March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

सुधार गृहका बालकहरुको स्वास्थ्य चेकजाँच, फलफूल र स्टेश्नरी वितरण

भैरहवा– राष्ट्रिय बाल दिवसको अवसर पारेर रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी र नेपाल बाल कल्याण संस्था, सिद्धार्थनगरले भैरहवास्थित बाल सुधार गृहमा निःशुल्क स्वास्थ्य चेकजाँच, फलफूल तथा स्टेश्नरी सामग्री वितरण गरेका छन् । दुई संस्था मिलेर बाल गृहका बालकहरुका लागि स्याउ, केरा र कापी–कलम वितरण गरेको बाल कल्याण संस्थाका अध्यक्षसमेत रहेका अधिवक्ता शिवप्रसाद गौडेलले जानकारी दिए ।

Advertisement

यस्तै, सुधार गृहमा रहेका १ सय ८ जना बालकहरुको स्वास्थ्य परीक्षण गरिएको छ । परीक्षणका क्रममा उनीहरुमा ज्वरो, रुघाखोकी, छाला चिलाउने र हातखुट्टा दुख्ने समस्या देखिएको रोटरी सेन्ट्रल लुम्बिनीका अध्यक्षसमेत रहेका चिकित्सक डा.शतदल चौधरीले बताए । समस्या देखिएका बालकहरुलाई औषधिसमेत वितरण गरिएको छ । थप उपचारका लागि बाल गृहलाई आग्रह गरिएको छ ।

Advertisement

फलफूल तथा स्टेश्नरी सामग्री वितरण कार्यक्रममा बोल्दै रुपन्देही जिल्ला अदालतका मुख्य न्यायाधीश धनसिंह महराले सुधार गृहमा राखिएका बालकले खुल्ला ठाउँ नहुँदा समस्या भोग्नु परेको बताए । उनले बालविज्याईहरुलाई शिक्षा, स्वास्थ्य, मनोरंजन र खेलकुदका गतिविधि आवश्यक पर्ने बताए । संविधानले नै बालअधिकारको ग्यारेन्टी गरेको बताउँदै उनले सुधार गृह स्थानान्तरण गरी फराकिलो ठाउँमा बनाउन पहल गर्न आग्रह गरे ।

रोटरी एजी २५ का कृष्ण पाण्डेले संघसंस्थाको सहयोगले बालविज्याईहरुलाई सुधारमा सहयोग पुगे पनि त्यो पर्याप्त नहुने भएकाले सरकारी पक्षले विशेष ध्यान दिनु पर्ने बताए । उनले बालबालिकाको मनोरंजनका लागि टिभी सहयोग गर्ने जनाए । क्लबका अध्यक्ष डा.चौधरीले बालकहरुलाई एकै ठाउँ राख्दा छाला लगायत विभिन्न रोगको समस्या देखिएको भन्दै खुल्ला ठाउँ व्यवस्थापन गरी खेलकुदका गतिविधिमा लगाउन आग्रह गरे । चौधरीले सुधार गृहको आवश्यकतालाई ख्याल गरी आफूले पनि टिभी सहयोग गर्ने घोषणा गरे ।

बाल कल्याण संस्थाका अध्यक्ष गौडेलले सुधार गृहमा राख्नुको अर्थ भोलिका दिनमा बालकहरु सुध्रिएर राम्रो बनुन् भन्ने रहेको तर पूर्वाधार अभावमा यहाँ राम्रो सुविधा पाउन नसकेको बताए । उनले शिक्षा, स्वास्थ्य, खेलकुद र मनोपरामर्श राम्रो हुन नसकेको बताए । संस्थाका उपाध्यक्ष अधिवक्ता धर्मबहादुर खड्काले सधै संघसंस्थाको सहयोगले सुधार गृह राम्रो नबन्ने बताउँदै अन्यत्र सारेर भए पनि सुधार गृहको पूर्वाधार विकास गर्नु पर्ने बताए । उनले यहाँ बसेका बालविज्याई निस्केर घर जाँदा असल बन्नु पर्ने बताउँदै त्यसका लागि सोही किसिमको वातावरण हुनुपर्ने जनाए ।

सुधार गृह प्रमुख सुभद्रा गौतमले साँगुरो ठाउँमा धेरै बालकहरु राख्दा पर्याप्त सुविधा दिन नसकिएको बताइन् । उनले संघसंस्थाको सहयोगले पछिल्ला दिनहरुमा केही सुधार भए पनि खेलकुदका क्रियाकलाप गर्न नसकिएको जनाइन् । आउटडोर क्रियाकलाप नहुँदा बालकहरु कोठाभित्रै बस्नु परेको बताइन् । ठाउँ अभावमा चाहेर पनि बालविजयीको चाहनाअनुसार सेवासुविधा दिन नसकेको गौतमले बताइन् । उनले यहाँ बालमैत्री सुविधा नरहेको दुखेसो पोखिन् ।

रोटरी क्लबका सचिव कृष्ण अधिकारीको स्वागत, बालकल्याण संस्थाका महासचिव दिलीप मल्लिकको संचालनमा भएको कार्यक्रममा रोटरी सेन्ट्रल लुम्बिनीका संस्थापक अध्यक्ष विमल सेन्चुरी, क्लबका आईपीपी हिराबहादुर शाह, लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगाना, डा.राहुल यादव, डा.गणेशमान विस्ट, एशिएन फार्मास्ट्यूकल्सका मदन घिमिरे लगायत क्लब र बाल कल्याण संस्थाका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो ।