January 23, 2025, Thursday
२०८१ माघ १०

मोतिपुर औद्योगिक क्षेत्रमा निषेधाज्ञा, जग्गा मिलाइदिने भन्दै रकम असुल्ने पक्राउ

बुटवल– मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा मिलाइदिने भन्दै अबैध रुपमा रकम असुल गर्ने गिरोहलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ स्थित औद्योगिक क्षेत्रमा स्थानीयलाई जग्गा मिलाइदिने भन्दै गिरोहले रकम असुल गर्दै आएको बताइएको थियो । प्रहरीले यसमा संलग्नलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जनाएको छ ।

पक्राउ पर्नेमा स्याङ्जाका सोनु थापा, रुरु–१, गुल्मीका गोविन्द विक, मदाने गाउँपालिका गुल्मीका भूपाल सिंह घर्ती र मदानेकै कमला पन्थी रहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

Advertisement

‘उजीरसिंह नगर नयाँ वस्ती विकास परिषद्, बुटवल रुपन्देहीको नाममा फर्जी बिल बनाएर स्थानीयसँग दुई–दुई सय रुपैयाँ उठाउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो’, डीएसपी थापाले भने ।

औद्योगिक क्षेत्रमा निषेधाज्ञा
यसैबीच औद्योगिक क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा लगाएको छ । बुटवल १७ र १८ मा पर्ने सो क्षेत्रमा औद्योगिक कोरिडोरको नाममा रहेको जग्गा कब्जा गरेर संरचना निर्माण गर्न थालेपछि स्थानीय प्रशासनले अनिश्चित कालका लागि निषेधाज्ञा लगाएको जनाएको हो ।

करिडोर क्षेत्रमा सुकुम्बासीहरुलाई भेला गरी सुकुम्बासी बस्ती बसाउन प्रयास गरेकाले उक्त क्षेत्रमा २८ भदौदेखि अर्को सूचना जारी नहुँदासम्म लागु हुने गरी निषेधित क्षेत्र घोषणा गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

निषेधित क्षेत्र पूर्व तिनाउ नदीसम्म (बुटवल उपमहानगरपालिका वडा नंं १७ शिवनगरदेखि वडा नं १८ सौरहिया पुलसम्म), पश्चिममा हरिहरपुरको खोतियोग्य जमिन (बुटवल उपमहानगरपालिका वडा नं. १७ सम्म), उत्तरतर्फ शिवनगर रानीगाउँ बस्ति बुटवल उपमहानगरपालिका वडा नं १७ सम्म र दक्षिणमा बुटवल उपमहानगरपालिका वडा नं. १८ औद्योगिक करिडोरको जमिन (धन्दापुर सौरहियासम्म) तोकिएको छ ।

निषेधित क्षेत्रभित्र निषेध गरिएका कृयाकलाप भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । आफूहरुको जग्गामा औद्योगिक क्षेत्र बनाउन लागिएको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् । उक्त क्षेत्रमा स्थानीयको विरोध र ढुंगामुढाका बीच एमाले नेता विष्णु पौडेलले गत फागुन २१ गते औद्योगिक क्षेत्र शिलान्यास गरेका थिए ।

जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी निषेधित क्षेत्र घोषणा गरेको हो ।

प्रमुख जिल्ला अधिकारी तामाङले औद्योगिक क्षेत्रको जग्गामा अबैधरुपमा अतिक्रमण हुने जोखिम बढेकाले निषेधाज्ञा जारी गरिएको बताए । मोतिपुरको ९ सय ४६ विगाहा क्षेत्रफलमा फैलिएको जग्गामा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले ओद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढाएको छ ।