June 1, 2023, Thursday
१८ जेष्ठ २०८०, बिहीबार

तौलिहवा अस्पतालमा अक्सिजन उत्पादन

कपलिवस्तु– कपिलवस्तु सदरमुकाम तौलिहवास्थित जिल्ला अस्पतालमा नयाँ जडान गरिएको मेसिनबाट नियमित अक्सिजन उत्पादन थालिएको हो । अस्पतालका अनुसार १ करोड २८ लाख रुपैयाँ लगानीमा फेयर ट्रेड प्रालिले प्लान्ट निर्माण गरेको हो ।

Advertisement

२० एमएमक्यू क्षमताको उक्त मेसिनले प्रतिमिनेट दुई सय लिटर अक्सिजन उत्पादन गर्ने अस्पतालले जनाएको छ । चीनबाट आयात गरिएको मेसिनमा कम्पे्रसर, फिलिङ ड्रायर, एडप्सन ड्रायर, फिल्टर, सेप्रेसन सिस्टम, गेस बफर टेङ्क, स्टेरिलाइजिङ फिल्टर र ट्रान्सफर्मर रहेको निर्माण कम्पनीका इन्जिनियर देवेन्द्र श्रेष्ठले बताए ।

गत असार ८ गते प्लान्ट निर्माणका लागि सम्झौता भएको थियो । त्यसबेला जिल्लामा अक्सिजन अभाव थियो । असार मसान्तसम्म निर्माण सक्ने सम्झौता थियो । प्राविधिक कारणले केही समय ढिला भएको अस्पतालका मेडिकल सुपरिटेन्डन्ट डा. किशोर बन्जाडेले बताए ।

अहिले अस्पतालमा कोरोना संक्रमित छैनन । त्यसैले खपत कम भएकाले थोरै मात्र उत्पादन भइरहेको छ । अक्सिजन उत्पादन सुरु भएपछि अब जिल्लामा अभाव नहुने चिकित्सकहरूले बताए । अस्पतालमा १ सय ४० वटा साना–ठूला सिलिन्डर छन् । पूर्ण क्षमतामा चलाउन सके जिल्लाका अन्य अस्पताललाई पनि अक्सिजन आपूर्ति गर्न सकिने डा. बन्जाडेले बताए ।