखेको अनुसन्धानलाई आफ्नो तर्फबाट पनि सहयोग पुर्याइएको बताए । उनले सहयोग पुर्याउनु दायत्वि पनि भएको बताए । ‘कोही पनि दोषी उम्किनु हुँदैन र जुनसुकै कारणले निर्दोष फस्नु हुँदैन’, उनले भने ।

राजश्व अनुसन्धान कार्यालय बुटवलका अर्का अधिकृत तथा सूचना अधिकारी धनिश्वर अर्यालले यस विषयलाई गहनकासाथ लिएर सुक्ष्म ढंगबाट अनुसन्धान जारी राखिएको जनाए । ‘हामीले कसुर ठहर्याउँदा तथ्य र प्रमाण जुटाएर प्रमाणित गर्नु पर्ने हुन्छ । अनुसन्धानको प्रक्रिया लामो पनि हुन सक्छ’, उनले भने, ‘नक्कली स्टिकर बरामद हुनासाथ कतिपय डिष्टिलरीमाथि शंकाको घेरामा राखेर अनुसन्धान थालेका हौं । अहिले पनि अनुसन्धान जारी छ ।’